लागु औषधको ‘हव’ बन्दै जाजरकोट

जाजरकोट , केही समय अघि वाँके नौवस्ता ८ वोरिङ वस्ती वस्ने तुलसा शाही वाट जिल्लाको सीमा १ छेडाबाट प्रहरीले सात किलो चरेस वरामत गरयो । जाजरकोटबाट जिल्ला बाहिर लैजाने क्रममा सीमा प्रहरी चौकीले खानतलासी गर्दा उक्त परिणामको लागु औषध चरेस सहित शाहीलाई पक्राउ गर्यो ।
भेरी मालिका नगरपालिका १ कालेगाँउ स्थित भेरी पुलवाट चरेस वोकेर रुकुमतिर जादैगरेकी खगेनकोट १ दल्लीकी डम्मरी शाहीवाट प्रहरीले साढे चार किलो चरेस वरामत गर्यो । पक्राउ परेकी डम्मरीले चरेस बोक्दा कारवाही हुन्छ भन्ने थाह नपाएर बोकेको बयान दिएकी छन् ।
त्यस्तै सदरमुकाम खलंगाको एक होटेलवाट १ किलो ४ सय ग्राम अफिम सहित प्रहरीले नायकवाडा ६ का निमवहादुर सिंह र सोहि गाविस वडा नं ८ का कुशवहादुर महतारालाई पक्राउ गरयो । लागुऔषध कारोवार गरेको भन्दै जिल्ला अदालतले उनीहरु दुवै जनालाइ १६ वर्ष कैद र ८ लाख जरिवाना गरेको छ । अफिम कारोवारमा मतियारको काम गरेको भन्दै रुकम जिल्लाको तकसेरा १ का टेकवीर वुढालाइ १० वर्ष कैद र ८ लाख जरिवानाको फैसला सुनाइएको छ ।
यी प्रतिनिधी घटनाले पनि जाजरकोटमा लागु औषधको कारोवारको अवस्था कस्तो छ भन्ने देखाउँछ । जिल्लामा पछिल्लो समयमा लागु औषध कारोवारीहरु योजनावद्ध रुपमा वढ्दै गएको पाईन्छ । तस्करहरुले पछिल्लो समय महिलाहरुको समेत प्रयोग गर्दै विभिन्न परिमाणमा लागु औषधको तस्कर गर्न थालेको प्रहरीको भनाई छ । चरेस र अफिम कारोवारीहरु विशेष सुराकीको आधारमा प्रहरीको फन्दामा पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हिक्मत वोहराले नियमति रुपमा अवैध चरेस भेटिनुले ठुलै गिरोह यसको तस्करीमा रहेको हुन सक्ने वताए ।
एक अनुसन्धानबाट चरेसको कारोवार तथा तस्करी ठुलै मात्रामा हुने गरेको प्रहरीले निश्कर्ष निकालेको छ । चरेस तस्करहरुले जिल्लाका विभिन्न नाकाहरुवाट वाहिर लिनका लागि नयाँ विधि अपनाउदै महिलाहरुलाइ प्रयोग गर्ने गरेको प्रहरी निरीक्षक वोहराले वताए ।
विभिन्न प्रलोभनहरु देखाएर महिलाहरुलाइ चरेसका व्यापारीहरुले प्रयोग गर्नेगरेको प्रहरीको भनाइ छ । दुइ तिन महिनाको विचमा मात्र पनि जाजरकोटमा २० किलो भन्दा वढी चरेस र डेढ किलो अफिम भेटिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न भागमा अफिम तथा गाँजा खेती हुने गरेको छ । गत असोजमा प्रहरीले जिल्लाका विभिन्न ठाँउमा लगाईएको दुई सय रोपनी गाँजा नष्ट गरेको थियो भने गत बर्ष १० रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको थियो ।
अफिमबाट लागु औषध ब्राउनसुगर बन्ने गर्दछ । जाजरकोट तथा रुकुमका केही भागमा अफिमको खेती हुने गरेको र यहाँको अफिम देशका ठुला शहर हुदै भारत लगायतका देशमा निर्यात हुने गरेको प्रहरीको भनाई छ । प्रहरीको निगरानी नपुग्ने जिल्लाका विकट गाँउमा तस्करहरुले अफिमको वीउ वितरण गरी उत्पादनका लागी शुरुमै पेश्की रकम समेत दिने गरिएको पाईएको छ । द्धन्दकालमा गाँउका प्रहरी चौकी विस्थापित भएपछि चरेस तस्करहरुले जाजरकोटबाट बर्षेनी करोडौको चरेस निर्यात गर्ने गरेका थिए । प्रहरीले लागु औषध चरेस र अफिम नियन्त्रणका लागी कडाई गर्न थालेपछि कारोवारीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
लागु औषध कारोवारीहरले ट्रान्जीट प्वाइन्ट हव वनाउन खोजेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । उनले स्थानीयको जागरुकता र प्रहरीको सक्रियता एकसाथ भए मात्र यसलाइ रोक्न सकिने वताए ।










