खाली खुट्टा विद्यालय गएर सधैं प्रथम भएँः कुलमान घिसिङ

आजको शिक्षा अनलाईनवाट । काठमाण्डौँ । लोडसेडिङ हटाएर जनताको प्रशंसा बटुल्नुभएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्यार्थीलाई सम्बोधन गर्दै जीवनमा चुनौती स्वीकार्न सके मात्र परिवर्तन सम्भव छ भन्नुभएको छ ।

 

सिन्धुपाल्चोकको उत्तर–पश्चिम क्षेत्रबाट कक्षा ११ र १२ पढ्नका निम्ति छात्रवृत्ति प्रदान गर्दै आएको हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप हेल्पद्वारा राजधानीमा हालै आयोजित समारोहमा प्रमुख अतिथि बन्नुभएका घिसिङले भन्नुभयो, ‘विद्यार्थी भाई–बहिनीहरु १ चुनौतीबाटै आफू र अरुलाई बदल्न सकिन्छ । जुन मैले सानैदेखि स्वीकार्दै आएँ ।’

 

हेल्पले यो वर्ष ५७ जना विद्यार्थीलाई प्लस टु पढ्नका निम्ति छात्रवृत्ति दिएको छ । तिनै विद्यार्थीलाई उत्प्रेरणा र हौसला जगाउन जीवनमा संघर्ष गरेर सफलता प्राप्त गरेका व्यक्तित्वहरुलाई आमन्त्रण गरी छात्रवृत्ति वितरण समारोहमा प्रवचन लगाइन्छ । समारोहमा घिसिङले आफ्नो स्कूले जीवनतिर फर्किँदै भन्नुभयो, ‘म रामेछापको मान्छे । बेथान माविमा पढ्न सधैं एक घण्टा खाली खुट्टा हिँड्नु पर्थ्योे । तर म जहिल्यै प्रथम भएँ ।’

 

कक्षा पाँच पढेपछि घिसिङ आफ्ना दाईहरुका साथ गाउँबाट काठमाडौं आउनुभएछ । बाल सेवा मावि झोंछेमा कक्षा ६ मा नपढी सातमा भर्ना हुनुभयो । त्यहाँ पनि उहाँ प्रथम नै हुनुभएछ । उहाँले आफ्नो विगत र वर्तमानलाई जोड्दै भन्नुभयो, ‘अहिले लोडसेडिङ अन्त्य गर्दा तपाईँ विद्यार्थीदेखि सम्पूर्ण जनतामा सकारात्मक आशा र विश्वास जागेको छ । निराशामा रहेका जनतामा आशा जाग्नु ठूलो उपलब्धि हो ।’

 

घिसिङले पढ्नेदेखि हरेक कामको सफलतामा व्यवस्थापन ठूलो पक्ष हो भन्नुभयो । ‘कसरी व्यवस्थापन गर्ने रु यो मूल कुरा हो । यो विज्ञानसँग पनि जोडिएको छ । सफलताका लागि मसिनोगरी विश्लेषण गर्नुपर्छ,’ उहाँले अनुभव बाँड्नुभयो, ‘त्यहाँ प्रतिबद्धता र समर्पण दुबै चाहिन्छ जुन मैले आत्मसाथ गरेको छु ।’

 

अर्का उत्प्रेरक वक्ता माया गुरुङले विद्यार्थीहरुलाई आफ्नो भाग्य आफैं बनाउन उत्प्रेरणा दिनुभयो । उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथासहित सात महादेशका सातैवटा हिमाल चढिसक्नुभएकी पर्वतारोही विरङ्गना हुनुहुन्छ । आफ्नो बाल्यावस्थामा पूरा पढ्न नपाउँदाको पीडा गुरुङले प्रकट गर्नुभयो । ‘सात कक्षा पढ्दैथिएँ, मेरो बुवाले बिहे गरिदिन लाग्नुभयो । म घरबाट भागेँ र आफूलाई आँटिलो कर्मबाट विश्वमा कसरी चिनाउने भनेर तल्लिन भएँ,’ उहाँले आफ्नो संघर्षबारे सुनाउनुभयो, ‘आज आँटेका काम पूरा गर्न सकेकी छु ।’

 

रिपब्लिका दैनिकका सम्पादक सुभाष घिमिरेले विगतमा आफ्ना दुःखदायी कथा बोकेका हरेक विद्यार्थीले छात्रवृत्ति पाएपछि त्यसलाई सदुपयोग गर्न भुल्न नहुने सुझाब दिनुभयो । घिमिरे हार्वड विश्वविद्यालयमा अध्ययन गरी नेपाल फर्केर पत्रकारितामा लागिरहनुभएका युवा व्यक्तित्व हुनुहुन्छ । उहाँले विद्यार्थीले भविष्यमा प्राप्त गर्ने सफलतालाई ‘सफलताको कथा’का रुपमा लेख्न पाइयोस् भनी हौसला प्रदान गर्नुभयो ।

छात्रवृत्ति वितरण समारोहमा सिन्धुपाल्चोकको उत्कृष्ट सामुदायिक विद्यालय मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतमलाई सम्मान गरियो । उहाँले विद्यार्थीलाई सफलताको एउटै सुत्र भन्नुभयो, ‘त्यो भनेको निरन्तरता हो निरन्तरता । जुन विषय लिएर पढ्ने हो, त्यसैलाई निरन्तरता दिइरह्यो भने एक दिन अवश्य सफलता मिल्छ ।’ हेलम्बुमा रहेको मेलम्चीघ्याङ स्कूल अतिरिक्त क्रियाकलापदेखि पठनपाठनमा विद्यार्थीको सिकाइ उपलब्धि अनुकरणीय छ । लोडसेसिडङ अन्त्य गरी उज्यालो छर्नुभएका घिसिङले तीन दशकभन्दा बढी समयदेखि शिक्षाको ज्योति चम्काउनुभएका गौतमलाई हेल्प संस्थाका तर्फबाट दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

 

हेल्पका कार्यकारी निर्देशक जिमी लामाले आफूहरुले छात्रवृत्ति दिएको नभई विद्यार्थीले आफैंले पाएको बताउनुभयो । दुई सयजना विद्यार्थीले फारम भरी आफ्नो कथालाई निबन्धात्मक रुपमा लेखेर आवेदन दिएका थिए । पछि त्यसबाट ‘सर्ट लिस्टिङ’मा परेकालाई अन्तर्वार्तामार्फत् छानिएको थियो । छानिएका विद्यार्थी २० विद्यालयका थिए । वार्षिक जनही २० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो । लामाले छात्रवृत्तिलगायत विद्यालयहरुको अरु कामका लागि स्रोत व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेपनि आफूहरुले डटेर लागेको जानकारी दिनुभयो ।

 

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकका सहायक जिशिअ कृष्ण सुवेदी, नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्ले र आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललगायतले विद्यार्थीलाई हौसलयुक्त सल्लाह दिँदै शिक्षाका समसामयिक विषयमा मन्तव्य प्रकट गर्नुभएको थियो ।





error: Content is protected !!