एमाले र राजपाका नेताहरु एकाएक राजधानीको एक रिसोर्टमा आवासीय बैठकमा

काठमाडौं । वर्तमान राजनीतिमा दुर्इ ध्रुबबाट आफ्ना कडा अडान राखेर आपसमा विरोध गरिरहेका दुर्इ दल एकाएक गोप्य आवासीय वार्तामा बसेको खबर छ । त्यो पनि राजधानीभन्दा अली कुनामा भव्य रिसोर्टमा ।

एकातिर केपी ओलीको नेतृत्वको नेकपा एमाले अर्कोतिर राजेन्द्र महतोसहितका प्रमुख मधेशी नेताहरु रहेको राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल । यी दुर्इ दल यतिबेलाका एक अर्काका कट्टर विरोधी दल हुन । राजपाले संविधान संशोधनका लागि राखेको मागमा बाधक बनेको छ एमाले । प्रमुख प्रतिपक्षी दलले संसदमा कडा अवरोध गरेपछि सरकारी गठबन्धन परेसानीमा परेको छ । उता मधेशमा एमालेलार्इ पस्नै नदिने भनेर राजपा यतिबेला कडा एमाले विरोधी बनेर लागेको छ । राजपाले केही समय पहिले मधेशका विभिन्न जिल्लामा एमालेका स्थानीय जिल्लाका कार्यालयहरु तोडफोड समेत गरेको थियो । साथै एमालेले थालेको मधेश अभियानका क्रममा थुप्रै ठाउँमा आक्रमण समेत गरेको थियो ।
तर, तिनै दुर्इ दल आइतबार एकाएक गोप्य आवासीय वार्तामा पुगेका छन् । एकअर्काप्रति पानी बाराबारको स्थितिमा रहेका दुई पार्टीका नेताहरु आइतबार साँझ भने राजधानीको बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा पुगेका छन् । पार्क भिलेज रिसोर्टमा राखिएको आवासीय बैठकमा एमालेका तर्फबाट नेताहरू रविन्द्र अधिकारी र राजन भट्टराई सहभागी छन् भने राजपाबाट जितेन्द्र सोनल र मनिस सुमन सहभागी भएको बताइएको छ ।

एमाले विरुद्धमा चर्कोगरी उत्रेका राजपा नेता राजेन्द्र महतोले पनि दुई पार्टीबीच अनौपचारिक छलफल भइरहेको मिडियामा बताएका छन् । उनले अब एमालेसँग थप द्वन्द्व गर्नुभन्दा सकेसम्म द्वन्द्व कम गरेर जाने पनि बताए । सोही नीति अनुरुप एमालेसँग वार्ताको प्रयास अगाडि बढाएको उनको भनाइ छ ।

स्रोतका अनुसार यो बैठकको व्यवस्था एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मिलाएको हो । तर, बैठकबारे दुबै पार्टीका नेताहरुले स्पष्ट शब्दमा खुलाउन चाहेका भने छैनन् ।





error: Content is protected !!