असारे विकासमा अनियमितता सात दिनमा उप्कियो पिच

सुर्खेत – विकास निर्माणमा सरकारी निकायको कतिसम्म हेलचक्र्याइँ र लापरवाही हुन्छ भन्ने उदाहरण सुर्खेत–नेपालगञ्ज सडकमा देखिएको छ ।
सडक अन्र्तगत छिन्चु–पैसठ्ठी सडक खण्डमा गरिएको कालोपत्रे हप्ता दिनमै उप्किएको छ । छिन्चु–वीरेन्द्रनगर सडक खण्डको दाया बाया गरिएको कालेपत्रे उप्किएको मात्र छैन पानी जमेको र खाल्डाखुल्डी समेत परेको छ । सडक कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा बजेट सक्नको लागि हतारहतारमा कालो पत्रे गरिएकोले हप्तादिनमै कालेपत्रे उप्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । सडक चौडा बनाउने नाममा गरिएको कालोपत्रेको काम हास्यास्पद भएको उनीहरुले गुनासो गरेका छन् ।
सडक चौडा पार्ने नाममा जनताको आँखामा छारो हाल्ने काम भएको स्थानीय बासिन्दाले बताएका छन् । ‘यो राम्रो काम भएन स्थानीय बासिन्दा ओम केसीले भन्नुभयो यदि विकास नै गर्ने हो भने गुणस्तरीय काम गर्नु प¥यो । गुणस्तरहिन कालोपत्रे गरेर बजेट किन सिध्याउने ? यो जनताको आँखामा छारो हाल्न काम मात्र हो । त्यसैले यस्ता ठेकेदार र कर्मचारीलाई कारवाही गर्नुपर्छ ।
यता डिभिजन सडक कार्यालय सुर्खेतले भने नगर भन्दा भन्दै ठेकेदारले जवरजस्ती रुपमा कालोपत्रे गरेकोले समस्या देखिएको बताएको छ । सडकको १४ सय मिटरभित्रको दाया बाया कालोपत्रे गर्ने जिम्मा प्रदीप कन्टक्सनले लिएको छ । ठेकेदारले पानी परिरहेको वेला सडक कालोपत्रे गरेकोले हप्तादिनमै उप्किएको पनि कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर दिपेन्द्र विष्टले ठेकेदारले सडक राम्रो नवनाउँदासम्म सडकको मेजरमेन्ट पनि नहुने र रकम भुक्तानी पनि नदिने बताउनुभयो ।
कन्ट्रक्सनले १४ सय मिटर सडकको दाँया १ मिटर २० सेन्टिमिटर र वायाँ पनि १ मिटर २० सेन्टिटिर कालोपत्रे गर्ने जिम्मा लिएको छ । ठेकेदारले असार १ गते सम्झौता गरेर कालोपत्रेको काम सुरु गरेको थियो । २९ लाख ४९ हजार रुपैयाँको लागतमा निर्माण गर्न थालिएको सडकले असारे विकासको काम कत्तिको झारा टार्ने रुपमा हुन्छ भन्ने स्पस्ट पारेको छ । चौडा पारिएको सडकको कालोपत्रे फुटेर चिराचिरा परेको छ भने हिड्दा पनि खुट्टामा टाँसिएर उप्किने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
सवारी साधन हिँडेको भागमा कालोपत्रे उप्किएर खाल्डो परेको छ । भत्किएको कालोपत्रेको तलपट्टिबाट बालुवा र माटो निस्कीएको छ । सडक कालोपत्रेका नाममा ठेकेदारले गिट्टी बिछ्याएर अलकत्रा पोतेको स्थानीयले आरोप लगाएका छन ।
ठेकेदार र सडक कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ ।उनीहरुले ठेकेदारले मनोमानी ढंगले काम गर्दा पनि सडक कार्यालय मौन वस्नुले यो कुराको पुष्टी हुने उल्लेख गरेका छन ।
उज्यालोवाट ।










