चीनले २० अमेरिकी जासूसलाई मारिदियो वा कैद गर्योः न्यूयोर्क टाइम्स

जेठ ७ – चीनले सन् २०१० देखि २०१२ को बिचमा अमेरिकाका १८ देखि २० जासूसको कि त हत्या गर्यो कि पक्राउ गर्यो भन्ने दाबीसहितको रिपोर्ट द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको छ ।
रिपोर्टका अनुसार यसले चीनमा अमेरिकी जासूसी कार्यक्रम नराम्रोसँग प्रभावित भएको थियो ।
अमेरिकी अधिकारीले उक्त घटना ‘अमेरिकी सुरक्षासँग पछिल्लो दशकको सबैभन्दा ठूलो खेलबाड’ भएको भनी पत्रिकालाई बताएका छन् ।
कसैले चीनले सिआइएको गोप्य सन्देशको सिस्टम ह्याक गरेको भनी दाबी गरेका छन् भने केही अन्यले केही आन्तरिक सदस्यले नै सन् २०१० मा चीनलाई जासूसबारे जानकारी दिएको बताएका छन् ।
द न्यूयोर्क टाइम्सले सिआईका चार पूर्व अधिकारीसँग कुराकानी गर्दै उक्त रिपोर्ट प्रकाशित गरेको छ ।
चिन्तित गराउने तस्बिरः
चीनमा अमेरिकी गुप्तचर सेवा सिआईएका जासूस सन् २०११ देखि गायब हुन सुरु गरेका थिए । अमेरिकाका एक जासूसलाई त उनकै सहकर्मीको अगाडि सरकारी भवनमा गोली हानेर हत्या गरिएको थियो ।
सिआइएले अहिलेसम्म यो रिपोर्टमा कुनै टिप्पणी गरेको छैन ।
यो खबरमा काम गर्ने न्यूयोर्क टाइम्सका पत्रकार म्याट अपुज्जोले बीबीसीलाई भने, ‘सबैभन्दा चिन्ताको कुरा यो हो कि हामीलाई अहिलेसम्म पनि थाहा हुन सकेको छैन कि यी एजेन्टमाथि के भएको छ ? ’
उनी थप्छन्, ‘अमेरिकी सरकारभित्र यस विषयमा भिन्न भिन्न धारणा छ ।’







