किन पार्टीको नाम फेर्दैछन् विप्लव ?

नेत्र पन्थी

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीको नाम हो, नेकपा माओवादी । तर, पार्टीका नेता–कार्यकर्ताबाहेक अरु सबैले यो पार्टीको नाम विप्लव माओवादी भनेर चिन्छन्, सम्बोधन गर्छन् र मिडियामा पनि यही नाम चल्छ ।

सर्वोच्च अदालत परिसरमै अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई कालोमोसो दल्ने कोसिस भएपछि विप्लव माओवादी फेरि चर्चामा आयो । तर, यो परिचित नाम परिवर्तन हुने सम्भावना छ । तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, एक महिनापछि विप्लव माओवादीको नाम फेरिने निकै सम्भावना छ ।

कसरी ?

हामी तपाईंलाई यसको कथा बताउने कोसिस गर्दैछौँ ।

पार्टी गठनको दुई वर्षपछि विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम फेर्ने गृहकार्य थालेको छ । पार्टीको आठौँ महाधिवेशनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा महासचिव विप्लवले पार्टी नाम परिवर्तन गर्ने प्रस्ताव गरेका छन् ।

यो प्रस्तावमाथि अहिले पार्टीभित्र छलफल भइरहेको सो पार्टीका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेर ‘नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना’को लक्ष्य राखेको विप्लव नेतृत्वको माओवादीले महाधिवेशनबाट नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्न प्रस्ताव गरेको हो । अर्थात, महासचिव विप्लवले आफ्नो पार्टीको अहिलेको नेकपा माओवादी नाममा रहेको ‘माओवादी’ शब्द हटाउन प्रस्ताव गरेका छन् । सो पार्टी निकट सूत्रका अनुसार राजनीतिक प्रतिवेदनमा ‘पार्टी नामको विषय’ शीर्षकमा यो प्रस्ताव गरिएको छ ।

सो पार्टीले जनयुद्ध दिवसको अवसर पारेर आगामी फागुन १ मा महाधिवेशनको उद्घाटन गर्दैछ । बन्दसत्र भने रोल्पाको थवाङमा गर्ने सो पार्टीको तयारी छ । ५०० प्रतिनिधि र करिब २ सय पर्यवेक्षक बन्दसत्रमा सहभागी हुनेछन् । अहिले प्रस्ताव गरिएको नाम बन्दसत्रमा पारित भए त्यहीँबाट पार्टी नाम परिवर्तन हुनेछ ।

किन नाम फेर्ने सोचे विप्लवले ?

सो पार्टीका एक पोलिटब्युरो तहका नेताले बताएअनुसार प्रस्तावमा नामबाट माओवादी शब्द हटाउने विषयमा केही विषय उल्लेख भएका छन् । उनका अनुसार प्रस्तावमा विगतको प्रसङ्गसहित नयाँ नामको प्रस्ताव छ ।

ती नेताका अनुसार प्रस्तावमा निम्न काणहरु छन् :

कारण १
जनयुद्धको तयारी गर्न थालेपछि तत्कालीन एकता केन्द्रमा क्रान्तिकारी र अवसरवादीधारबीच सङ्घर्ष चर्कियो । पार्टी विभाजन नै भयो । २०५१ सालमा एकता केन्द्रमा विभाजन भएपछि बहुमत केन्द्रीय सदस्यले पार्टीको नाम नेकपा माओवादी बनाएका थिए । यद्यपि त्यतिबेला निर्मला लामा समूहले भने एकता केन्द्रकै नामममा पार्टी चलाएको थियो । त्यसबेला नेकपा माओवादी नाम प्रयोग गर्दा सार र रुप मिल्न गएको थियो ।

कारण २
जनयुद्ध र संविधानसभाको पहिलो चुनावमा आउँदासम्म माओवादी पार्टीको पहिचान, बलिदान देश र जनताको रक्षक तथा सत्य र न्यायको प्रतीक जस्तो थियो । जब शान्ति प्रक्रियामा प्रचण्ड र बाबुरामले आत्मसर्मपण र विर्सजनको बाटो समाते र ती नेताको आर्थिक जीवन रहस्यमय बन्दै गयो । पैसाका लागि तस्कर, दलाल, कमिसनखोरसँग साँठगाँठ बढ्दै गयो, तब माओवादी जनताको आँखामा नराम्रो हुँदै गयो ।

