प्रतिष्ठानको काम युद्धस्तरमा भईरहेको छ ः निर्देशक गोसाईं

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक धर्मराज गोसाईंले प्रतिष्ठानको काम युद्धस्तरमा भईरहेको बताउनु भएको छ
गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको समानान्तर एवम् तीव्रतम् विकासका लागि युद्धस्तरमा काम भईरहेको निर्देशक गोसाईंले जनाउनुभयो । “स्वास्थ्य क्षेत्रमा ६ नं.कर्णाली प्रदेशको नेतृत्व गर्ने यो संस्थाको ३०० शैयाको अस्पताल निर्माण कार्य अन्तिम तयारीमा पुगेको छ । यसको निर्माण कार्यसँगै प्रवीणता प्रमाणपत्र तहको प्राविधिक शिक्षा दिईरहेको प्रतिष्ठानमा अब निकट केही अवधिभित्रै स्नातक तहको अध्ययन अध्यापन कार्य सुरु हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले मिडवाईफेरी र जनस्वास्थ्य तर्फको कार्यक्रम सुरु हुनेबारे अवगत गराउनुभयो । यसका लागि काठमाडौंमा भाद्र २६ र २७ गते विशेषज्ञसहितको सहभागितामा पाठ्यक्रम विकास कार्यशाला गोष्ठी हुने र प्रतिष्ठानले तयार गरेको सेलेबसको प्रस्तुतिकरण गरिने निर्देशक गोसाईंको भनाई छ । उहाँका अनुसार विज्ञको सुझावपछि मात्रै एकेडेमिक काउन्सिलले पारित गरेर सेलेबसको अन्तिम रुप दिईनेछ ।
निर्देशक गोसाई भन्नुहुन्छ, बीर अस्पताल र काठमाडौं विश्वविद्यालय पछि तेस्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मिडवाईफेरीको पढाई हुँदैछ । खासगरी कर्णालीको आमा र शिशुको स्वास्थ्य अवस्थामा सुधार ल्याउन मिडवाईफेरी कार्यक्रमको महत्वपूर्ण भूमिका हुनेछ । यसबाट दक्ष जनशक्ति उत्पादन हुनुको साथै कर्णालीको विकासमा ठूलो टेवा पुग्ने जनाईएको छ ।
एमबिबिएस कार्यक्रम सञ्चालनका लागि पनि प्रतिष्ठानका डिन अफ मेडिसिन मोदनाथ मरहट्ठाको अध्यक्षमा विकास समिति गठन भएको छ । समितिको सदस्यमा चिकित्सा अध्ययन संस्थान, विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र क्षेत्रीय अस्पताल सुर्खेत सदस्य रहेको उहाँले जनाउनुभयो ।
“दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा दिनु चानचुने विषय होइन तरपनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हिमाली क्षेत्रबाट यो सेवा दिईरहेकोप्रति गर्व लाग्छ,” निर्देशक गोसाईंले थप्नुभयो । प्रतिष्ठानमा पदाधिकारी बाहेक १३ जना विशेषज्ञ डाक्टर, २४ जना मेडिकल अफिसर, १५ नर्सिङ अफिसर, २७ स्टाफ नर्स सहित कूल १५० को जनशक्तिले सेवा दिईरहेको र आठजना डाक्टरहरुलाई प्रतिष्ठानले मास्टर्स पढाईरहेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ, प्रतिष्ठानमा आउने ९५ प्रतिशत बढी सेवाग्रही खुशी भएर जान्छन्, मात्र १÷२ प्रतिशतका लागि हामीले मेहनत गरिरहेका छौं । कर्णाली मावि अनामनगरका बहिरा विद्यार्थीलाई प्रतिष्ठानले साउन महिनादेखि निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको र मासिक सञ्चालन गर्ने उहाँले बताउनुभयो । मावि अनामनगरसँग मिलेर सामुदायिक सेवा प्रदान गर्ने पनि प्रतिष्ठानले लक्ष्य बनाएको छ ।
प्रतिष्ठान कर्णाली प्रदेश समृद्धिको आधार भएको औंल्याउँदै यसले प्रत्यक्ष परोक्ष तवरले आर्थिक समुन्नतिमा पनि सहयोग पुग्ने निर्देशक गोसाईको तर्क थियो । प्रतिष्ठानले कसरी स्वास्थ्य सेवालाई सहज र जनता सामु पु¥याउने भनेर गम्भीर तवरले सोचेको र सो कुरा व्यवस्थापनका लागि सिनेटको बैठक जुम्लामा बसाल्न पहल भईरहेको उहाँले जनाउनुभयो ।
यसको प्रगति र विकासका लागि यहाँका राजनीतिक दलको प्रतिवद्धता, नागरिक समाजको सक्रियता, बुद्धिजीविहरुको सल्लाह र सञ्चार क्षेत्रको सकरात्मक भूमिकाले प्रतिष्ठानको स्थापित भूमि मोडेल बन्ने उहाँको दावी थियो । त्यसको साथै उहाँले प्रतिष्ठानले ६ नं. प्रदेशको स्वास्थ्य जगतमा मनिटर बडिका रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानका नौ वटै जिल्लालाई कसरी लाभ दिन्छ भन्ने प्रश्नमा रासससँग कुरा गर्दै उहाँले डोल्पामा विशेषज्ञ डा.अनुप मंगल समाल पठाईएको बताउनुभयो । बाँकी हुम्ला, अछाम बाजुरा लगायतका जिल्लामा निकट केही महिनाभित्रै विशेषज्ञ डाक्टर र नर्सद्वारा सेवा प्रवाह गरिने उहाँको भनाई थियो ।
त्यसैगरी, प्रतिष्ठानलाई आवश्यक मेसिनरी सामग्रीहरु ः सिटी स्क्यान, ईन्डोस्कोपी, अर्थोपेडिक तथा सर्जरी, फोटो थेरापी, भिडियो एक्सरे, अक्सिजन प्लान्ट राख्नुको साथै प्रयोगशालको विस्तार निकट समयमै गर्ने जनाईएको छ । प्रतिष्ठानका अनुसार चालु आ.व.मै जनस्वास्थ्य विभाग स्थापना, अनुसन्धान र सामुदायिक स्वास्थ्य कार्यक्रम सुरु गरिनेछ ।
त्यसको साथै अस्पतालको सहज पहुँचमा पुग्न नसकेका बिरामीको उपचारका लागि स्थानीय तहमा निःशुल्क विशेषज्ञ घुम्ती शिविर सञ्चालन गर्ने प्रतिष्ठानले जानकारी दिएको छ । शिविर सञ्चालनका लागि भने गाउँपालिकाको व्यवस्थापन तथा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको प्राविधिक सहयोग लिईने बताईएको छ । शुरबहादुर सिंह÷रासस
क्याप्सन ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक धर्मराज गोसाईं । तस्विर ः शुरबहादुर सिंह÷रासस, जुम्ला ।










