१४ स्वास्थ्य संस्थामा सौर्य ऊर्जा खानेपानी र सरसफाइमा पनि सुधार गरिने

, रुकुम , स्वास्थ्य संस्थामा सौर्य ऊर्जा र खानेपानी तथा सरसफाइको सुधार गरिने भएको छ । बिजुली, खानेपानीको पर्याप्त व्यवस्था नभएका स्वास्थ्य केन्द्रमा यस्तो तयारी गरिएको जिल्ला स्वास्थ्यले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र जीसीले प्रसूतिगृह सञ्चालन गरिरहेका र खानेपानी असुविधा बेहोरिरहेका १४ स्वास्थ्य संस्थामा काम गर्नेगरी योजना बनाइरहेको बताए । उनका अनुसार बिजुली, खानेपानी र सरसफाइ कार्यक्रमका लागि पहिलो चरणमा २० स्वास्थ्य संस्था छनौट गरिएको छ । पहिलो चरणको सूचीमा २० स्वास्थ्य केन्द्रमध्ये १४ मा मात्रै कार्यक्रम लागू गरिने बताइएको छ ।
‘ती संस्थाको सूची पनि तयार पारिएको छ,’ डा. जीसीले भने, ‘२० मध्ये पनि मसिनो अध्ययनपछि १४ को उक्त कार्यक्रम सुरु गरिनेछ ।’ स्वास्थ्य सेवाको गुणस्तर र सरसफाइ व्यवहारमा सुधार गर्ने मुख्य उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएको हो । जिल्ला अस्पताल, आफ्नै भवन नभएका, भवन बनाउने तयारीमा रहेका स्वास्थ्य संस्थालाई यस कार्यक्रममा समावेश गरिएको छैन ।
उक्त कार्यक्रमअन्तर्गत छनोट भएकामा प्रसूतिका लागि आवश्यक ताप तथा २४ सै घण्टा बत्तीको व्यवस्था गरिने छ । स्वास्थ्य केन्द्रमा बिजुली बाल्न सम्भव भएसम्म साना लघु जलविद्युत् आयोजना निर्माण वा सौर्य ऊर्जा जडान गरिने छ । स्वास्थ्य चौकीमा जडान गरिने साना जलविद्युत वा सौर्य ऊर्जाले स्वास्थ्य केन्द्रमा रहेका सम्पूर्ण मेडिकल मेसिन चल्ने गरी योजना गरिने छ । त्यसबाट विद्युतीय मेडिकल सामग्रीको सदुपयोग गरिनुका साथै सुत्केरी तथा बच्चालाई ताप दिन र पानी तान्न प्रयोग गरिने छ । त्यसैगरी २४ सै घण्टा खानेपानी आपूर्ति व्यवस्था, व्यवस्थित धारा पनि निर्माण गरिनेछ । ‘कतिपय स्वास्थ्य केन्द्रमा पानी नै छैन भएकामा पनि व्यवस्थित नहुँदा समस्या छ, त्यसैलाई व्यवस्थित गर्न खोजिएको हो,’ डा. जीसीले भने ।
स्वास्थ्य केन्द्रमा नभई नहुने बिजुली र खानेपानीको २४ सै घण्टा सहज आपूर्ति र सरसफाइ प्रवद्र्धन गर्न यूएसएआईडीको सहयोगमा एसएनभीको स्वच्छता परियोजनाले सहयोग गर्न लागेको हो । रुकुमसहित ६ नम्वर प्रदेशका ५ जिल्लाका ८० स्वास्थ्य केन्द्रमा उक्त कार्यक्रम गरिने छ । सरसफाइलाई स्वास्थ्य सेवामा सम्मिलित गरी समुदायको स्वास्थ्य अवस्थामा सुधार गर्न स्वास्थ्य केन्द्रहरूमा स्वच्छता परियोजनाले काम गर्ने कार्यक्रम अधिकृत बमबहाुदर खडकाले बताए ।







