ब्याबहारीक रुपमा गणित कसरी सिकाउने

तिलकवहादुर खत्री
बिहान उठे देखि साँझ नसुते सम्म बालक देखि बृद्ध सम्म सबैले गणितको प्रयोग गरि रहेका हुन्छन् । गणितलाई बुझेर होस वा नबुझेरै अर्थपूर्ण तरिकाले होस वा हचुवाको भरमा गणितको प्रयोग भईरहेको हुन्छ । वास्ताविक रुपमा गणित बिना विज्ञान अपूर्ण छ । यहि गणितको महत्वलाइ आत्मासात गर्दै विद्यालय तह देखि विश्वविद्यालय तह सम्म गणित विषयको पठनपाठन भईरहेको छ । अपसोच अधिकांश विद्यार्थी गणित विषयलाई गाह्रो विषयको रुपमा लिन्छन र विभिन्न परीक्षाहरुको नतिजा हेर्दा पनि गणित विषमयमा नैै धेरै परीक्षार्थी असफल हुन्छन । गणित विषय सबैको प्यारो विषय हुनुपर्नेमा सबैको डरलाग्दो विषय बनिरहेको छ । अतः गणित विषयलाई कसरी सजिलो , सबैको प्यारो रब्यबहारीक बनाउन सकिन्छ त ? कसरी सिकाउँदा बालबालीकाहरु रमाएर सिक्न सक्छन त ? यो लेख यीनै बिषयमा केन्द्रीत रहेको छ ।
क. घरमा हुने गणितको प्रयोगसँग बालबालीकालाई परिचित गराउने
हाम्रो घरमा गणितको प्रयोग भइरहेको छ । गणितका साधारण चार क्रियाहरु हाम्रो जन जिब्रोमा झुन्डीएका छन् । सामान्य रुपमा जोड , घटाउ , गुणन र भाग हाम्रो खाना तयारी गर्दा देखि खाना खाँदा सम्म प्रयोग भईरहेको हुन्छ । हामीले त्यसलाई ख्याल गरेका हुदैनौ । गणननाको धारणा सिकाउदा घरका सदस्यहरु को को छन ? कति जना छन ? तिम्रो हात कति ओटा छन ? हातका औला कति ओटा छन ?आदी बाटै सुरु गर्नु पर्नेमा एकै पटक १,२,३,४,………बाट सुरु गरिन्छ । जुन अमूर्त रुपमा । अनि बालबालीकाले कसरी सिक्छ त ? ठोस वस्तुहरु प्रयोग गर्न नसकिने होर ? के शैक्षिक सामाग्री नभएकै हो त ? पक्कै पनि होईन । किनकी ढुङ्गा , काठका सिन्का , किताब , कापी , कलम , कक्षामा उपस्थीत विद्यार्थी , आदिलाई प्रयोग गर्ने हाम्रो सोच किन पुग्दैन र बजारबाट किनेर ल्याएका महङ्गा सामाग्री खोजीरहेका हुन्छौ ? त्यस्तै बालबालीकाले घरमा फलफुल , खाना , आदी घरका प्रत्यक सदस्यहरुलाई बराबरी भाग लगाएर बाँडीरहैको देखेका वा आफुहरुले पनि बाँडिरहेका हन्छन । बाँड्दा थपी रहेका हुन्छन । त्यसैबाट जोडको छोटोरुप गुणन र घटाउको छोटोरुप भाग हो भनेर किन नसिकाउने ? तरकारी पकाउदा नुन, तेल, मसला, पानी कति कति राख्दा तरकारी स्वादीलो हुन्छ ? के अनुपातको धारणा यसबाट सजिलै सिकाउन सकिदैन र ? भात पकाउदा चामल र पानीको उपयूक्त अनुपात मिलाउनु पर्छ । यसबाट अनुपातको धारणा सजिलै सिकाउन सकिन्छ तर यतातिर ध्यान नपुगे हो की ?
किनमेल गर्दा नाफा नोक्सान , एकाई , ऐकिक नियम आदीको ज्ञान लिन र दिन सकिन्छ । खेतबारी जोत्दा, बीउ छर्दा वा रोप्दा गणितका सिद्धान्तहरुको प्रयोग भईरहेका हुन्छन तर प्रयोग कर्ता अनविज्ञ हुन्छन भने गणितका विशेषज्ञ काल्पनीकतामा रमाइरहेका हुन्छन् ।
ख. विभिन्न ब्यबसायमा गणितको प्रयोगसँग बालबालीकालाई परिचित गराउने
यहाँ ब्यबसाय भन्नाले सामान्य घरायसी आयआर्जन देखी ठुलाठुला उद्योग कलकारखाना समेतलाई बुझीन्छ । तरकारी खेती गर्दा जग्गाको तयारी गर्नु पर्छ । जग्गाको क्षेत्रफल निकाल्नु पर्छ । त्यसमा लाग्ने मल, बिउ, टनेल बनाउना लाग्ने प्लास्टीक आदीको योजना बनाउनु पर्छ । घरमा वायरिङ गर्दा तार, बल्ब, आदी को सङ्ख्या , तारको परिमामण , वायरिङ गरेको ठाँउमा सिधा रेखा , कोण लगायतका ज्यामीतिय आकृतिहरु , मिटर रिडिङ गरेर विद्युत खपत तथा महसुल निकाल्ने आदी विषयमा ज्ञान दिन सकिन्छ । फर्नीचर उद्योग ज्यामितिको प्रयोगशाला हो । त्याहाँ विद्यार्थीलाई लगेर किन नसिकाउने त ? कपडा उद्योग , भाँडाकुडा बनाउने उद्योग , सिकर्मी डकर्मी , कुमाले, आदी बाट पनि गणित सिक्न सकिन्छ । डोको , नाङ्ग्लो , हसिया , काम्लो , फे्या, आदि बनाउन गणितिय सिपको जरुरत पर्दछ । सूचीकारलाई त गणितको ज्ञान विना आफ्नो कार्य असम्भव हुन्छ ।
ग. सिकाउने तरिकामा परिवर्तन गर्ने
गणितलाई विद्यार्थीहरु परिचित अबस्थाबाट नै सिकाउनु पर्दछ । प्रयोगशालाको अभावमा गणितको सहि र वास्ताविक धारणाको विकास हुन सक्दैन । सिकाई सुनेर , देखेर हुदैन प्रत्यक्ष रुपमा प्रयोग गरेर मात्र हुन्छ । गणित प्रयोगात्मक विषय हो । बजारको मागसँग गणित विषयको तालमेल मिलाउनु पर्छ भने अहिलेको विश्वमा गणित विषयको क्षेत्रमा दिन दुई गुणा र रात चार गुणा अनुसन्धान भई नयाँ सिद्धान्तको विकास भइरहेको हुन्छ । त्यसलाई पनि आत्मासात गर्नु पर्दछ । त्यस कारण योल परिवर्तीत आधुनिक प्रविधीको प्रयोग र घरायसी क्रियाकलापको प्रयोगलाई आत्मसात गरेर गणितको शिक्षण् गर्नु पर्दछ ।
अन्तमा गणित विषमयलाई गरेर सिक्ने सिद्धान्तको आधारमा सिकाउनु पर्दछ । यसको अर्थ हिसाब गरेर सिक्ने भनेको होइन । यसको वास्ताविक अर्थ गणितका धारणाहरु फिल्डमा काम गरेर सकिाउनु पर्दछ । जुन वास्ताविक , दिर्घकालीन र जिवन उपयोगी बन्दछ ।





error: Content is protected !!