उच्चमावि नहुँदा पढाइ अधुरै

रुकुम
राङ्सी ७, का टेकबहादुर पुन एसएलसीपछि विद्यालय गएनन् । ०७२ को एसएलसी परीक्षामा द्वितीय श्रेणीमा उत्तीर्ण पुनले पढ्ने चाहना हुँदाहुँदै विद्यालय छाड्नुपर्‍यो । एसएलसीका मार्कसिट बाकसमा थन्काएर उनी वैदेशिक रोजगारीका लागि उडे । राङसी ६, का ठगेन्द्र बुढाको पनि एसएलसीपछि पढाइ अघि बढाउन सकेनन् । बुढाले पनि एसएलसीका मार्कसिट घरमा राखेर विदेश गए ।

गाउँमै १२ कक्षासम्म पढाइ नहुँदा पुन र बुढाजस्तै राङसीका धेरैले एसएलसी पछिको पढाइलाई निरन्तरता दिन सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएका कारण घर छाडेर अर्को ठाउँमा गएर पढ्न नसक्दा त्यस क्षेत्रका विद्यार्थी विदेश भासिने गरेका छन् । एसएलसीपछि विदेश उड्नेको सूची राङ्सीमा लामै भएको छ । हरेक वर्ष एसएलसी उत्तीर्ण गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी विदेश जाने गरेको स्थानीय शिक्षक टोपजंग बुढाले बताए । गाविसभर ३ विद्यालय छन् । २ वटा आधारभूत र एक मावि । राङसी ५ स्थित सिद्धमण्डली माविमा १० कक्षासम्म पढाइ हुन्छ ।
एसएलसीपछिको पढाइका लागि राङ्सीवासीले घर छाड्नै पर्छ । नजिक ११ र १२ पढाइ हुने विद्यालय नहुँदा धेरैले पढ्ने चाहनालाई बन्धक बनाउनुपर्ने अवस्था रहेको हो । यहाँका न्यून संख्यामा मात्रै जिल्ला बाहिर गएर पढ्छन् । उनीहरूमध्ये केही छिमेकी गाविसका उच्चमावि भर्ना हुन्छन् । धेरैजसो भने एसएलसीपछिको औपचारिक पढाइ छाड्न बाध्य हुने स्थानीयले बताए ।
राङसीनजिक रुकुमकोटको रुक्मिणी मावि र प्वाङको हिमालय मावि नायगाड पर्छ । त्यहाँ पढ्नलाई पनि घर छाड्नै पर्छ । ‘यहाँका अधिकांश विद्यार्थीलाई एसएलसीपछिको पढाइका लागि घर नछाडी सम्भव छैन,’ शिक्षक बुढाले भने, ‘घर छाडेर पढ्ने आर्थिक अवस्था धेरैको छैन र एसएलसीपछि विदेशिनुको विकल्प पनि छैन ।’ गाविसको एकमात्रै सिद्धमण्डली माविका प्रधानाध्यापक चिताराम केसीले आर्थिक अवस्था कमजोर भएकाले एसएलसीपछिको पढाइ छाड्नुपर्ने बाध्यता रहेको बताए । ‘घरबाटै पठनपाठन भ्याउने गरी प्लस टु पढाइ हुने विद्यालय राङ्सी नजिक छैन,’ प्रअ केसीले भने, ‘एसएलसीपछिको पढाइ गर्न घर छाड्नै पर्ने अवस्था यहाँको छ ।’ उनका अनुसार उक्त विद्यालयको कक्षा १० मा हरेक वर्ष ४० देखि ५० जनासम्म विद्यार्थीले अध्ययन गर्ने गर्छन् । यसअघि प्लस टुसम्मको पढाइ सञ्चालन गर्ने विद्यालयको तयारी सफल हुन सकेन । निजी स्रोतबाट नियुक्त गरिएका शिक्षक राख्ने र हटाउने विषयमा कुरा नमिल्दा प्लस टु सञ्चालन गर्न समस्या भएको एक अभिभावकले बताए । ‘नाखा र राङ्सी दुई गाउँको बीचमा रहेको विद्यालयमा शिक्षक नियुक्त गर्ने विषयमा दुई गाउँबीच कुरा नमिल्दा समस्या भइरहेको छ,’ ती अभिभावकले भने ।





error: Content is protected !!