कारण ३
माओवादीका दुस्मनहरुले योजनाबद्ध रुपले सञ्चारमाध्यम र प्रचारप्रसारबाट माओवादीलाई बदनाम गर्दै जाने नीति अपनाए । कहिलेकाहीँ साना घटनामा पूर्वलडाकु जोडिए पनि त्यसलाई अनावश्यक रुपमा बढाइबढाई प्रचार गर्ने गरियो ।

कारण ४
भित्री विचलन र बाह्य हमलाबाट पछिल्लो समयमा माओवादीलाई विचलन र विकृतिको प्रतीक बनाउन खोजिएको छ ।

कारण ५
विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेपछि माओवादीको प्रभाव सुल्टोतिर त फर्किंदै गएको छ । तर अझै ठीक भइसकेको छैन । माओवादीमा कुनै विशेषण जोड्दा मात्र (आफ्नो पार्टीको नाम जस्तै विल्लव माओवादी) जनतामा सकरात्मक सोचाइ बन्न गएको छ ।

कारण ६
कम्युनिस्ट पार्टी विश्व सर्वहारावर्गको अग्रदस्ता हुनुको कारण कुनै सन्दर्भमा उपनाम जोड्नुपरे पनि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी नै हो । सम्भव रहँदासम्म कम्युनिस्ट पार्टीकै रुपमा सङ्गठित र परिचालित हुँदा राम्रो हुन्छ ।

कारण ७
नेपाली सन्दर्भबाट हेर्दा सबै कम्युनिस्ट पार्टीका पछाडि केही न केही उपनाम जोडिएको छ ।

कारण ८
कम्युनिस्ट पार्टीको नामबाट सङ्गठित र सञ्चालितक पार्टी छैन् ।

कारण ९
सबै पाटाबाट हेर्दा पार्टीको नाम कम्युनिस्ट पार्टी राख्दा वस्तुवादी देखिन्छ,

कारण १०
सहज, सरल र सजीव नामका लागि नेपाल कम्युनिस्ट पार्टी राख्नु उपयुक्त हुन्छ ।

नाम परिवर्तन होला त ?
पार्टीको राजनीतिक प्रतिवेदनमा यो नाम प्रस्ताव हुनु पार्टी हाइकमान्डमा भएको सहमतिकै आधार मानिएको छ । अहिले यो पार्टीका आन्तरिक कमिटीहरुमा छलफलमा रहेको छ । पार्टीका जिल्ला सम्मेलन भइरहेका छन्, त्यहाँ पनि प्रस्तावमाथि छलफल चलिरहेको छ । एक केन्द्रीय तहका नेता भन्छन्– ‘महासचिव विप्लवले नै यसमा चासो राखेकाले महाधिवेशनबाट नयाँ नाम आउने सम्भावना प्रबल छ ।’

दोस्रो प्रयोग हुनेछ
विप्लवले आफूले नेतृत्व गरेको पार्टीको नाममा माओवादी शब्द राखेनन् भने माओवादी पृष्ठभूमिबाट आएका नेताले गरेको यो दोस्रो प्रयोग हुनेछ । ०७२ असोज ९ मा प्रचण्डसँग डिभोर्स गरेका बाबुरामले आफ्नो नेतृत्वमा बनाएको पार्टीको नामममा माओवादीको कुनै साइनो छैन । बाबुरामको नेतृत्वमा नयाँ शक्ति पार्टी नेपाल गठन भएको छ, जसले कम्युनिस्ट विचारधाराबाट पनि आफूलाई टाढा राखेको छ । विप्लवले भने कम्युनिस्ट विचारधाराभित्रै बसेर माअ‍ोवादी शब्दविनाको नाम प्रस्ताव गरेका छन् । विप्लवको बुझाइमा उनको पार्टीले क्रान्तिकारीधारको, प्रचण्डको पार्टीले आत्मसर्मपणवादी धार र वैद्यको पार्टीले अकर्मण्यतावादीधारको नेतृत्व गरेको छ । विप्लवको पार्टीले बाबुराम विर्सजनवादमा पुगेको विश्लेषण गरेको छ ।

पार्टीको नाम फेर्ने विप्लवको प्रस्तावमाथि अरुको के छ टिप्पणी ?

