एक डोल्पाली युवाको कथा

dolpa-660x330

सदरमुकाम दुनैस्थित भेरी नदी पारी रहेको हरियाली सामुदायिक वनमा लगाइएका बोटविरुवामा पानी हाल्ने काममा एक युवा तल्लीन देखिन्छन् । बिहानै निस्किन्छन्, दिनभर विरुवामा पानी लगाउँछन्, साँझपख सडक पेटीमा फर्किन्छन् । यसरी नै उनको दिनचर्या बितिरहेको छ । ती युवा हुन्, सदरमुकाम दुनैका विमल भारती । उनले पाँच वर्षसम्म स्मरणशक्ति गुमाउनुपरेको थियो । तर, नागरिक समाजको अगुवाइमा उपचार गराइएपछि उनलाई निको भएको छ । ६ महिना अघिसम्म बेवारिसे रूपमा सदरमुकामको गल्ली—गल्ली चहार्दै हिँड्ने भारती पुनः सामान्य अवस्थामा फर्केपछि उनलाई चिन्ने जान्नेहरू सबै दंग परेका छन् ।

बाटोघाटोमा मान्छेलाई धम्क्याउँदै, सफा, फोहोर केही नजान्ने, यतिसम्मकी अन्तिम अवस्थामा दिसा–पिसाबसमेत खाएको पत्तो नपाउने भारतीले ६ महिनाअघिसम्म नारकीय जीवन व्यतीत गरिरहेका थिए । अहिले उनको जीवनमा एकाएक परिवर्तन आएको छ । उनले नयाँ जीवन पाएका छन् । २९ वर्षीय उनी जुम्ला जिल्ला चन्दनाथ गाविस वडा नं ६ स्थायी घर भई विगत ३० वर्षदेखि बुवा–आमा र भाइसँग दुनै गाविसको वडा नं १ मा बस्दै आएका थिए । भारती परिवारको पहिलो सन्तानका रूपमा रहेका उनले विगत पाँच वर्षदेखि मानसिक सन्तुलन गुमाएका थिए । आइएड पास गरेर डोल्पामा सक्रिय युवाका रूपमा भोलिको सफल भविष्य खोजिरहेका उनलाई एकाएक विपत्ति आइपर्‍यो ।घटना पाँच वर्षअघिको हो । जुम्ला सदरमुकाम खलंगामा स्थानीय केटाहरूसँग उनको झगडा पर्‍यो । झडपमा केटाहरूको कुटपिटबाट उनले मानसिक सन्तुलन गुमाए । भाइको नागरिकता बनाउन गएका वेला एअरपोर्ट साइडमा झगडा भएर यस्तो भएको थियो । आर्थिक अभावका कारण पाँच वर्षसम्म उपचार नपाएर भौतारिनुपर्‍यो भारतीलाई । उनको यो अवस्था देखेर अन्ततः उपचारका लागि नागरिक समाजले कदम चाल्यो । नागरिक समाजको पहलमा उनलाई २०७३ साल जेठ २६ मा काठमाडाैँ स्थित ‘रिजमिन फिलोसफ नेपाल’ संस्थाद्वारा सञ्चालित ‘रिह्याब सेन्टर’मा उपचारका लागि लगियोे । झन्डै सात महिनाको उपचारपछि उनलाई पुनः डोल्पा फर्काइएको छ । ‘अहिले सबैसँग बोल्ने हाँस्ने गर्छु, आफन्त पराई चिन्न सक्छु, स्मरणशक्ति पुनः फर्किएको छ । पहिलेकै अवस्थामा फर्किएको अनुभूति भएको छ,’ भारती भन्छन्, ‘नागरिक समाजको प्रयासले मैले नयाँ जीवन पाएँ, अब जीवन गुजारा गर्न काम गर्न सक्छु कि भन्ने आबा जागेको छ । अहिले विरुवामा पानी हाल्ने काम पाएको छु ।’ उनको स्मरणशक्ति गुमेसँगै परिवार भताभुंग भयो । ‘दुनैमा रहेको एककोठे घर भत्किएछ, बुवाको पनि मृत्यु भइसकेछ, आमाले मन्दिरको सहयोगीका रूपमा र कान्छो भाइले होटेलमा काम गरेर जेनतेन गुजारा गर्दै आएका रहेछन्,’ उनले भक्कानिँदै भने । पाँच वर्षभित्र भएका घटना भने उनको स्मरणमा छैन । ‘अहिले न गासवासकै व्यवस्था छ, न त आफन्त नै । पाँच वर्षको अवधिमा घर, बुवा, मेरो सपना सबै थोक गुमाएको छु,’ उनको दुखेसो छ । ‘ठूलो छोराको आशामा बाँचेको थियो हाम्रो परिवार, उसको मानसिक सन्तुलन गुमेपछि उपचारको आशामा पाउनुसम्म दुःख पाइयो, तर निको भएन,’ आमा कृष्णादेवी भारती भन्छिन्, ‘छोराप्रतिको आशा त छँदै थियो, उसको पशुको जस्तै व्यवहारले सबैले गाली बेइज्जती गर्न थाले । सबैको छिःछिः र दुर—दुर सहनुपर्‍यो हाम्रो परिवारले,’ उनले थपिन् । स्मरणशक्ति गुमाएका छोराको यस्तो व्यवहारले कहिलेकाहीँ त आत्महत्या गरौँजस्तो लाग्ने गरेको उनले सुनाइन् । ‘ढिलै भए पनि उपचार भयो, उसले नयाँ जीवन पाएको छ, अब भाँडा माझेरै भए पनि जिन्दगी गुजारा गरौँला । नागरिक समाजलाई धेरै–धेरै धन्यवाद छ,’ उनले आशावादी हुँदै भनिन् । अहिले उनीहरूसँग बस्नका लागि घर, अन्नबाली लगाउन जग्गाजमिन केही पनि छैन । कसैले छोरालाई जागिर लगाइदिए हुन्थ्यो भन्ने भारती परिवारलाई लागेको छ । सदरमुकामको ठाउँ महँगीले सामान छोइनसक्नु छ, बिहान–बेलुकी छाक टार्न समेत धौ–धौ छ ।

