रहरैरहरमा जो आए अनि हराए

sunima-585x330

रहरैरहरमा फिल्म अभिनयमा लाग्ने र एक दुई फिल्मपछि लाइनबाटै अलप भएका ‘हिरो–हिरोइन’ बग्रेल्ती छन् । कतिपयले अभिनयमै करिअर बनाउने योजना बनाए पनि कालान्तरमा पेसा परिवर्तन गरेको पनि देखिन्छ । धमाधेकार ‘इन्ट्री’ गरे पनि करिअर स्थापित गर्न नसकेकाहरू पनि थुप्रै छन् । आफैँ लगानी गरेर हिरो बनेर रहर पूरा गरेका निर्माता, हिरोको पनि कमी छैन । सुरुका फिल्मबाट चर्चित भए पनि त्यसपछि आफ्नो पहिचान बनाउन नसक्नाले ओझेलमा परेका कलाकर्मी पनि उल्लेख्य छन् ।
मामा निर्देशक दीपक रायमाझीले भान्जा पर्ने किरणप्रताप केसीलाई ‘प्रियसी’ फिल्ममा हिरो बनाए । किरणप्रतापले मेलिना मानन्धरका साथ अभिनीत प्रियसीबाट राम्रै तारिफ पाए । प्रियसीमा ‘सोलो हिरो’ बनेका किरणप्रताप त्यसपछि नारायण पुरीको ‘तपस्या’ र बद्री अधिकारीको ‘दुश्मन’ फिल्ममा सहायक भूमिकामा देखिए । त्यसपछि उनी पर्दामा देखिएनन् । आफ्नै व्यवसायमा व्यस्त भएकाले किरणले ‘री–इन्ट्री’ गर्न नसकेको बताइन्छ ।
ज्ञज्ञवरिष्ठ निर्देशक यादव खरेलको ‘प्रेमपीण्ड’ फिल्मबाट सनी रौनियार उदाएकी थिइन् । उनलाई निकै सम्भावना बोकेकी हिरोइनका रूपमा हेरिएको थियो । सनीले प्रेमपीण्डपछि ‘सडक’, ‘सीता’ र ‘दैव संजोग’ फिल्ममा अभिनय गरिन् । दैव संजोगको सफलतापछि भने उनलाई दर्शकले फेरि पर्दामा देख्न पाएका छैनन् । सिक्किमकी सनी बिहे गरेर घरजममै व्यस्त भइन् । निर्देशक खरेलले आफ्नो एक्सन फिल्म ‘आँधीबेरी’मा भतिजा विनोद खरेललाई हिरो बनाए । फिल्म ठिकै चल्यो । प्रहरी सेवामा कार्यरत विनोद सो फिल्ममा गौरी मल्लका साथ अभिनीत छन् । आँधीबेरीपछि फेरि उनी पर्दामा देखिएनन् ।
‘ज्वाला’ फिल्मका सहनायक अमीत ढुंगानाले ‘माया नमार’ निर्माण गरे । सो फिल्ममा आफूसहित उनले भाइ रमीत ढुंगानालाई पनि हिरो बनाए । मदन घिमिरे निर्देशित माया नमार हिट भयो । रमीत पनि हिरोको रूपमा जमे । तर, अमीत भने फेरि हिरो भइ देखापरेका छैनन् । केही समयअघि भाइ रमीतले निर्माण गरेको ‘बुद्ध बर्न इन नेपाल’मा सहायक भूमिकामा उनी देखिएका थिए ।
‘प्रेमपूजा’ नामक फिल्मका हिरो विमल पौडेल त्यसपछि केही भिडियो फिल्ममा देखा परे । हिरो बन्नुभन्दा बरु निर्देशनमा लाग्नु उचित लाग्यो उनलाई । जसकारण उनले ‘जनयुद्ध’, ‘किसान’ र ‘नागरिक’ नामक फिल्म निर्देशन गरे । आफू निर्देशित फिल्मले आर्थिक मुनाफा नदिलाएपछि अचेल उनी चुपचाप छन् ।
‘सिन्दूर पोते’ फिल्मका सहनायक श्याम श्रेष्ठ पछि आफ्नै लगानीमा बनेको ‘घरपरिवार’ नामक टेलिशृंखलामा देखापरेका थिए । घरपरिवार बन्द भएपछि उनी फेरि स्क्रिनमा देखिएका छैनन् ।