माओवादी केन्द्रका नेता गोपाल किराँती भन्छन्– माओवादी आन्दोलनबाट भाग्ने कोसिस हो ।

यो कोर्स सबैभन्दा पहिला बाबुरामले गर्र्न चाहेका थिए । एमालेमा पनि कम्युनिस्ट नाम राख्नु हुँदैन भन्ने केपी ओलीहरुको मत छ । यो पृष्ठभूमिमा नाम परिवर्तनको प्रस्ताव गरेर विप्लवजीले माओवादी आन्दोलनबाट भाग्ने रचना गर्नुभयो । बहानबाजी जे भए पनि आन्दोलनबाट भाग्ने र सहिदहरु प्रति गद्दारी हुन्छ ।


उहाँले एकीकृत जनक्रान्तिको कार्यदिशामा मध्यम वर्गलाई मुख्य शक्ति मान्ने भन्नुभएको छ । मध्यम वर्गलाई मुख्य शक्ति मान्ने कम्युनिस्ट आन्दोलन हुँदैन । पुँजीवादी आन्दोलन हुन्छ ।
उहाँले राजतन्त्र फर्काउने, हिन्दू राज्यका कुरा पनि गर्नुहुन्छ । एक किसिमले उहाँ भीरको चिण्डो बन्दै हुनुहुन्छ । सशस्त्र क्रान्ति नगरेर समूह बच्दैन, क्रान्ति गरे तत्काल जनसमर्थन हुँदैन । विप्लवजीमा भयानक विचलन र बिर्सजन पैदा भयो ।

विश्लेषक राजेन्द्र महर्जन भन्छन्– नेपालको विशिष्ठतालाई ध्यान दिएर सोच्ने कुरामा अन्यथा लिनु हुँदैन ।
नामका पछाडि पुच्छर झुन्डाउने विषयमा माओवादीको पालुङटार विस्तारिक वैठकको आसपास मैले एउटा लेख लेखेको थिएँ । हामीकहाँ लामो समयदेखि यस्तो परम्परा चल्यो । माक्र्सले नपुगेर लेनिनको नाम जोडने, लेनिनको नामले नपुगेर माओको नाम जोडने काम भयो ।

यस्तो किन भन्ने विषयमा खासै बहस भएन । व्यक्तिकै नाम पुच्छरमा गाभ्ने परम्परा भयो । पुच्छर जोड्ने विषयमा प्रश्न उठाउनुपर्छ भन्ने मेरो मत हो ।

नेपालको विशिष्टता हेरेर नाम राख्दा हुन्छ । युरोप वा चिनियाँ मोडेलमा जानु हुँदैन । नेपालको सन्दर्भ, यहाँको अन्तरविरोध हल खोज्नै नाम बनाउने कुरा कमजोर भयो विगतमा । अरुकै नाम र मार्गदर्शक सिद्धान्तमा जोड दिने भयो । आफ्नो भूमि, राजनीतिक धरातल, र अन्तरविरोधका आधारमा नाम बनाउँदा राम्रो हुन्छ । ल्याटिन अमेरिकी देशमा यस्तो प्रयोग हुने गरेको छ ।

जस्तोः आफ्नो देशको विशिष्टतामा के गर्न खोजेको हो भन्ने सन्देश नामबाट दिन सकिन्छ । नेपाल मजदुर किसान पार्टी र नेपाल सर्वहारावादी श्रमिक सङ्गठनको नामले सन्देश दिन खोजेका छन्, नेपालकै हकमा ।

