शोकाकुल आफन्तले शव बुझे ‘चालकको लापरबाही, थोत्रो बसमा क्षमताभन्दा बढी यात्रु र तीव्र गतिले दुर्घटना

जाजरकोट । बस दुर्घटनामा बिहीबार २६ जनाको ज्यान गएपछि पूरै जिल्ला शोकमा डुबेको छ । सदरमुकाम खलंगा तथा मृतकका गाउँमा आफन्तको रुवावासी छ । घटनालगत्तै आफन्तको अवस्था बुझ्न अस्पताल आइपुगेकाहरूले २४ घण्टा रोएरै बिताए । जिल्लास्थित राजनीतिक दल र संघसंस्थाले शोकमा वक्तव्य जारी गरेका छन् ।
मृतक २६ जनाकै सनाखत भइसकेको छ । बस भेरीमालिका नगरपालिका–४ बोहरागाउँनजिकै भीरबाट बसेको थियो । घाइतेमध्ये गम्भीर अवस्थाका ३० जनाको नेपालगन्ज मेडिकल कलेज र अन्य ६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते १७ लाई नेपाली सेनाको हेलिकप्टरद्वारा बिहीबार राति १२ बजे, ५ जनालाई गाडीमार्फत र अन्य ८ लाई रुकुमको चौरजहारी अस्पतालमा प्राथमिक उपचारपछि शुक्रबार हेलिकप्टरद्वारा नेपालगन्ज लगिएको हो ।
९ जनाको घटनास्थलमै, १५ को जाजरकोट अस्पताल, १ को चौरजहारी अस्पताल र अर्का एकको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । दुर्घटनाग्रस्त बसमा ६२ बढी यात्रु सवार रहेको उनले जानकारी दिए । बस क्षतविक्षत अवस्थामा छ ।
जाजरकोट अस्पतालमा परीक्षणपछि आफन्तले शुक्रबारै शव बुझेका छन् । त्यसअघि उनीहरूले उचित क्षतिपूर्ति, घाइतेको निस्शुल्क उपचार, जाजरकोटबाट थोत्रा गाडी हटाउने निश्चय नभएसम्म शव नबुझ्ने भन्दै सदरमुकाम खलंगामा विरोध गरेका थिए । शव दिनभर अस्पतालको आँगनमा पालले छोपेर राखिएको थियो । पीडितले जिल्ला प्रशासनमा पनि प्रदर्शन गरे । समस्या समाधानका लागि पूर्वगृहमन्त्री शक्तिबहादुुर बस्नेत, सांसद रीता रावल, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रजिअ र पीडित पक्षसहितको बैठक बसेको थियो । बैठकमा मृतकका आफन्तलाई तत्काल किरिया खर्चबापत १ लाख रुपैयाँ, बिमाबापत ५ लाख र घाइतेलाई १ लाखसम्म उपचार खर्च उपलब्ध गराउने सहमति भएपछि शव बुझेको प्रजिअ कृष्णचन्द्र पौडेलले जानकारी दिए ।
सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रु बस छिन्चु–जाजरकोट सडकको बोहरागाउँ धनगारे डाँडा मोडबाट २ सय मिटर तल पासागाड खोला किनारमा खसेको थियो । खलंगाबाट बिहीबार बेलुकी ४ बजे साल्माको खारा बजारका लागि भेरीगंगा यातायात व्यवसायी समितिले उक्त बस छुटाएको थियो । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा छ । घटनामा भेरीमालिका नगरपालिकाकै १० जनाको मृत्यु भएको छ ।
क्षमताभन्दा बढी यात्रु राखेर ओह्रालो र घुम्ती सडकमा बस गुडाउनु दुर्घटनाको प्रमुख कारण भएको प्रनाउ रिमालले बताए । ‘चालकको लापरबाहीले दुर्घटना भएको देखिन्छ,’ उनले भने । यसअघि २०७० सालमा छिन्चु–जाजरकोट खण्डको रावतगाउँ नजिकै भेरी नदीमा बस खस्दा पनि ५४ जनाको ज्यान गएको थियो ।
धन्न जोगिएँ
गोविन्द गिरी
पजारू–७ डाँडागाउँ
