गृह प्रशासनलाई चुनौती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लामो समयदेखि एउटा बदनाम अखडाका रूपमा तस्करहरूको क्रीडास्थल बन्दै आएको छ । पञ्चायतकालमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह र आइजिपी खड्गजित बराललाई जोडेर एउटा किस्सा प्रचलित थियो, जसले कसरी विमानस्थल तस्करीको सहज रुट बनेको छ भन्ने सन्देश दिन्थ्यो । यसो कहिलेकहीँ सेटिङ मिलाउन नजान्ने माननीय नरबहादुर बुढा या गुरुङहरू समातिन्थे । ०४७ पछिको संसदीय काल त विमानस्थल तस्करीको सुरक्षित मार्गका रूपमा झनै बदनाम भएको थियो । विमानस्थललाई तस्करी रुट खुल्ने र बन्द गर्ने शुक्लपक्ष र कृष्ण पक्षका रूपमा सेटिङ मिलाइन्छ भन्ने गरिन्थ्यो । खासगरी खुमबहादुर खड्का र वामदेव गौतमको गृहमन्त्रीत्वकाल त्यतिवेला तस्करीका लागि बदनाम थिए । कहिलेकहीँ मात्र कुनै टिवडेवालाको सेटिङ भत्किन्थ्यो र तस्कर होइन, भरिया या सुन मात्रै पक्राउ पथ्र्यो । राजनीतिक नेतृत्वको संरक्षणमा पार्टीका कार्यकर्ता खरिद गरेर, प्रहरी, गृह प्रशासन, भन्सार अधिकारी र विमानस्थल सुरक्षाका सबै अंगलाई नाफा बाँडफाँड गरेर मिलाइने यो सेटिङले बिस्तारै अन्य तस्करलाई पनि विमानस्थलको बाटो प्रयोग गर्न सहज बनेको थियो । यही खुकुलोपनलाई प्रयोग गरेर आतंककारीको एउटा जत्थाले एयर इन्डियाको जहाज अपहरण गरेर अफगानिस्तान पु¥याएको थियो । केही वर्षदेखि यो धन्दा अन्य रूपमा जारी छ । पछिल्लो समय सुन र लागुऔषध तस्करीका घटनालाई हे¥यो भने विमानस्थललाई नेपाली, भारतीय, चिनियाँ, अफ्रिकीलगायतका तस्करीको अन्तर्राष्ट्रिय गिरोहले प्रयोग गरिरहेको आँकलन गर्न गाह्रो छैन । केही दिनपहिले मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खाडी मुलुकबाट आएको एउटा जहाजबाट ३३ किलो अर्थात् प्रचलित बजार मूल्यमा झन्डै १५ करोड रुपैयाँ पर्ने सुन सबै सुरक्षा संयन्त्रलाई छलेर सरासर बाहिरियो । आबुधाबीबाट गुप्तचर एजेन्सीले खबर गरेकाले नेपालको सिआइबीले त्यसलाई फलो गरेपछि त्यसका भरियाहरू समातिए । बिस्तारै लहरो तानिँदै र पहरो गर्जिंदै जाँदा विमानस्थलका सम्बन्धित अधिकारीसमेत गिरफ्तार भएका छन् । अर्थात् सबै सुरक्षा संयन्त्र र भन्सार प्रशासनसमेतको मिलेमतोमा यसरी तस्करी हुने गरेको खुलेको छ । यसको अर्थ हुन्छ, हाम्रो विमानस्थलको सुरक्षा र प्रशासन प्रणालीमा तस्करहरूले नियन्त्रण राख्छन् । उनीहरूको मिलेमतोमा सामेल भएर सरकारी अधिकारी अर्थात् राजस्व, भन्सार, विमानस्थल सुरक्षा र अनुगमनमा खटिने सबैजसोले साथ दिने गरेका छन् । नेपालीमा एउटा उखान छ पाडो खानेले बाच्छो पनि खान्छ । सुन र लागुऔषध तस्करीमा सहयोग गर्नेले हातहतियारको तस्करी रोक्छ भन्ने कत्ति पनि विश्वास गर्न सकिन्न । यो स्थितिले नेपालको हवाई यातायात सुरक्षा प्रणालीका दृष्टिले पनि गम्भीर र आपत्तिजनक रूपमा जोखिमपूर्ण अवस्थाको संकेत गर्छ । अहिलेसम्म यस्तो मिलेमतोमा को–को छन्, कहिलेदेखि कस्ता–कस्ता मामिलामा तिनीहरूले यस्तो मिलेमतोका आधारमा के–के तस्करीमा सहयोग गरे भन्ने पक्का नभए पनि अहिलेसम्मको गिरफ्तारीको संकेत हेर्दा यो असामान्य साँठगाँठ रहेको मान्न सकिन्छ । गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालय मातहत पर्ने सबै जिम्मेवार पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने दायित्व अब गृह मन्त्रालयकै हो । निष्पक्ष र गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गरिएन भने हाम्रा विमानस्थलको सुरक्षा विश्वसनीयतामाथि विश्वस्तरमा गम्भीर प्रश्न उठ्नेछ ।