नाम परिवर्तनको कुरा गरेर विप्लवले नयाँ ढङ्गले सोच्न खोजेका हुन कि भन्ने सन्देश दिएका छन् । यो सिद्धान्त नै छाड्ने हदसम्म पनि पुग्न सक्छ, त्यो भविष्यको कुरा हो । तर, जमिनमा हेर्ने वा नहेर्ने मुख्य कुरा हो । यहाँको धरातलमा रहेका अन्तरविरोध हल गर्ने प्राथामिकतामा नाम परिवर्तन गर्न खोजिएको हो होइन, त्यो मुख्य कुरा हुन्छ । चीन र रुसको अभ्यास मात्र हेरेर मात्र हुँदैन ।

माओको सबैभन्दा ठूलो योगदान चीनको विशिष्टताअनुसार क्रान्तिको मोडेल तयार गर्नु हो । माक्र्सभन्दा फरक, लेनिनभन्दा फरक सोच्न सक्ने उनको योगदान हो ।

नेपालको सन्दर्भमा सोच्ने मामिलामा पनि आफ्नोपन हुनुपर्यो । नामसँगै बाटो पनि देखिनुपर्यो । बाटो देखिएन भने बहकिने सम्भावना हुन्छ । नेपालको विशिष्टतालाई ध्यान दिएर सोच्ने कुरा हो भने अन्यथा लिनु हुँदैन ।

नयाँ शक्तिका ३ नम्बर प्रदेश संयोजक गङ्गा श्रेष्ठ भन्छन्– यो अग्रगामी सोच हो ।

मैले उहाँको प्रतिवेदन पढ्न पाएको छैन । विस्तृत कुरा गर्न सकिन्न । तर, तपाईंहरुले सामन्य रुपमा भनेको आधारमा मैले व्यक्तिगत रुपमा भन्दा अहिले माओवादी शब्दावली र माओवादी कार्यदिशालाई आवरणका रुपमा प्रयोग गरेको कुरालाई सहज रुपमा लिएका छैनन् । कार्यदिशा नै बनाएर पनि अहिले सफलता पाउन कठिन छ । विप्लवजीले नाम फेर्ने र एकीकृत क्रान्तिको कार्यदिशा लिएर नयाँ चीज दिन खोज्नुभएको छ । सार चाहिँ पुरानै हुन्छ ।

अहिलेको शताब्दीमा फेलेबर लिएर मात्र सफलतामा पुग्न सकिन्छ भन्नेमा मलाई कम विश्वास छ । सिफ्ट गर्ने कुरा कसैले क्रमिक रुपमा गर्छन्, कसै कसैले आवश्यकताअनुसार क्रमभङ्ग गर्छन् । हामीले गरेको क्रमभङ्ग हो । द्वन्द्वात्मक भौतिकवादी विचारसहित नै क्रमभङ्ग गरेका हौँ । विप्लवजीले २०औं शताब्दीको विज्ञान र कार्यक्रम दुवै बोकेको दाबी गर्नुभएको छ । हामीले २१औँ शताब्दीको कार्यक्रम लिएका छौँ । जे होस्, नाम परिवर्तन गर्ने कुरा अग्रगामी सोच हो ।

विप्लव माओवादीसँग जोडिएका अन्य तथ्यहरु :

–०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नकेपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्यसँगै सम्बन्ध विच्छेद गर्नेमा विप्लव पनि थिए । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रुपमा प्रस्तुत गरियो ।

–प्रचण्ड र बाबुरामसँग सम्बन्ध विच्छेद गरेका वैद्य र विप्लवले ०६९ पुस २७ देखि माघ २ सम्म सातौँ राष्ट्रिय सम्मेलन गरे । वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भयो । महाधिवेशनबाट जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित भयो ।

