कञ्चनपुरमा भारतीय प्रहरीले चलाएको गोली लागि एक नेपालीको मृत्यु, स्थिति तनावपूर्ण

कञ्चनपुर . कल्भर्ट निर्माणका विषयलाई लिएर भारतीय पक्षले गोली चलाउँदा कञ्चनपुरको पुनर्वासमा एकजना नेपालीको मृत्यु छ ।
पुनर्वास नगरपालिका वडा नं ८ कारगिल डाँडा नजिक कल्र्भट निर्माणको विषयलाई लिएर भएको तनावपछि भारतको सम्पूर्णानगर थानाका प्रहरी निरीक्षकले चलाएको गोलीले स्थानीय गोविन्द गौतमको ज्यान गएको हो । २ सय नम्बर पिलर हराएकोले त्यो क्षेत्रमा लामो समय देखि विवाद चल्दै आएको छ ।
बिहीबार बिहान १० बजेतिर नालामा निर्माण भएको कल्भर्टमा माटो भरान गर्दा भारतीय सिमातिर बढी माटो खनिएको आरोपमा सीमा सुरक्षा बल ९एसएसबी० र स्थानीयले कल्भर्ट भत्काउन खोजेपछि तनाव बढ्दै गएको स्थानीयले बताएका छन् ।
‘भारतीय एसएसबी र सिमा पारी बसहीका बासिन्दाले कल्भर्ट भत्काउन खोज्दा नेपाली पक्षले प्रतिकारमा नाराबाजी गरेको हो,’ स्थानीय बासिन्दा दिपेन्द्र क्षेत्रीले भने, ‘सीमा सुरक्षा बलले डेढ दर्जन राउण्ड बढी हवाइ फायर गरेपछि स्थिति तनावपूर्ण भएको हो ।’
दुवै तर्फबाट नाराबाजी भइरहँदा भारतीय सीमानामा रहेको सम्पूर्णानगर प्रहरी थानाका प्रहरी निरीक्षकले आफ्नै पेस्तोलबाट चलाएको गोली लागेर गौतमको मृत्यु भएको हो । घाइते गौतमलाई उपचारका लागि धनगढीको सिपी अस्पताल पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
‘सम्भवतस् बाटैमा ज्यान गइसकेको हुनुपर्छ,’ अस्पतालका प्रमुख डा। सिपी पाण्डेयले भने ।










