पत्रपत्रिकाका फ्रन्टपेजः सरकार विस्तार संविधान संशोधनपछि मात्रै

काठमाडौं । शपथ लिएको एक महिना नाघे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । दोस्रो चरणको निर्वाचनपछि गर्ने भनिएको विस्तार अब संविधान संशोधनपछिलाई सारिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । निर्वाचनका घात–प्रतिघातका विषयलाई पनि पत्रपत्रिकाहरुले खोतलेका छन् ।

बजेट शीर्षकमा मन्त्रीहरुले दिएको जवाफलाई आजको गोरखापत्र दैनिकले मुख्य खबर बनाएर छापेको छ । कर्मचारी समायोजन विधेयकले संसद्मा प्रवेश पाएको, मौद्रिक नीति सार्वजनिक भएकोलगायत खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।

अन्नपूर्ण पोस्ट दैनिकले सार्वजनिक नयाँ मौद्रिक नीतिलाई प्राथमिकता दिएर छापेको छ । कोसीमा अर्को ब्यारेक बन्ने अर्को खबर पनि अन्नपूर्ण पोस्टमा छ ।

नयाँ पत्रिका दैनिकले तत्काल सरकार विस्तार गर्दा संविधान संशोधनमा असर पर्ने भएकाले देउवा सरकार विस्तारबाट डराएको लेखेको छ ।

कान्तिपुर दैनिकले स्थानीय तह निर्वाचनमा दलहरुभित्र भएको अन्तर्घातको कथालाई लेखेको छ । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर पेल भएको अर्को खबरलाई पनि आजको कान्तिपुरले महत्त्व दिएर लेखेको छ ।

‘चुलिँदै चुनाव खर्च’ शीर्षक दिएर मुख्य खबर लेखेको नागरिक दैनिकले मौद्रिक नीतिदेखि सिंहदरबारका महँगा गाडी कबाडीमा परिणत भएकोसम्मको खबर लेखेको छ ।





error: Content is protected !!