प्रचण्डले किन भने केपी ओलीलाई धन्यवाद ?

काठमाडौँ ,माओवादी केन्द्रको मुख्यालयमा साताब्यापी वसेको बैठकको निचोड सुनाउने क्रममा अध्यक्ष प्रचण्डले जननिर्वाचित कार्यकारी राष्ट्रतिको मुद्दालाई मुख्य मुद्दा बनाउने बताएका छन् । उनले १० वर्षमा १० वटा सरकार फेरबदल भएको भन्दै अव पाँच वर्षसम्म एकै व्यक्तिले निर्धक्कसँग काम गर्नसक्ने शासन प्रणालीको पक्षमा रहेको पनि बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘राजनैतिक स्थिरता, आर्थिक विकास र समृद्धि एवं राष्ट्रिय एकताको सुदृढिकरणका लागि बैठकले जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी प्रमुख अनिवार्य रहेको तथ्यलाई पुनः उजागर गरेको छ । त्यसका निमित्त अगाडि आउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनतालाई अपील गछौँ ।’
बैठकले २ नं प्रदेशमा असोज २ गते हुने तेश्रो चरणको स्थानीय निर्वाचन र प्रदेश एवं संघीय निर्वाचनसम्मको लागि ठोस कार्ययोजना पारित गरेको छ । साथै बैठकले स्थानीय तहमा निर्वाचित वाडा अध्यक्षदेखि गाउँ/नगरपालिकाका अध्यक्ष, उपाध्यक्षसम्मको राष्ट्रिय भेला साउन २०, २१ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
प्रचण्डले दिए ओलीलाई धन्यवाद !
प्रचण्डले एमाले अध्यक्ष अाेलीलाई धन्यवाद दिएका छन् । पत्रकार सम्मेलनमा एमालेसँग चुनावमा सहकार्य गर्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने,‘ओलीजीले यसो भनेकोमा उहाँलाई धन्यवाद’ । उहाँ ठूलो पार्टी नेता त बन्नुभो तर परिस्थितिको गम्भीरतालाई बुझेर यसो भन्नुभएको होला, यसमा उहाँलाई धन्यवाद छ ।’ उनले भने,‘वामदेवजीले त चुनाव अघि देखि नै मिलौं भन्दै आउनुभएको हो, उहाँले त ५०–५० प्रतिशत गरेर चुनावमा जाऔं समेत भन्नुभएको हो ।’