–वैद्यसँग सम्बन्ध विच्छेद नगर्दै विप्लव पक्षले आफ्नो कार्यशैली भूमिगत सुरु गरेको थियो । पार्टीभित्र पार्टी, सङ्गठनभित्र सङ्गठन र योजनाभित्र योजनाअनुसार विप्लवपक्षको भिन्दै संचरना निर्माणको गृहकार्य, १८ कात्तिकको राति कार्यदिशाअनुसार विप्लवले देशभर ‘वालपेन्टिङ’, ‘नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिउँ, एकीकृत क्रान्तिको सिद्धान्त जिन्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद’ जस्ता नारासहित गरिएको वाल पेन्टिङ गराएका थिए ।

–‘वाल पेन्टिङ’ लगत्तै २६ र २७ कात्तिकमा कपिलवस्तुको शिवगढीमा विप्लवपक्षीय नेताहरुको गोप्य भेला भयो । प्रत्येक जिल्लाबाट दुई–दुई जना, केन्द्रीय सदस्य र जनवर्गीय सङ्गठनबाट प्रतिनिधित्व रहेको भेलाले विप्लवको प्रस्तावलाई परिमार्जनसहित पारित गर्यो ।

–बूढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरे ।

–पार्टी मुख्यालय बुद्धनगरमा ८ मङ्सिरमा गएर विप्लव र खड्कबहादुर विश्वकर्माले मोहन वैद्यको माओवादीसँग सम्बन्ध विच्छेद गरेको लिखित पत्र बुझाएपछि आफूपक्षीय नेताहरुको गोप्य वैठक चिवतनमा डाके ।

–मिडियाको पहुँचबाहिर ११ देखि १३ मङ्सिरसम्म भएको वैठकले विप्लवको नेतृत्वमा नेकपा माअ‍ोवादी गठन गर्यो । सात सदस्यीय हेडक्वाटर र ६५ सदस्यीय प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति बनाए पनि उनीहरुको नाम भने सार्वजनिक गरिएन ।

–राष्ट्रिय सम्मेलनको मिति २३ देखि २६ पुससम्म चितवनकै वैठकले तोकेपनि ठाउँ भने खुलाइएन । १३ र १४ पुसमा बसेको पार्टीको केन्द्रीय समितिको वैठकलाई भने गोप्य नै राखिएको थियो । वैठकपछि पार्टीले विज्ञप्तीसमेत जारी गरेको थिएन । वैठकले ‘प्रतिक्रियावाद र राष्ट्रघातका विरुद्ध एकीकृत आन्दोलन, नयाँ जनवादी क्रान्तिका लागि प्रथम राष्ट्रिय सम्मेलन’ मूल नारासहित रोल्पामा सम्मेलन गर्ने निर्णय गर्यो ।
–पार्टीका विषयमा बोल्न परे प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई जिम्मा दिइएको छ । अन्य नेता–कार्यकर्तालाई पार्टीको सङ्गठनात्मक, सैद्धान्तिक र व्यावाहिर कुनै पनि विषयमा मिडियासँग टाढा रहन निर्देशन दिइएको छ ।

–वैठकमा कुनै पनि कार्यक्रम रेकर्ड नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिइएको छ । पार्टी संयोजक विप्लव आफै पनि मिडियासँग दुरी बढी नै राखेका छन् । गलत काममा मुछिएको भन्दै पार्टीमा आबद्ध एक पूर्व लडाकु कमान्डरलाई कारवाही गरेर अनुशासन कडाइपूर्वक लागू गर्न खोजेको सङ्केत दिइसकेका छन् ।

८–पहिला आफ्नै गृहजिल्ला कपिलवस्तु, त्यसपछि प्रचण्ड र बादलको गृहजिल्ला चितवन र अव जनयुद्धको उद्गम थलो रोल्पामा (अन्तिम समयमा रोल्पासँग जोडिएको दाङमा) पार्टीको ठूलो कार्यक्रम आयोजना गरेर विप्लवले माओवादी आन्दोलन र राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिकेन्द्रमा सन्देश दिन खोजे । सार्क सम्मेलन आसपास गृहमन्त्री बामदेव गौतमले गिरफ्तारीको तयारी गरे पनि अन्तिम समयमा आफूलाई पक्राउ नगरिएको सूचना पाएका विप्लव आफ्ना कार्यक्रम र गोपनियतमा थप सतर्क भए ।