गगन विरही निर्देशित ‘मितेरी गाउँ’बाट हिरोइनको रूपमा देखापरिन्, गायिका पवित्रा सुब्बा । त्यसपछि उनी अरू फिल्ममा देखापरिनन् । त्यसैगरी विरहीकै अर्को फिल्म ‘शिखर’बाट स्यारोन सुब्बाको डेब्यु भयो । एकताकाकी चर्चित मोडल स्यारोन पनि त्यसपछि पर्दामा देखिएकी छैनन् ।
ज्ञत्रआफ्नै लगानीमा ‘ताल’ फिल्म बनाएर हिरो बने, अमृत लामा । निर्मल शर्माको निर्देशनमा बनेको तालमा उनी आफू मात्र हिरो बनेनन्, प्रेमिका सम्झना खड्कालाई हिरोइनको रूपमा डेब्यु पनि गराए । अमृतले नारायण पुरीको निर्देशनमा ‘पापी’ नामक फिल्म पनि निर्माण गरे । सो फिल्ममा पनि उनी हिरोको रूपमा देखिए । तर, दुवै फिल्ममा आर्थिक मुनाफा नभएपछि उनी फेरि हिरो बनेका छैनन् ।
ज्योति शर्माले ‘दोधार’ र ‘मोहनी लाग्ला है’ फिल्ममा मुख्य भूमिका निर्वाह गरिन् । तर, उनको फिल्मी करिअरले गति लिन सकेन । त्यसपछि उनी पर्दामा देखिएकी छैनन् । त्यसैगरी, ‘आमाको माया’, ‘रक्षक’, ‘आन्दोलन’लगायतका फिल्ममा अभिनय गरेकी वर्षा खड्काको फिल्मी करिअर पनि बीचमै रोकियो ।
ग्ल्यामरस दृश्यका कारण तुलसा सिलवाल एकताका चर्चित थिइन् । ‘धर्म’, ‘हत्या’, ‘सान्नानी’लगायतका फिल्ममा अभिनय गरेकी तुलसा बलिउडको चाहनाले भारत पसिन् । त्यहाँ उनले ‘सी ग्रेड’का हिन्दी फिल्ममा अभिनय गर्ने गरेको खबर आएको थियो । तुलसालाई निर्देशक नरेश पौडेलको खोजका रूपमा लिने गरिएको थियो ।
सुपरहिट फिल्म ‘सोल्टिनी’की हिरोइन मेघा पोखरेलको एकताका निकै चर्चा थियो । सत्र वर्षको उमेरमै हिरोइन बनेकी मेघाले त्यसपछि ‘सान्नानी’ फिल्ममा अभिनय गरिन् । उनका दुवै फिल्म सफल भए । करिअर उकालो लाग्दै गर्दा उनी निर्देशक अरुणकुमार झाको प्रेममा परिन् । केही समयपछि उनीहरू बिहे बन्धनमा बाँधिएको खबर आयो । तुलसी घिमिरेको निर्देशनमा बनेको ‘मितज्यू’ र ‘रहर’ फिल्मका हिरो प्रशान्त सिंह त्यसपछि कतै देखिएनन् ।
सोल्टिनी फिल्मबाटै डेब्यु गरेका अभिनेता लोकेन्द्र कार्कीले त्यसपछि ‘देउराली’, ‘आर्मी’, ‘दुलाहा राजा दुलही रानी’, ‘जंगे’, ‘शासन’लगायतका फिल्ममा अभिनय गरे । आफँैले निर्माण गरेको शासन असफल भएपछि उनी पुनः पर्दामा देखिएका छैनन्।
सुमीना श्रेष्ठले चिरञ्जीवी बस्नेतको ‘चक्रव्यूह’, राजु शाहको ‘इन्द्रेणी’, किशोर ढकालको ‘बुहारी’लगायतका फिल्ममा अभिनय गरिन् । करिअर अघि बढ्ने छाँट नदेखेपछि उनी बिहे बन्धनमा बाँधिइन् । बिहेपछि उनले अभिनयलाई चटक्कै माया मारेकी छिन् । त्यसैगरी, सुमी खड्का तीन फिल्ममा हिरोइन भइन् । ‘सुपरस्टार’, ‘एक नजर’ र ‘ग्रहण’ । भुवन केसीको सुपरस्टारमा उनी सहनायिका थिइन् भने ग्रहणमा र एक नजरमा मुख्य हिरोइन । सुपरस्टार हिट भयो भने नरेन्द्र श्रेष्ठ निर्देशित ग्रहण र कृष्ण चापागाईं निर्देशित एक नजर पूर्ण असफल । फिल्मी करिअरबाट उँभो लाग्ने छाँट नदेखेपछि उनी एअर होस्टिङमा लागिन् ।
