अनुदान रोकिँदा पठनपाठन प्रभावित पीसीएफ रकम कटौतीले २ सय विद्यालयका २ सय २७ शिक्षक बेरोजगार

जाजरकाेट ‍ शिक्षा विभागले चालु वर्षमा प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कटौती गर्दा २५ हजार विद्यार्थीको पठनपाठन अन्योलमा परेको छ ।
प्राथमिकदेखि माध्यमिक तह सञ्चालन गरेका विद्यालयले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । शैक्षिक सत्र ०७३/७४ मा जाजरकोटका २ सय २७ विद्यालयका २ सय ५० शिक्षकका लागि निकासा हुने उक्त रकम निकासा नहँुदा पठनपाठन प्रभावित बनेको हो । विभागले चालु वर्षमा २७ माध्यमिक, १ सय ४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको हो । स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा विद्यार्थीको पढाइ अलपत्र परेको शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।
विगत शैक्षिक सत्रमा पीसीएफ शीर्षकमा निकासा हुने रकमबाटै पारिश्रमिक खाने गरी विभिन्न तहमा शिक्षक नियुक्त भएका थिए । उनीहरूकै भरमा विद्यालयको पठनपाठन चल्दै आएको थियो । ‘रकम नै कटौती भएपछि बिनापारिश्रमिक शिक्षकले पढाउने कुरा भएन । यही कारण विद्यार्थीको पढाइ प्रभावित भयो,’ जिशिअ सिंहले भने ।
विद्यालयहरू शिक्षकविहीन बन्न पुगेको उनले बताए । अनुदान कटौती हँुदा १० वर्षअघि नियुक्त शिक्षक बेरोजगार बनेका छन् । ‘जिल्लाका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव छ । निजी शिक्षकको भरमा मात्र विद्यालयमा गुणस्तरीय पठनपाठन असम्भव छ,’ उनले भने । पीसीएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकायले बताए । पीसीएफकै भर विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताए ।
‘विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन्,’ उनले भने । ९ वर्षदेखि शिक्षण सेवा गर्दै आएकालाई खाली हात घर फर्काउनुपरेको उनले सनाए । ‘शिक्षाबाट गत आवसम्म पीसीएफ शीर्षकमा ३ लाख निकासा आउँथ्यो । त्यही रकमले मावि तहको पठनपाठन सुचारु गर्ने शिक्षक राखेका थियौं,’ उनले भने । विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि ३ लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो । गत आव पीसीएफ शीर्षकमा २ करोड ४४ लाख निकासा आएकोमा चालु वर्षमा शून्य भएको सिंहले बताए ।
जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४ सय ३५ विद्यालयमा ७ सय शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ । आर्थिक स्रोत अभावमा विद्यालय बन्द वा मर्च गर्नुको विकल्प नभएको शिक्षा अधिकारी बताउ‘छन् । शिक्षक दरबन्दी अभावमा जिल्लाको शैक्षिक गुणस्तर पनि खस्किएको छ ।





error: Content is protected !!