पानी ओसार्दा विद्यालयमा गयल

गीता थापा
सुर्खेत, । भालेको डाँकोसँगै झिसमिसे बिहानमै उनी ब्युझन्छिन् । रित्तो गाग्री र डोको बोकेर खोलातिर लाग्छिन् । जाँदा एक घण्टा लाग्छ । फर्कदा गाग्रीभरी पानी, उकालो बाटो घर पुग्न डेढ घण्टा भन्दा बढी समय लाग्छ । विहान भरीको समय पानी ओसार्दैमा वित्छ । यो दैनिकी पश्चिम सुर्खेतको छाप्रेका ११ वर्षिय बालिका नविना देउवाको हो । घर नजिकै खानेपानीको स्रोत नभएका कारण बिहानै उठेर किताब समात्ने समयमा नविनाको दैनिकि भने पानी ओसार्दै वित्ने गरेको छ ।
११ वर्षकी नविना कक्षा ६ मा अध्ययन गर्छिन् । किताब समातेर पढ्ने समयमा खोनपानी ओसार्दै समय वित्ने भएकाले उनले नियमित पढ्न समेत पाउँर्दिनन् । कहिलेकाँही त ढिलो हुँदा विद्यालय समेत जान पाउँर्दिनन् । उनी भन्छिन्, ‘आधा रातमै उठेर पानीको जोहो गर्न जानुपर्दछ, विहान भरीमा तीन खेप पानी ओसार्छु कहिले काही ढिलो भएर स्कुल जान नै छुट्छ ।’ विद्यालय जान पनि एक घण्टा लाग्ने भएकाले पानी ओसार्दैमा समय जाने नविनाले आफ्नो दैनिकी सुनाइन् ।
नविना मात्र होइन छाप्रे ७ सान्ने गाउँका धेरै जसो बालिका विहान भिसमिसेमा नै डोकोमा गाग्री राखेर धुगाने खोलामा पानी लिन झर्छन् । उनीहरूको दैनिकी नै पानी ओसार्दैमा वित्छ । नजिकै पानीको मुहान नहुँदा त्यहाँका बासिन्दाहरू घण्टौ लगाएर खोलामा पानी लिन जान बाध्य छन् ।
सान्नेकै ९ वर्षिया लक्ष्मी देउवा पनि विहानको घामको झुल्को संगै खोलाबाट पानी लिएर घर आइपुग्छिन् । एकाबिहानै किताब समात्ने हातले गह्रौं गाग्रीभरी पानी बोक्नुपर्ने बाध्यताका कारण चार कक्षामा अध्ययनरत लक्ष्मीलाई थकानका कारण विद्यालय पुग्न डेढ घण्टा लाग्ने गर्दछ । घरमा अर्को कोही नभएका कारण लक्ष्मी सँधैजसो पानी ओसारेर मात्रै अध्ययनका लागि विद्यालयतिर जाने गर्छिन् । घरदेखि निकै टाढा रहेको विद्यालयमा पानी ओसार्दाको थकानका कारण अधिकांश दिन त उनी विद्यालय नै जाँदिनन् । उनी भन्छिन्, ‘मान्छेलाई खाने पानी मात्र भए त थोरै पानी लिए पनि पुग्थ्यो तर, गाई भैसीलाई समेत पानी बोकेर खुवाउनु पर्छ, धेरै जसो स्कुल जानै पाउदिन ।’
नविना र लक्ष्मी जस्तै जानु देउवाको दैनिकी पनि खासै फरक छैन । दिउसोको समय स्कुलमा भए पनि विहान र साँझ भने उनी सँधै पानी लिन खोलामा नै जान्छिन् । ‘खोलाबाट पानी लिएर घर आउँदा साथीहरू स्कुल गइसकेका हुन्छन्,’ उनले भनिन्, ‘अनि एक्लै डरलाग्दो जंगलको बाटो हतार हतार कटाएर स्कुल जानुपर्दछ, कहिले त पहिलो कक्षा नै छुटिसकेको हुन्छ ।’ अध्यारोमै पानी लिन गए पनि घर आउदा घाम उदाइसकेको हुने उनको भनाई छ । बिहानकै समयमा तीनचार खेप पानी ओसार्नुपर्ने भएका कारण सँधैजसो आधा पढाई छुट्ने गरेको जानुको गुनासो छ । अभिभावकहरू विहानैदेखि मेलापातमा व्यस्त हुनाले पनि पानी बोक्न धेरै जसो बालिकालाई नै लगाउने गरेका छन् । उनले भनिन्, ‘मान्छेलाई खानेपानी मात्र ओसार्दा त समय लाग्र्थेन, गाई वस्तुलाई समेत पानी ओसारेर खुवाउनु पर्छ ।’ जानुको महिनाको ३० दिन मध्ये अधिकांश दिन विद्यलाय भन्दा पानी भर्नमा नै वित्ने गर्छ । उनले थपिन्, ‘घरमा खानेपानी देखि गाई वस्तुलाई समेत पानी ओर्सार्नु पर्छ पानी ओर्सादैमा स्कुल जाने समय ढिलो भइसकेको हुन्छ ।’