–विप्लवले आफ्नो प्रस्तावमा भनेका छन्– अहिलेको सङ्घर्षको चरित्र एकीकृत क्रान्ति हो । यसको उद्देश्य दलाल पुँजीवाद तथा सामन्ती राज्यसत्तालाई विघटन गरेर जनवादी राज्यसत्ता स्थापना हो, यसका लागि केन्द्रीय सत्ताको उद्देश्यसहित गाउँ र सहरबाट आ–आफ्नो विशेषताअनुरूप राज्यसत्ता निर्माणको नीति लिने हुन्छ । पार्टीलाई क्रमशः भूमिगत र काठमाडौं बाहिर केन्द्रित गर्नुपर्छ । सैन्य बलद्वारा प्रतिक्रियावादी राज्यसत्ताको ध्वंश, यसका लागि बलियो र नियमित सेना निर्माण गर्नुपर्छ । सर्वहारा वर्र्गको अग्रदस्ता बनाउने सोचसहित पार्टीलाई खुकुलो र भद्दा हुनबाट जोगाउनुपर्छ ।

–पार्टीको २३ पुसदेखि २६ सम्म दाङको तुल्सीपुरमा प्रथम राष्ट्रिय सम्मेलन भयो । भेलाले महासचिवमा विप्लव तथा स्थायी समिति सदस्यमा खड्कबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला चयन गर्यो ।

–अब फागुन १ मा महाधिवेशन हुँदैछ । यसको काठमाडौंमा र बन्दसत्र चाहिँ रोल्पामा गर्ने तयारी भएको छ ।

विप्लव माओवादीका चर्चित ‘एक्सन’

०७३ कात्तिक २७ मा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित जग्गामा कालो झन्डा गाडे । माओवादीले अर्बौंको कर छली गरी मुरारकाले राष्ट्रिय हितविपरीत काम गरेको आरोप लगाउँदै महँगी बढाउने र कालोबजारीमा भूमिका निर्वाह गरेकाले जग्गामा झन्डा गाडेको जिकिर गरेको थियो । सो जग्गाको क्षेत्रफल १४० रोपनी भएको बताइएको थियो ।

– ०७३ भदौ २१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापन पत्र बुझायो । ज्ञापनपत्रमा दाल, चामललगायत दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको छ । दाल, चामल, तेल, पिठो, दूध, तरकारी, फलफूल, मासु र मसलाको मूल्यमा ५० प्रतिशत सहुलियत दिन माग गरिएको थियो । ज्ञापनपत्रमा किसानका सबै उत्पादन राज्यले खरिद गरी सीधै उपभोक्तासम्म पुर्याउने व्यवस्था गर्न, विचौलियाको जालो ध्वस्त पार्न र सो कार्यमा सङ्लग्नलाई कारबाहीको दायरामा ल्याउन, माथिल्लो कर्णाली, अरुण तेस्रो जलविद्युत् आयोजनामा भारतीय कम्पनीसँग गरिएको आयोजना विकास सम्झौता (पीडीए) तत्काल खारेज गरी स्वदेशी पुँजीमा नै निर्माण गर्न आग्रह गरिएको थियो ।

–जेठ ३० मा एनसेलले जारी गरेको विज्ञप्तीअनुसार विप्लव माओवादीले विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पुर्याएका थियो । यसले करिब ५ लाख ५० हजार नागरिकलाई सञ्चारविहीन बनाएको एनसेलनको भनाइ थियो । यो लगत्तै गृह प्रशासन एक्सनमा आएको आयो । कैयौँ माओवादीका कार्यकर्ता पक्राउ परे ।

–मूलत विभिन्न दातृ संस्थाको सहयोगमा चलेका सङ्घ–संस्था र व्यक्तिहरु अहिले जनयुद्धकालीन मुद्दा ब्युताउने र अड्डा अदालतबाट यस्ता मुद्दाको निरुपण खोज्न चाहे । विप्लले उनीहरुलाई पनि सन्देश दिए्, ‘यो कोर्स गलत छ ।’ सेभ दी चिल्डे«न र बल्र्ड भिजनजस्ता अन्तर्राष्ट्रिय संस्थामा आक्रमण गरेर विप्लव माओवादीले डलरको कारोवार गरिरहेका आईएनजीओलाई सचेत गराए ।

