प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा छलफल , ‘उम्मेदवार फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्छ’

काठमाडौं ,गृहमन्त्री जनार्दन शर्माले पेस गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ माथि विचार गरियोस् भनी राखेको प्रस्ताव व्यवस्थापिका–संसद् बैठकबाट बहुमतले स्वीकृत भएको छ ।
प्रस्तावमाथिको छलफलमा कांगे्रसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखे । कांग्रेसकै सांसद भरतबहादुर खड्काले निर्वाचनमा शक्ति र पैसा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै ऐनमा यसलाई रोक्ने व्यवस्था राख्न माग गरे ।
एमाले सांसद रेवतीरमण भण्डारीले समानुपातिकमा १० प्रतिशत मात्र बन्द सूचीमा नाम राख्ने दलको सट्टा एक चौथाइको बन्द सूची बुझाउने दलले मात्र निर्वाचनमा भाग लिन पाउने व्यवस्था समेट्न माग गरे ।
अर्का सांसद गुरुप्रसाद बुर्लाकोटी र पुरुषोत्तम पौडेलले निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई नभई निर्वाचन आयोगलाई दिनुपर्ने सुझाव दिए । नेकपा माओवादी केन्द्रका जनकराज जोशीले निर्वाचनमा जनताले उम्मेदवारलाई प्रत्याह्वान ९फिर्ता बोलाउने अधिकार० पाउने व्यवस्था समेट्न माग गरे । अर्का सांसद शक्तिबहादुर बस्नेत र रेखा शर्माले छोटो बाटोबाट विधेयक पारित गर्न सदनको ध्यानाकर्षण गराए ।
उनीहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको तयारीमा सरकार जुटेको बताए । उनले संविधान कार्यान्वयन गर्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पहिलो खुड्किलो रहेको चर्चा गर्दै सरकार ती तीनवटै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । उनले सांसदहरूले उठाएका सुझावलाई विधेयकमा समावेश गर्ने प्रतिबद्धता पनि जनाए