यात्रु खचाखच थिए । खुट्टा टेक्ने ठाउँसमेत थिएन । ट्राफिक चेक प्वाइन्टमै यात्रु खचाखच चढेका हुन् । म पनि घरतर्फ जान गाडी चढें । क्याबिनको सिटमा बसेको थिएँ । गति तीव्र थियो । मोडमा सीधै अगाडि गयो । एकै पटक भीरको बीचमा खसेको आवाज आयो । म कहाँ खसें, थाहा भएन । खुला सडकमा आएको एकछिनपछि मात्र थाहा पाएँ । शरीरमा कुनै पनि चोटपटक लागेको रहेनछ ।
ड्राइभरले मोड्नै सकेन
वीनाकुमारी खत्री, कार्कीगाउँ–३
क्याबिनको सिटमा बसेकी थिएँ । ड्राइभरले मोडमा गाडी किन मोडेन, कता लैजान लाग्यो भन्ने सोचें । पुरानो गाडी तीव्र गतिमा गुडेको थियो । ओभरलोड यात्रु र तीव्र गतिले गर्दा ड्राइभरले मोड्न नसकेपछि बस २ सय मिटर तल पासागाड किनारमा खस्यो । म कसरी फुत्कें थाहा भएन । खासै चोटपटक लागेको छैन ।
भीरमा मृतक र घाइते छरपस्ट परेका थिए । १५ मिनेटपछि प्रहरी र नेपाली सेना पुगे । यति ठूलो दुर्घटनामा बचेकोमा दोस्रो जन्म पाएजस्तो लागेको छ ।
हलियको पैसाले खायो श्रीमती
वषौ देखी अर्काको हलिया वस्दै जीवन विताएका कुले तिरुवा एउटा महान सपना वुनेर हलियाको रकम लिन सदरमुकाम आएका थिए । सरकारले उपलव्ध गराएको रु ३ लाख ३० हजार रुपैया वुझेर नावालक छोरा सहित श्रीमती लालसरी तिरुवा लाई विहिवार ४ वजे टिकट काटी कुले मजकोट घरमा जाँन गाडीमा चढे । उनी उनी चढेको १५ मिनेट नवित्दै सदरमुकाम नजिकै रहेको वोहराको घुमाउरोमा घुम्न नसकी एक्कासी एकै पटक पासागाड खोलामा पुग्यो ।
श्रीमती ,छोरा र आफु एउटै सिटमा वसेर पैसा लिएर जग्गा किनेर घर वनाई वस्ने सल्लाह वाटोमा हुँदै गर्दा कुरा नसकिदै एक्कासी भिरवाट गाडी झरेको उनी भेरीअस्पताल नेपालगन्जको वेडवाट सुनाउँछन् । गाडीमा खचाखच यात्रुहरु रहेको उनी वताउँछन् । किलाकोच भएपनि कति खेर घर पुगेर घर निर्माणको लागि साहुलाई पैसा वुझाउने होला भनी मनमा आतुर लागेको उनी थप्छन् । सवै सपना हुँरीले उडायो । कहिले पनि मेरो भाग्यमा आफ्नो घरमा वस्न लेखेको रहेन्छ , श्रीमती गुमाए , छोरा कहाँ छ थाह छैन उनी वेडमा भकानिदै भन्छन् । मजकोट गाविस वाट मात्र ७ जना भन्दा वढी हलियाको रकम वुझन आएका हलिया घाईते तथा मृत्यू भएको छ । न पैसा रह्यो न आफन्त रहे म पनि मर्न चाहन्छु कुलेले भने । आफन्त गुमाएका पिडितले समग्र यातायातको अवस्था सुधार हुनुपर्ने र लास घर सम्म लिने व्यवस्था गरिनुपर्ने ,क्षेतिपुर्ती तथा मृतकका छोराछोरीलाई लालनपालन ,शिक्षा लगाएतका कुराको व्यवस्था गर्नुपर्ने लगाएतका माग राखेर जिल्ला प्रशाषण कार्यालयमा धर्ना दिएका छन् ।
घाईतेको सम्पुर्ण उपचार खर्च राज्यले वेहोनु पर्ने लगाएतका माग समेत राखेका छन् । आज यहाँको प्रशाषण कार्यालयमा वसेको सर्वदलिय वैठकले तत्काल किरिया खर्च वार्फत प्रतिव्यक्ति रु २५ हजार , अन्य खर्चका लागि १ लाख रुपैया उपलव्ध गराउने वारेमा भेरी गंगावस व्यवसायिक समिति सहमत भएको प्रमूख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले वताए । त्यस्तै उच्च स्तरिय छानमिन समिति गठन गर्न आज नै गृहमन्त्रालयमा अनुरोध गरिएको छ । २६ जनाको मृत्यू र ३५ जना घाईते भएको प्रहरीले वताएको छ ।










