वडापिच्छे करोडका योजना कृषि र पशुपालन क्षेत्रमा बजेट शून्य

 जाजरकोट

त्रिवेणी नलगाड नगरपालिकाले आव ०७४/७५ का लागि ३४ करोड ४५ लाख बजेट पारित गरेको छ। त्रिवेणीले विकास बजेटका लागि २० करोड विनियोजन गरेको हो।
त्यस्तै, भेरी नगरपालिकाले ४१ करोड बजेटमध्ये विकासका लागि २५ करोड छुट्याएको छ। तर ती दुवैले पशु सेवा र कृषि विकास क्षेत्रमा भने बजेट शून्य पारेका छन्। भेरी र त्रिवेणीले वडा अध्यक्षहरूलाई भागबन्डाका आधारमा विनियोजन गर्दा पशु र कृषि क्षेत्रमा शून्य भएको हो।
जुनीचाँदे गाउँपालिकाले पनि कृषि तथा पशु क्षेत्रमा बजेट शून्य गरेको छ। नगर तथा गाउँसभामा कार्यालयका तर्फबाट बजेट कार्यक्रम समयमै पेस गर्दा पनि रकम विनियोजन हुन नसकेको कृषि प्रसारण अधिकृत मुकेश रामजालीले बताए। बजेट विनियोजन नहुँदा विभिन्न तरकारी तथा अन्नबालीको बीउ, विषादी, फलफूलका बिरुवालगायत वितरण कार्यक्रम सञ्चालन नहुने अधिकृत रामजाली बताउँछन्। तरकारीको बीउ र विषादीका लागि कृषकहरू कार्यालयमा धाउने गरेको
उनले बताए।
कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमका लागि भेरी नगरपालिकामा १ करोड ७७ लाख बजेट कार्यक्रम पेस गर्दा पनि बजेट भने शून्य भएको उनले बताए। जिल्लाका ७ वटै पालिकामा बजेट कार्यक्रम पेस भएकामा ३ गाउँ/नगरले मात्र स्वीकृत गरेको रामजालीले बताएका छन्।
त्यस्तै पशु सेवा कार्यालयले पशु उपचार, कृत्रिम गर्भाधान, रेबिज रोकथाम तथा नियन्त्रण, पशुपक्षी उत्पादकत्व वृद्धि गर्ने, पशु खोप तथा औषधिलगायत कार्यक्रमका लागि ९१ लाख बजेट कार्यक्रम भेरी नगरपालिकामा पेस गरे पनि कुनै शीर्षकमा बजेट नछ्ट्याएको कार्यालय प्रमुख सुमिन्द्र यादवले बताए। कृषकहरू पशु उपचारका लागि कार्यालयमा आउने गरेको तर बजेट नहुँदा सेवा दिन नसकेको प्रमुख यादवले जानकारी गराए। दर्जन बाख्रा बिरामी भएकाले उपचार गर्ने औषधि माग्दा पशु सेवाबाट उपलब्ध नभएको भेरी नगरपालिका ३ की पार्वती नेपालीले बताइन्। प्राविधिकले औषधि किन्ने बजेट नभएकाले उपचारमा समस्या भएको बताएको नेपालीले बताइन्।
गाउँ तथा नगरपालिकामा विगतजस्तो दामाशाहीका हिसाबले बजेट बाडँफाँड गर्ने प्रचलनलाई निरन्तरता दिँदा कृषि, पशु, महिला, बालबालिका, स्वास्थ्य, शिक्षालगायत महत्त्वपूर्ण क्षेत्रमा बजेट नछुट्याइएको हो। अधिकांश गाउँ/नगरपालिकाले प्रतिवडामा १ करोडको हाराहारीमा बजेट भागबन्डा गरेको पाइएको छ।
९० प्रतिशत बजेट कुलो, बाटो, खानेपानी, भवनलगायत पूर्वाधार निर्माणका लागि छुट्याइएको हो। कतिपयलाई नीति तथा कार्यक्रम र क्षेत्र निर्धारणबारे जानकारी नभएर पनि सबै क्षेत्रमा बजेट विनियोजन भएको छैन।भेरी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले भने कृषि, पशुलगायत विषयगत निकायले समयमा कार्यक्रम पेस नगर्दा बजेट विनियोजन हुन नसकेको बताए। दोस्रो चौमासिकबाट छुटेका क्षेत्रमा बजेटको व्यवस्थापन गर्न सकिने अधिकृत शर्माले बताए। समन्वय अभावमा कतिपय कार्यालयका कार्यक्रम छुट्न गएको उनको भनाइ छ .

मुगु– सोरु गाउँपालिका सभाले आगामी आवका लागि २३ करोड ५२ लाख बजेट विनियोजन गरेको छ। सोमबार भएको गाउँसभाले चालुतर्फ ११ करोड ६७ लाख र पुँजीगतमा ११ करोड ८५ लाख विनियोजन गरेको हो।
सभाले सडक, पर्यटन, विद्युत्, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको अध्यक्ष लोकबहादुर शाहीले बताए। उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चार कोष स्थापना गरिएको उनले बताए। गाउँपालिकाले पाँच वर्षभित्र सबै वडामा सडक पुर्‍याउने लक्ष्य लिएको छ। जिमासिप गाउँदेखि सोरुकोटसम्म सडक निर्माण गर्न २ करोड र गिलाहाँदेखि धुलाचौरसम्मका लागि २ करोड विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
जिमा कुलाहामा रहेको तातोपानीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र हरेक वर्ष तातोपानी महोत्सव सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। सभाले तातोपानीदेखि रुम बिजई मन्दिर हुँदै रारा तालसम्म पर्यटकीय पदमार्ग निर्माण गर्ने कार्यक्रम पास गरेको छ।

 





error: Content is protected !!