खानेपानी आयोजना प्रयोगविहीन मोटर जडान नगर्दा वर्ष दिनदेखि इनार र ट्यांकी खाली

सुर्खेत । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको ढिलासुस्तीले पूर्वी सुर्खेतको मेहलकुनामा बनिसकेको खानेपानी आयोजना प्रयोगविहीन हुन पुगेको छ। निर्माण सम्पन्न भएको वर्ष दिन बितिसक्दासमेत कार्यालयले नयाँ मोटर जडान नगर्दा उपभोक्ता खानेपानी नपाएर मर्कामा परेका छन्। आयोजना सञ्चालन नहुँदा स्थानीय उपभोक्ता भेरी नदीको धमिलो पानी उपभोग गर्न बाध्य बनेका हुन्।
गुर्भाकोट नगरपालिका ७ र ८ का बासिन्दालाई खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको खैरनी करिब एक वर्षदेखि लथालिंगप्रायस् छ। स्थानीयले सुपरिवेक्षण कार्यालयको गैरजिम्मेवारीका कारण आयोजना सञ्चालनमा आउन नसकेको आरोप लगाए। ‘सञ्चालन नगरेरै अलपत्र छाडियो।
पूर्वाधारमात्र बनाएर हुँदैन्,’ मेहेल्कुनाका तारा ढकालले भनिन्, ‘आयोजनालाई सञ्चालनमा ल्याएरमात्र हस्तान्तरण गर्नुपथ्र्यो।’ मोटर जडान गर्न कार्यालयले अटेरी गरेको उनको आरोप छ। उपभोक्ता समिति अध्यक्ष हरिहर रेग्मीले सुपरिवेक्षण कार्यालयलाई आफूहरूले आयोजना सञ्चालनमा ल्याउन पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताए।
आयोजना ८ लाख रुपैयाँ लागतमा निर्माण पूरा भएको हो। पम्पिङका लागि परीक्षण गर्ने क्रममा मोटर जलेको थियो। त्यसयता प्राविधिक फर्केर नगएको स्थानीयको भनाइ छ।
अध्यक्ष रेग्मीले इनारबाट पानी तान्ने क्रममा मोटर जलेपछि सबै ट्यांकीमा पानी चढाउने काम बन्द भएको जानकारी दिए।
‘१६ किमि टाढाबाट ल्याउनुको साटो नजिकैबाट पानी पम्पिङ गरेर उपभोक्ताको घर–घरमा पुर्‍याउने लक्ष्य थियो,’ उनले भने, ‘सबै काम सकिएको छ। कार्यालयले नयाँ मोटर पठाएन। यही कारण ट्यांकी प्रयोगविहीन बन्यो।’ दुई वडाका करिब १ हजार ६ सय परिवार लाभान्वित हुने अपेक्षा थियो। एक लाख लिटर पानी अट्न सक्ने क्षमताका ट्यांकी बनाइएको छ।
हिउँद र वर्षामा तीन मिटर गहिराइ पानी पम्प गर्न मिल्ने गरी इनार बनाइएको थियो। गर्मीयाममा इनारको गहिराइ खनेर पानी निकाल्ने कार्यालयले बताएको छ। सुपरिवेक्षण कार्यालयका सूचना अधिकारी एवं डिभिजनल इन्जिनियर आविद हुसैनले पानी कम हुँदा मोटर जलेको प्रतिक्रिया दिए। ‘कार्यालयको कमजोरी होइन। पम्पिङ दूरी तीन मिटर हुनुपर्नेमा कम हुँदा जल्यो,’ उनले भने, ‘अब नयाँ मोटर राख्ने तयारीमा छौं।’

 





error: Content is protected !!