अमेरिका–साउदी अरबबिच सबैभन्दा ठूलो हतियार सम्झौता

आफ्नो पहिलो विदेश भ्रमणको क्रममा साउदी अरब पुगेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरब र अमेरिकाबिच ३ सय ५० अर्ब डलरको सम्झौता भएको जानकारी दिएका छन् ।

दुबै देशबिच १ सय १० अर्ब डलरको हतियारको पनि सम्झौता पनि भएको छ जुन ह्वाइट हाउसका अनुसार अमेरिकाको अहिलेसम्मको सबैभन्दा ठूलो हतियार सम्झौता हो ।

ट्रम्प यस्तो समयमा आठ दिवसीय विदेश भ्रमणमा निस्किएका छन् जब अमेरिकामा एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट हटाएपछि उनको चौतर्फी विरोध भइरहेको छ ।

ट्रम्प आफ्नो यो भ्रमणमा इजराइल, प्यालेस्टाइन क्षेत्र, भ्याटिकन सिटी र सिसली पनि जानेछन् ।

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनका अनुसार साउदी अरबसँग भएको हतियार सम्झौता ‘इरानको दुष्प्रभाव’ लाई जवाफ दिनका लागि हो ।

रियादमा आयोजित एक पत्रकार सम्मलेनमा टिलरसनले भने, ‘रक्षा प्रणाली र सेवाको यो प्याकेज साउदी अरब र समस्त खाडी क्षेत्रको दीर्घकालीन सुरक्षालाई बलियो बनाउनेछ ।’

ट्रम्पसँग उनकी छोरी इवांका र ज्वाई जेरेड कुशनर पनि छन् । इवांका तलब बिना नै ह्वाइट हाउसमा सल्लाहकारको रुपमा काम गरिरहेकी छिन् भने कुशनर ट्रम्प प्रशासनको महत्वपूर्ण सदस्य हुन् ।

बेलायती प्रधानमन्त्री टेरिजा मे र जर्मन चांसलर एंगेला मार्केलजस्तै इभांका पनि टाउको नढाकी साउदी अरब पुगेकी छिन् । यद्यपी, जनवरी सन् २०१५ मा जब मिशेल ओबामाले टाउको नढाकी साउदी अरब गएकी थिइन् तब ट्रम्पले यस्तो गरेको भनी खुबै आलोचना गरेका थिए ।

ट्रम्प अरब इस्लामी अमेरिकी शिखर सम्मलेनमा हिस्सा पनि लिनेछन् र इस्लामबारे आफ्नो विचार राख्नेछन् । उनले ‘इस्लामको शान्तिपूर्ण दर्शन’ लाई विषय बनाएर आफ्नो धारणा प्रस्तुत गर्ने बुझिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!