चिरञ्जीवी बस्नेतको ‘चण्डाल’ फिल्मबाट सहनायक भई देखापरेका सुनीलदत्त पाण्डे त्यसपछि ‘सुकुम्बासी’, ‘भाग्य’, ‘भुतुक्कै भएँ नि’, ‘मेरी आमा’लगायतका फिल्ममा हिरो बने । अभिनयका साथै फिल्म निर्माणमा समेत सक्रिय रहेका उनी अचेल फिल्म बनाउँदैनन् । पछिल्लो समय उनी केही फिल्ममा भिलेनका रूपमा देखिने गरेका छन् ।
आफैँ फिल्म बनाएर हिरो बनेका थिए, ध्रुव रिजाल । उनले तेजेन्द्र भुर्तेलको निर्देशनमा ‘बिहानी’ फिल्म निर्माण गरे । बिहानी असफल भयो । त्यसपछि उनी फेरि हिरो बनेनन् ।
‘चाँदनी’ फिल्मका साइड हिरो विष्णु रिजाल ‘मोहनी लाग्ला है’मा एकल हिरो बने । तर, उनी हिरोको रूपमा जम्न सकेनन् । त्यसपछि उनी पुनः हिरो बनेका छैनन् ।
‘कैदी’ फिल्मकी हिरोइन क्षितिजा शाक्यको फिल्मी करिअर पनि उँभो लागेन । धेरै वर्षको अन्तरालपछि क्षितिजा दुई वर्षअघि ‘मिस नेपाल’ फिल्ममा देखापरिन् । शुभेच्छा थापाले निर्माण गरेको सो फिल्मको प्रचारमा भने क्षितिजाले साथ दिइनन् ।
निर्देशक पति अनीष कोइरालाको फिल्म ‘के भो लौन नि’मा प्रमुख हिरोइन बनेकी अनुपमा प्रसाईं त्यसअघि किशोर सुब्बाको ‘खुकुरी’ फिल्ममा अभिनय गरेकी थिइन् । के भो लौन निपछि उनी फेरि हिरोइन बनिनन् । पति अनीषका साथ उनी अमेरिका उडिन् ।
शम्भु प्रधानका टेलिसिरियलमा राम्रै भूमिका निर्वाह गरिरहेका प्रफुल्ल राजभण्डारीलाई हिरो बन्न मन लाग्यो । लक्ष्मीनाथ शर्माको ‘भाइटीका’ फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेका प्रफुल्ल फेरि पर्दामा देखिएनन् । सिरियल पनि बन्द भए, फिल्म पनि चलेन । त्यसपछि उनले पेसा परिवर्तन गरे । सिरियलमा राम्रै जमेकी सिरु विष्ट ‘कुरुक्षेत्र’लगायत केही फिल्ममा प्रस्तुत भइन् । हिरोइनका रूपमा करिअर नबन्ने देखेपछि उनी चरित्र अभिनयमा लागेकी छिन् ।
रमेश बुढाथोकीको निर्देशनमा बनेका ‘फेरि तिम्रो याद आयो’ र ‘लगनगाँठो’ फिल्मबाट हिरोको रूपमा देखापरे– सौरभ कार्की । नेपाली बबी देओलका रूपमा चर्चा पाएका उनी हिरोमा जमेनन् । भारतीय अभिनेता बबी देओलसँग अनुहार मिल्दोजुल्दो लाग्ने सौरभ पछि केही भिडियोफिल्ममा देखिएका थिए । मेनपावरमार्फत विदेशमा कामदार पठाउने कार्यमा सक्रिय रहेका उनी अचेल फिल्मवृत्तमा सक्रिय छैनन् ।
अमृतजंग बस्नेतले केही फिल्ममा अभिनय गरे । ‘चक्रव्यूह’, ‘ठूले’, ‘मन मेरो मान्दैन’, ‘फेरि तिम्रो याद आयो’लगायतका फिल्मका हिरो अमृत अभिनयमा जम्दै थिए । तर, परिवारसहित विदेश पलाएन भए ।