छाप्रेकै अर्की बालिका कल्पना बुढाको दैनिकी पनि नविना, लक्ष्मी र जानुको भन्दा धेरै फरक छैन । १० वर्षिया कल्पना अहिले कक्षा चारमा पढ्दै छिन् । उनलाई पढाईको चित्ता भन्दा पनि घरमा खानेपानी कतिखेर बोकेर सक्ने हो भन्ने बढी चित्ता लाग्ने गर्छ । विहान भालेको डाकोसंग उनी डेढ घण्टाको ओकालो बाटोबाट पानी लिएर घर आइपुग्छिन् । उनले भनिन्, ‘आधा राती उठेर पानी लिन गए पनि घर आउँदा घाम लागिसकेको हुन्छ ।’ उनी विहान र साझ गरेर दिनमा ६ खेप पानी बोक्छिन् । कल्पना भन्छिन्, ‘म पानी लिएर आउँदा साथीहरु स्कुल गइसकेका हुन्छन्, म तयार भएर स्कुल पुग्दा कहिले त एक घण्टी पढाई भइसकेको हुन्छ ।’ गाउँमा पानीको मुहान नहुँदा कल्पनाको दैनिकी पढाईमा भन्दा धेरै पानी बोक्दैमा वित्ने गर्छ । साझ स्कुलबाट घर फर्केसंग कल्पना फेरी उहि रित्तो गाग्री बोकेर खोला तिरै लाग्छिन् ।
छाप्रेका बालिका मात्र होइन अधिकांश महिलाहरुको पनि दैनिकी अन्य काममा भन्दा पानी बोक्दैमा वित्ने गर्छ । पानीको मुहान टाढा भएको हुँदा अन्य काम छोडेर भए पनि पानी बोक्नु पर्ने बाध्यता रहेको छ । स्थानीय बासी चन्द्रा बुढा भन्छिन्, ‘के गर्नु खानेपानी नभई नहुँने पानी लिन डेढ घण्टा भन्दा बढी लाग्छ दिन त पानी बोक्दैमा जान्छ ।’
नविना, लक्ष्मी, जानु र कल्पना त केवल प्रतिनिधि पात्र मात्र हुन् । सुर्खेत छाप्रे सान्ने गाउँका अधिकांश बालबालिकाको दैनिकी पानी बोक्दैमा वित्ने गर्छ । नजिकै पानीको मुहान नहुँदा सान्ने गाउँ मात्र होइन आसपासका गाउँमा समेत खानेपानीको समस्या विकराल रूपमा देखिन्छ । मान्छेलाई खानेपानी मात्र नभई बालिकाहरु गाई वस्तुलाई समेत खुवाउने पानी घण्टौ समय लगाएर खोलाबाट बोक्ने गर्छन् ।
गाउँमा सडक पुगेको छैन, खानेपानीको चरम अभाव छ, विजुली बत्ती छैन । तर, पनि छाप्रेलाई पञ्चपुरी नगरपालिका बनाइएको छ । छाप्रेका बासिन्दालाई आफ्नो नगर पालिका कार्यालयमा आउनै एक दिन भरी लाग्छ । स्थानीय चन्द्रा विसी भन्छिन्, ‘बाटो, विजुली खानेपानी, स्वास्थ्य, विद्यालय लगायत भौतिक पूर्वाधारको विकास नै छैन तर, नगरपालिकामा बनाइएको छ, हामीलाई कर मात्र धेरै तिर्नु पर्छ सेवा सुविधा केहि छैन ।’ विकासको हिसावले हेर्ने हो भने छाप्रे सुर्खेत जिल्लाको सबै भन्दा विकट ठाउँ हो । स्थानीय बासिन्दाहरू अबको जनप्रतिनिधिले आफ्नो गाउँको विकास गर्छन् भन्ने विश्वासमा छन् । उनीहरू नवनिवार्चित जनप्रतिनिधिले आफ्नो गाउँमा सडक, विजुली, स्वास्थ्य, खानेपानी, विद्यालय लगायतको भौतिक विकासका लागि पहल गर्नुपर्ने बताउँछन् ।

नारीजागरणा अनलाइृन वाट साभार ।




सम्बन्धित समाचार


error: Content is protected !!