शिक्षामन्त्री कति सफल ?

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको उपलब्धि फेहरिस्त लगाउँदै गौरवसाथ पदबाट राजीनामा दिएका बेला उहाँकै मन्त्री–मण्डलका एक सदस्य शिक्षामन्त्री धनीराम पौडेल भने ‘अक्षम’को पगरी भिरेर सिंहदरबारबाट विदा हुनुपर्ने अवस्था आएको छ ।
सरकार कामचलाऊ भएसँगैै शिक्षा नियमावली मात्रै अलपत्र परेको छैन, विद्यालय कर्मचारीको व्यवस्थापन र इसिडीका बाल शिक्षकको व्यवस्थापन समेत अनिश्चित बनेको छ ।
शिक्षा नियमावली निर्माणको प्रक्रिया जारी रहेका बेला सरकार कामचलाऊ भएपछि यसको मार शिक्षा क्षेत्रले भोग्नु परेको छ । साथै, नियमावली नआउँदा वर्षौंदेखि अस्थायी रहेका शिक्षक, विद्यालय कर्मचारी र बालविकासका बालशिक्षक व्यवस्थापन फेरि अन्योलमा परेको छ । अब शिक्षा नियमावली जारी हुने सम्भावनासमेत क्षीण बनेको छ ।
शिक्षामन्त्रीलाई झस्कइरहने नियमावली र टेकनाथ
शिक्षामन्त्री पौडेलले आफ्नो कार्यकालमा केही गन्न सकिने राम्रा काम गरेका भएपनि उनमा नियमावली ल्याउन नसकेको विषयले ‘अक्षम’को दाग बसेको छ । शिक्षामन्त्री पौडेलकै अक्षमताका कारण शिक्षा नियमावली पारित हुन नसकेको आरोप लाग्दै आएको छ ।
माओवादीका नेता एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफू मन्त्री छँदा शिक्षा ऐनको आठौं संशोधन पारित गर्न जति सक्रियता देखाउनुभयो, नियमावली पारित गराउन शिक्षामन्त्री पौडेलले आवश्यक कदम चाल्न नसकेको आरोप उहाँमाथि लाग्दै आएको थियो ।

अर्थ र कानून मन्त्रालयबाट स्वीकृत हुँदै मन्त्रिपरिषद् बैठकमा पुगिसकेको नियमावली संघीय संरचना सुहाउँदो नभएको भन्दै मुख्य सचिव सोमलाल सुवेदीले टेवुल नगरेपछि मन्त्री पौडेल र सुवेदीबीचको विवाद सार्वजनिक रुपमै छताछुल्ल भएको थियो । त्यो विवाद पछि गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् अन्तर्गतकै सामाजिक समितिमा नियमावली पठाइएको थियो । प्रधानमन्त्री कार्यालयका कानून हेर्ने सचिवको संयोजकत्वमा शिक्षा, अर्थ, कानून र संघीय मामिला मन्त्रालयका सचिवहरु सम्मिलित उपसमितिको रायका आधारमा नियमावली अहिले फेरि मन्त्रिपरिषद् अन्तर्गतकै विधेयक समितिमा पुगेको छ । तर, पारित हुने छाँट अझै देखिएको छैन ।
त्यस्तै, साढे छत्तिस वर्ष अस्थायी शिक्षकको रुपमा पढाएर दुई वर्ष अगाडि उमेर हदका कारण खाली हात अनिवार्य अवकाश पाएका कास्कीका शिक्षक टेकनाथ गौतमलाई सुविधा दिन नसकेको कलंकसमेत शिक्षामन्त्री पौडेललाई लागेको छ । जीवनभर यी दुई घटनाले आफूलाई झस्काइरहने शिक्षमन्त्री पौडेलले आफै बताउनुभएको थियो । मन्त्रालयमै टेकनाथ गौतमसँगको भेटमा शिक्षामन्त्री पौडेलले अस्थायी शिक्षकको व्यवस्थापन सकेसँगै गौतम जस्ता शिक्षकहरुका लागि विशेष व्यवस्था गर्ने तयारी भएको भएपनि अस्थयी शिक्षकको व्यवस्थापन प्रक्रियामा ढिलाइ हुँदा त्यो गर्न नसकेको बताउनुभएको थियो । ‘मलाई जीवनभरी यही विषयले थकथकी लागिरहनेछ,’ उहाँले भन्नुभएको थियो । टेकनाथ गौतम जस्तै झण्डै एक हजार अस्थायी शिक्षकहरु उमेर हदका कारण खाली हात विदा भइसकेका छन् ।
शिक्षामन्त्री पौडेलको कार्यकाल असफल नै हो त ?
शिक्षामन्त्री पौडेलले आफ्नो कार्यकालमा शिक्षामा धेरे काम नगर्नुभएको भने होइन । उहाँको कार्यकालमा खुला विश्वविद्यालय ऐन पारित हुनु, लामो समय अड्किरहेको अस्थायी शिक्षकको व्यवस्थापनका लागि शिक्षक विज्ञापन गरिनु, शिक्षा ऐन कार्यान्वयनमा लैजानु, कक्षा ३ सम्म रंगीन पाठ्यपुस्तक लागू गर्नु, एसइइ र एसएलसी परीक्षा सम्पन्न गरिनु, निजी विद्यालयको बढेको शुल्क घटाउने, शिक्षामा प्रविधिको प्रयोग विस्तार गर्दै भर्चुअल कक्षाको शुरुवात, पाठ्यपुस्तकको एप निर्माण गर्नुलगायतका काम भए ।
उपर्युक्त काम खास नभएर नियमित किसिमकै हुन् । ऐनअनुसार विद्यालयको तहगत पुनर्संरचना भयो । केही वर्ष अघि लागू भएको नयाँ वर्णविन्यासको निर्णय उल्टाउने कामचाहिँ उहाँको कार्यकालको एउटा महत्वपूर्ण उपलब्धि हो भन्दा अत्युक्ति हुन्न ।
तर, उच्चस्तरीय शिक्षा आयोग गठन र नियमावली पारित गर्न नसक्नु उहाँको कमजोरी देखिन्छ । लामो समय अस्थायी सेवा गरेका शिक्षकहरु खाली हात विदा भएपनि उनीहरुका लागि केही गर्न नसक्नु शिक्षामन्त्री पौडेलको कमजोरी रह्यो । उहाँले गरेका राम्रै कामलाई पनि यी कमजोरीले पूरै ढाकेको छ ।