‘मुनामदन’का मदन दीपक त्रिपाठी पनि हिरोको रूपमा जमेनन् । ‘उनको सम्झना’मा पनि अभिनय गरेका त्रिपाठी ‘करुणा’, ‘कसलाई आफ्नो भनूँ’, ‘पुष्पाञ्जली’लगायतका सिरियलका चर्चित अभिनेता हुन् । उनी अभिनीत नवीन निरौलाको ‘फिंगरप्रिन्ट’ प्रदर्शनमा आउन बाँकी छ । त्रिपाठी केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।
गायक निमा रुम्बा ‘कागबेनी’ फिल्ममा प्रमुख भूमिकामा देखिएका थिए । गायनमा झैँ अभिनयमा उनलाई सफलता मिलेन । कागबेनी सफल भएन । निमा ‘भिसा गर्ल’ फिल्ममा अतिथि भूमिकामा थिए ।
सनी बी केसी आफैँ लगानी गरेर हिरो बने । सनीले आकाश अधिकारीको निर्देशनमा ‘गोर्खा रक्षक’ फिल्म निर्माण गरेका थिए।
गोर्खा रक्षकले निर्माताको रक्षा गर्न सकेन । सनी अमेरिकै फर्किए ।
‘औँठाछाप’ र ‘ग्रहण’ फिल्मबाट दीपर्शनजंग राणालाई सम्भावना बोकेको हिरोको रूपमा हेरिएको थियो । तर, पछि उनी फिल्म अभिनयमा सक्रिय देखिएनन् । त्यसैगरी, ‘हत्तेरी’, ‘ग्रहण’, ‘स्टार’लगायतका फिल्मका हिरो श्याम घिमिरेले पनि आफूलाई अभिनयमै समर्पित गर्न सकेनन् । जग्गाजमिन कारोबारमा लागेका श्याम कहिलेकाहीँ म्युजिक भिडियोमा भने देखिने गरेका छन् । ग्रहण फिल्मबाटै सहनायिकको रूपमा देखापरिन्, कादम्बिनी पाण्डे । त्यसपछि उनी पनि फिल्ममा देखापरिनन् ।
अभिनेत्री सुशीला रायमाझीकी छोरी प्रसिद्धिका ‘पिँजडा’ र ‘धनसम्पत्ति’ फिल्ममा हिरोइनका रूपमा देखापरिन् । अध्ययनको क्रममा अमेरिका उडेकी उनले अभिनयलाई निरन्तरता दिइनन् । रञ्जिता गुरुङले ‘दशगजा’, ‘गोर्खापल्टन’, ‘धूम’लगायतका फिल्ममा अभिनय गरिन् । फिल्ममा खासै जम्न नसके पनि उनी म्युजिक भिडियोमा भने देखिने गरेकी छिन् ।
‘बाटुली’, ‘धूम’ र ‘हाम्रो मिलन कहिले हुन्छ’की सहनायिका सञ्चिता गुरुङले पनि फिल्मलाई करिअर बनाउन सकिनन् । ‘कुसुमे रुमाल’ र ‘इकु’ फिल्मकी हिरोइन उषा रजकले पनि फिल्ममा करिअर बनाइनन् । त्यसैगरी, ‘कुसुमे रुमाल’, ‘ब्याच नम्बर १६’ र ‘तिमी मेरो म तिम्रो’की हिरोइन रुवी भट्टराई पनि बिहे गरेर घरजममा लागिन् ।
‘सीमारेखा’, ‘जंगे’लगायतका फिल्मकी हिरोइन रजनी रानाले पनि बिहेपछि अभिनय छाडिन् । आफ्ना बाबु शम्भु प्रधानका फिल्ममा बालकलाकार हुँदै ‘१६ वर्षे जावन’बाट हिरोइन बनिन्, ईश्वरी प्रधान । उनले पनि फिल्ममा करिअर बनाउन चाहिनन् । बिहे गरेर अमेरिका बसाइँ सरिन् । ‘सिलसिला’, ‘राज भाइ’, ‘विरासत’लगायत फिल्मकी सहअभिनेत्री सोनिया केसीले पनि बिहेपछि कलाकारिता छाडेकी छिन् ।
‘तिमी नै बस्यौ मेरो मनमा’ र ‘कान्छी नानी’ फिल्ममा देखिएका अमर थापाले पनि अभिनयलाई निरन्तरता दिन सकेनन् । एक(दुई फिल्ममा मुहार देखाएर अन्य पेसा अँगालेका ‘हिरो–हिरोइन’ अरू पनि थुप्रै छन् ।





error: Content is protected !!