साउन १ देखि मतदाता नामावली अद्यावधिक

जाजरकोट । जिल्ला निर्वाचन कार्यालय जाजरकोट, सुर्खेतले फोटोसहितको मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । कार्यालयले प्रादेशिक र संसदीय निर्वाचनका लागि साउन १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागेको हो । निर्वाचन आयोगले सोमबार साउन १ देखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने निर्णयअनुसार प्रादेशिक र संसदीय निर्वाचनलाई केन्द्रित गर्दै नामावली संकलन शुरु गरिने बताइएको छ ।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गराउन आग्रह गरिएको छ । मतदाता नामावलीमा नाम लेख्न छुटेका नागरिकहरुले नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि जिल्लामा मतदाता नामावली संकलन सुरु हुने भएको हो ।

आयोगले निर्वाचन कार्यालयमार्फत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्न लागेको छ । आयोगले स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने भनि कर्मचारीको तथ्यांक माग गरेपनि जिल्लामा अद्यावधिक गर्न लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुनिता थापाले बताइन् ।

फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्ने छ । यसअघि फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले भने नाम लेखाउनु नपर्ने निर्वाचन आयोगले जनाएको छ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा नगरुन्जेल मतदाता नामावली अद्यावधिक हुनेछ ।

‘आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने तयारी गरेको हो प्रमुख थापाले भनिन्, जिल्लामा वा स्थानीय तहमै संकलन गर्ने भन्ने बारेमा लिखित निर्देशन आएको छैन् ।’ जिल्ला निर्वाचन कार्यालयले गत फागुन ९ गतेसम्म संकलन गरेको मतदाता नामावलीअनुसार सुर्खेत जिल्लाका ९ वटा तहमा १ लाख ७९ हजार ४ सय १४ जना मतदाता रहेका छन् ।

बर्खाको समय भएको र समयसमेत कम भएका कारण गाउँगाउँ गएर मतदाता नामावली संकलन गर्न नसकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरिएको छ । आयोगका अनुसार मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने मतदान गर्न पाउने छैनन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली परिचयपत्र अनिवार्य गरेको थियो । मतदाता नामावली संकलन भए पनि प्रादेशिक र प्रतिनिधिसभाको चुनावअघि पुनः मतदाता परिचयपत्र बाँडिनेछ ।

प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले एक सातापहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधानअनुसार माघ ७ भित्र बाँकी ३ वटा निर्वाचन गर्नुपर्ने व्यवस्थाबमोजिम २०७४ असोजको अन्तिममा प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभा निर्वाचन र मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।





error: Content is protected !!