इन्टरपोल सम्मेलन आतंकवादविरुद्ध संयुक्त लड्ने प्रतिबद्धता

काठमाडौं, पाँचबुँदे निर्णय गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ एसिया क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलनले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने प्रतिबद्धता गरेको छ । सम्मेलनबाट नेपाललाई पनि अन्तरदेशीय अपराध अनुसन्धानमा सहजता प्रदान गरेको नेपाल प्रहरीले जनाएको छ ।
सम्मेलनले सन् २०१७ देखि २०२० को रणनीतिक प्राथमिकताका विषय तय गरेको छ । एसियाली क्षेत्रमा संवेदनशील समुदायको सहयोगलाई एकीकृत कार्य सञ्चालन गर्ने, आतंकवादी संगठनविरुद्ध प्रहरीको समन्वय बलियो बनाउने, इन्टरपोलको एसियाली क्षेत्रमा विश्व साइबर अपराधविरुद्धको रणनीतिक कार्ययोजनाको प्राथमिकता राख्ने र योजना र अन्तरमहादेशीय वातावरणीय अपराधको विश्लेषण तथा कारबाही गर्ने योजना रहेका छन् । सम्मेलनको अध्यक्षता गरेका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माका अनुसार रेडकर्नर नोटिस अन्य क्षेत्रको तुलनामा एसियामा कम प्रभावकारी भएकाले रेडकर्नर नोटिसलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । सूचना र अनुभवको अप्रेसनले सम्मेलनमा सबै देशलाई फाइदा भएको इन्टरपोलले जनाएको छ । त्यस्तै विभिन्न देशका प्रहरीसँगको सम्बन्ध विस्तारले अपराध अनुसन्धानमा सहजता बढेको एआइजी शर्माले बताए ।
आतंकवाद नियन्त्रण प्राथमिकतामा सम्मेलनमा आतंकवादको चुनौती नियन्त्रणका विषयमा गम्भीरताका साथ छलफल भएको एआइजी विज्ञानराज शर्माले बताए । खासगरी इस्लामिक स्टेट (आइएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाको प्रमुख सुरक्षा चुनौती भएको इन्टरपोलले जनाएको छ । मध्यपूर्वका देशहरूबाट उनीहरू बारिहिँदै जाने र एसियाका अन्य देशमा बसेर आतंकवादसम्बन्धी गतिविधि गर्न सक्नेबारे सम्मेलनमा सहभागी विभिन्न देशका अधिकारीले चिन्ता व्यक्त गरेका थिए । विश्वमा बढ्दै गएको आतंकवादको चुनौतीबाट नेपाल पनि ढुक्क हुन सक्ने अवस्था रहेको सम्मेलनपछिको समापनपछि आयोजित पत्रकार सम्मेलनमा एआइजी शर्माले बताए । आतंकवादविरुद्ध सूचना आदानप्रदान गरी आतंकवादविरुद्ध लड्नेबारेमा गम्भीरताका साथ छलफल भएको उनले बताए । सम्मेलनमा आइजिपी उपेन्द्रकान्त अर्यालले मानव बेचबिखन, डिआइजी नवराज सिलवालले वन्यजन्तु अपराध तथा डिआइजी बमबहादुर भण्डारीले आतंकवादविरुद्ध नेपालले गरेको कारबाही र समस्याबारे कार्यपत्र पेस गरेका थिए । आइजिपी अर्यालले मानवतस्करी रोक्न अन्तर्राष्ट्रिय संयन्त्र प्रस्ताव गरे पनि त्यसलाई सम्मेलनले प्राथमिकता दिएन ।
इन्टरपोलसँग अन्तर्राष्ट्रिय आपराधिक समूहबारे धेरै डाटाहरू रहे पनि त्यसलाई धेरै देशले सदुपयोग नगरेको इन्टरपोलका अधिकारीले बताएका थिए । ‘इन्टरपोलबाट संगठित अपराधविरुद्ध महत्वपूर्ण भूमिका’ उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले इन्टरपोल विश्वकै कानुन कार्यान्वयन गर्ने इकाइहरूको संगठन भएको कारण अन्तरदेशीय तथा संगठित अपराधहरूको विरुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । अपराधविरुद्ध गरिएको छलफल र निर्णयबाट अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने र यसका लागि नेपाल सरकार गृह मन्त्रालय सहयोगी भूमिका निर्वाह गर्न सदैव अग्रसर रहेको उनको भनाइ थियो । सम्मेलनको मार्गनिर्देशनअनुरूप इन्टरपोलका सदस्य राष्ट्रहरू ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने उनको जोड थियो । समारोहमा इन्टरपोलका महासचिव जुगर्नेन स्टोकले एसियाली मुलुकको सम्बन्ध ज्यादै पुरानो भएको बताउँदै आतंकवाद, संगठित अपराध, वातावरणीय सुरक्षा, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणलगायतका अपराध न्यूनीकरणमा प्रभावकारी समन्वयको विकास गर्नुपर्ने बताए । सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाल प्रहरीलाई उनले धन्यवाद दिए ।
कार्यक्रममा गृहसचिव लोकदर्शन रेग्मीले नेपालमा अपराध गरेर धेरै अपराधी विदेशमा गएर लुकेको बताउँदै उनीहरूलाई पक्राउ गर्न इन्टरपोलले सहयोग गर्ने आफूहरूले अपेक्षा रहेको बताएका थिए । आइजिपी उपेन्द्रकान्त अर्यालले आतंकवादबाट कुनै पनि देश अछुतो रहन नसक्ने चर्चा गर्दै उनले एक–आपसमा हुने उत्कृष्ट सहयोग, समन्वय र सहकार्यबाट मात्रै त्यस्ता अपराधको सहजतापूर्वक सामना गर्न सकिने बताए । बुधबारदेखि सुरु भएको सम्मेलनमा ३३ राष्ट्रका प्रहरीप्रमुखलगायत एक सय ६६ प्रतिनिधिको सहभागिता थियो । सन् १९६७ मा जापानमा सम्पन्न इन्टरपोलको ३७औँ महासभाबाट नेपालले इन्टरपोलको १००औँ सदस्य राष्ट्रको रूपमा मान्यता पाएको थियो । नेपालले २७ वर्षअघि ०४५ सालमा १०औँ क्षेत्रीय सम्मेलन आयोजना गर्ने मौका पाएको थियो ।
२७ वर्षपछि नेपालले २३औँ सम्मेलनको आयोजना गरेको हो । हरेक दुई वर्षमा हुने यस्तो सम्मेलन अर्काे वर्ष इरानमा हुने निर्णयसमेत सम्मेलनले गरेको छ । तस्बिर:रासस










