प्रचण्डको खल्तीमा माओवादीले पाउने मन्त्रालय र मन्त्रीको सूची

काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मुख्य घटक नेकपा माओवादी केन्द्रले आठ वटा मन्त्रालय पाउने भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच भएको समझदारी अनुसार माओवादी केन्द्रले गृह,परराष्ट्र,सहरी विकास, स्वास्थ्य, उर्जा, बाणिज्य, सामान्य प्रशासन र कृषि मन्त्रालय पाउने पक्का भएको छ ।
राप्रपा सरकारमा सहभागी नभएको अवस्थामा अरु एक वा दुई वटा मन्त्रालय माओवादीको भागमा पर्ने गरी छलफल अगाडि बढेको एक नेताले बताए ।
उपप्रधानसहित परराष्ट्र मन्त्रालयमा कृष्णबहादुर महरा,गृहमन्त्रीमा जनाद्र्धन शर्मा र सहरी विकास मन्त्रालयमा प्रभु साहले जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
स्रोतका अनुसार गिरिराजमणि पोखरेलले स्वास्थ्य मन्त्रालयमा, महेन्द्रबहादुर शाहीले उर्जा मन्त्रालयमा,टेकबहादुर बस्नेतले कृषि विकास मन्त्रालयमा,श्यामकुमार श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयमा,आशा कोइराला र सीता नेपालीले बाणिज्य मन्त्रालयमा दावी पेश गर्नु भएको छ । त्यसैगरी हरिबोल गजुरेल,अग्नी सापकोटा,रेखा शर्मा र शिव मण्डलले पनि मन्त्रीका लागि दावी पेश गर्नु भएको छ ।
अध्यक्ष प्रचण्डले मन्त्रीका लागि दावी पेश गर्नेहरु मध्ये एक जना श्रम तथा अन्तराष्ट्रिय सम्बन्ध समितिको सभापति,एक जनालाई प्रमुख सचेतक बनाउने आश्वसन दिनु भएको छ । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति साह सहरी विकास मन्त्री हुनु भएकोले सो पद रिक्त छ भने प्रमुख सचेतक रहनु भएका टेकबहादुर बस्नेतलाई यसपटक मन्त्री बनाउने योजना प्रचण्डले बनाउनु भएको छ ।
निर्वाचनमा बिजयी हासिल गरेका र गराएका नेताहरुलाई मन्त्री बनाउन प्राथमिकता दिनु पर्ने दबाब पनि प्रचण्ड माथि परेको छ । तर प्रचण्डको खल्तीमा रहेका मन्त्रालय र मन्त्रीको सूची प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्ने वेलामा मात्रै सार्वजनिक गराउने बुझिएको छ ।