भारतीको उपचारका लागि जिल्लाका उद्योगी, व्यापारी, समाजसेवी, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीबाट चन्दा संकलन गरिएको थियो । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बूढाको सक्रियता उल्लेखनीय छ । बूढाका अनुसार अहिलेसम्म उपचारका लागि एक लाख ५५ हजार खर्च लागिसकेको छ । अझै ६ महिनासम्म नियमित औषधि खानुपर्नेछ । भारती परिवारले यसका लागि थप खर्चको जोहो गर्नुपर्नेछ । सम्पत्तिको नाममा परिवार बस्दै आएको एककोठे घर पनि जिल्ला विकास समितिको नाममा थियो ।

अहिले भत्केर भग्नावशेषमा परिणत भएको छ । जिविस कार्यालयले घर दिन आनाकानी गरिरहेको छ । डोल्पा ‘ह्युम्यानिटेरिएन सोसाइटी’का अध्यक्ष तथा निर्माण व्यवसायी ओम रोकामगरको पहलमा उनले सामुदायिक वनमा बिहान–बेलुका पानी हाल्ने काम थालेका छन् । तर, यसबाट उनलाई बिहान–बेलुका खानाको व्यवस्था मात्र छ । उनकी आमा होटेलमा नाजुक जीवन बिताइरहेकी छिन् । परिवार छरिएको अवस्थामा छ । छरिएको उनको परिवारलाई एकगठ गरेर पुनः पारिवारिक स्नेह फर्काउन उनलाई रोजगारीको पहल होस् भन्ने नागरिक समाजको आग्रह छ । डोल्पामा पूर्ण रूपमा समाजसेवामा समर्पित नागरिक समाजको पहलमा योभन्दा अगाडि दुईजना पीडित बालकको उपचार गराउनुका साथै उनीहरूलाई काठमाडौंमै अध्यनको व्यवस्थासमेत मिलाएको थियो । जीवनमा एकाएक परिवर्तन आएपछि विमल भारतीमा नयाँ जोस पलाएको छ भने भविष्यमा समाजका लागि केही गरेर उदाहारणीय व्यक्ति बनेर देखाउने उनको अठोट छ ।     रामचन्द्र न्यौपाने/डोल्पा





error: Content is protected !!