–कालो बजारी गरेको भन्दै ललितपुरमा हिमाल ग्यासको डिपो कब्जा, चितवनमा दुई सय ३० बिघा जग्गा कब्जाको घोषणा, लगानी बोर्डका सीईओ राधेश पन्तको घर घेराउ र वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो दलेर विप्लव माओवादीले चर्चा पनि बटुलेको थियो ।

–विप्लव माओवादीले गत वर्ष ०७२ माघ १८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेर भ्रष्टाचारीमाथि कारबाही गर्न माग गर्दै घेराउसहित ज्ञापनपत्र दिएको थियो । पर्चा वितरण गरेर अख्तियारले कारबाही नगरे आफैँ कारबाही अगाडि बढाउने चेतावनी सो पार्टीले दिएको थियो । भ्रष्टाचारले समाज तहसनहस पारेको, भ्रष्टाचार संस्कृतिका रूपमा मौलाएको, भ्रष्टहरूले देशको राष्ट्रियता नै दाउमा लगाएको भन्दै कारबाही अनिवार्य भएको यो पार्टीको दावी छ ।

–आफ्नो कारबाही सूचीमा भ्रष्ट नेता, उद्योगी–व्यापारी, कर्मचारीसहित विदेशी बैङ्कमा रकम जम्मा गर्ने व्यक्ति, देशका प्राकृतिक साधनस्रोत कब्जामा राख्ने तथा भ्याट छल्ने व्यक्तिलाई राखेको पार्टी नेताहरु बताउँछन् । ०४६ पछि आएका प्रतीत–पत्र घोटला, धमिजा काण्ड, लाउडा काण्ड, चाइना एयर, नेपाल वायुसेवा निगम, माथिल्लो तामाकोसी, कृषि मल, वन फँडानी, डार्फर काण्ड, जनक शिक्षा सामग्री किताब, पशुपति, पेट्रोलियम पदार्थ, अप्परकर्णाली, अरुण तेस्रो, मेलम्ची खानेपानीलगायतमा भएका भ्रष्टाचारमाथि आफ्नो चासो रहेको सो पार्टीका नेताहरु बताउँछन् । राष्ट्रियताको मुद्दा पनि विप्लवको पार्टीको डकुमेन्टमा प्राथामिकतामा छ ।

–नोभेम्बर १२ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिट क्यामरुङद्वारा प्रेसित संयुक्त विज्ञप्तीमा नेपालको सन्दर्भमा दिइएको अभिव्यक्ति विषयमा विप्लवले विज्ञप्ती जारी गरेका थिए । ‘भारतीय शासक वर्गले नेपालमाथि थोपरेको नाकाबन्दी, नेपाली भूभागमाथिको अतिक्रमण, नेपालको आन्तरिक मामिलाको सूक्ष्म व्यवस्थानमाथिको हस्तक्षेपका विरुद्ध सशक्त सङ्घर्ष उत्रिने घोषणा गर्दछ । साथै सम्पूर्ण देशभक्त, बामपन्थी र जनवादी शक्तिलाई राष्ट्रिय प्रतिरोध सङ्घर्षमा सहभागी हुन हार्दिक अपिल पनि गर्दछ ।’ विज्ञप्तीमा भनिएको थियो ।

भारत र चीनबीच भएको व्यापार सम्झौतामा समेटिएको लिपुलेक नाका विस्तार सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्यो । रत्नपार्कबाट निकालिएको जुलुस सुन्धारामा पुगी समापन गर्ने बेलामा प्रहरीले हस्तक्षेप गरी पोलिटब्युरो सदस्य तिलक परियारसहित प्रहरीले ३१ जनालाई पक्राउ गरेको थियो ।

ratopati.com

 





error: Content is protected !!