संशोधन विधेयकमा यसरी गल्यो मधेशी मोर्चा, अब के गर्लान् ?

काठमाडौ –संशोधनका लागि लामो समय आन्दोलन गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको दवावमा आएको संशोधन विधेयक आइतबार संसदमा टेबल भयो ।
प्रतिपक्षी दल एमालेको विरोधका बावजुद पनि सरकारले संशोधन विधेयक टेबल गरको हो । यसमा मधेशी मोर्चाको केहि हदसम्म जित भएको छ र सरकारको पनि । तर मधेशी मोर्चाले अब यसलाई यत्तिकै पास गराउनमा सहयोग गर्नेछ कि परिमार्जनका लागि दवाव दिनेछ त्यो आउने दिनमा देखिने नै छ ।
संशोधन प्रस्ताव ल्याउन र टेबल गराउनेसम्ममा मधेशी मोर्चाले राजनीतिमा गरेको ‘अप डाउन’ रोचक रहेको छ ।
सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा टेबल गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यसलाई सकारात्मक रुपमा लिँदै प्रशंसा गरेपनि परिमार्जनमा जोड दिएका छन् ।
तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संशोधन विधेयक टेबल हुनु सकारात्मक रहेको भएपनि परिमार्जनसहित पारित गराउनु पर्नेमा जोड दिए ।
‘सरकारले संसदमा टेबल गराउनु मात्र पूर्णता होइन, यसलाई पूर्ण सकारात्मक भन्न सकिदैन, पूर्ण सकारात्मक त्यो दिन भन्न सकिन्छ जुन दिन हामीसँग भएको तीन बुँदे सम्झौता अनुसार परिमार्जन सहित पारित हुन्छ,’ उनले भने ।
सरकार गठनमा बार्गेनिङ
एमाले खासगरी सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग बिच्किएका मधेशी मोर्चाका नेताहरुले ओली सरकार ढाल्नका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग तीन बुँदे सहमति गरेका थिए । सविधान संशोधन गर्न तयार भएपछि मात्र ओली सरकार ढालेर माआवादीको नेतृत्वमा सरकार बनाउनमा सहयोग गर्ने बार्गेनिङ गरेपछि साउन १९ गते तीन बुँदे सहमति भएको थियो ।
तीन बुँदेमा नै सविधान संशोधन गर्ने कुरा उल्लेख थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेपछिको ६ महिनापछि अर्थात मंसिर १४ गते सविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराइयो ।
छ महिनाको अवधिमा तीन बुँदामा उल्लेख भएकामध्ये आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेलाई उपचार, उच्चस्तरीय छानविन आयोग गठनलगायतका काम भएको थियो ।
संशोधन प्रस्तावको विरोध
संशोधन प्रस्ताव दर्ता भएपछि तीन बुँदे सम्झौता अनुसार सो प्रस्ताव नआएको भन्दै मधेशी मोर्चाले त्यसको विरोध गर्यो । विरोध मात्र होइन, मंसिर १५ गते बैठक बसि त्यसलाई स्वीकार नगर्ने भन्दै विज्ञप्ति नै जारी गर्यो ।
मोर्चाले मात्र होइन, उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपाल र अनिल झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीले पनि छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर संशोधन प्रस्तावको विरोध गरेका थिए ।
जब कि संशोधन प्रस्ताव आउनु भन्दा एकदिन अगाडि अर्थात मंसिर १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका नेताहलाई बोलाएर संशोधन प्रस्ताव ल्याउनका लागि नहतारिन सुझाव दिएकी थिइन् । त्यही समयमा उपेन्द्र यादव र डा।बाबुराम भट्टराईले संशोधन प्रस्ताव ल्याउनका लागि संयुक्त विज्ञप्ति जारी गरे । त्यति मात्र होइन, त्यही दिन उपेन्द्र यादवले प्रचण्डलाई भेटी संशोधन प्रस्तावको बारेमा छलफल गरेका थिए ।
अन्ततः मंसिर १४ गते संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भयो ।
दूतावासको मिटिङ
संशोधन प्रस्तावको विरोध गदै गरिरहँदा नेपालका लागि भारतीय राजदूतले मंसिर १८ गते मधेशी मोर्चाका नेताहरुलाई बोलाएर कुराकानी गरेपछि मंसिर २५ गते बैठक बसेर परिमार्जनसहित पारित पारित भए मात्र सो प्रस्तावलाई स्वीकार गर्ने निर्णय गर्यो । जब कि मंसिर १५ गतेको निर्णयले सो प्रस्तावलाई सिधै अस्वीकार गरेको थियो ।
मधेशी मोर्चाले कुरा फेरेपछि प्रतिपक्षी दल एमालेले आन्दोलन चर्काउने निर्णय गर्यो । विभिन्न कार्यक्रमहरु घोषणा गर्यो । एमालेले आन्दोलन गर्न थालेपछि सरकारलाई समेत अप्ठ्यारो पर्न थालेको थियो । संशोधन विधेयकलाई प्रतिपक्षि दल एमाले तथा सरकारलाई सहयोग गरेको मधेशी मोर्चाले समेत विरोध गर्न थालेपछि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्र अप्ठ्यारोमा परेको थियो ।
तीन दल कडा भएपछि।।
जसका लागि संशोधन प्रस्ताव ल्याइयो, उसैले समेत विरोध गर्न थालेको भन्दै पुस १३ गते बसेको एमालेसहित तीन दलको बैठकले निर्वाचनको मितिको घोषणा गर्ने सहमति गरेको थियो ।
तीन दलले त्यस्तो निर्णय गरेपछि मधेशी मोर्चा आत्तिए । पुस १४ गते मधेशी मोर्चाको बैठक बसि संशोधन पास नगरी चुनाव गराउनका लागि तीन दल मिलिसकेको भन्दै पुस १८ गते देशैभरि विरोधसभा र्याली गर्ने निर्णयसम्म भयो ।
त्यति मात्र होइन, सोही दिन मधेशी मोर्चाका नेताहरु काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ‘निर्वाचन होइन, पहिला संशोधन प्रस्ताव पारित गराउनुस् बरु त्यो पास गराउनका लागि के के गर्नुपर्छ मोर्चा गर्न तयार’ रहेको प्रतिवद्धता जनाएका थिए ।
मोर्चा गलिसकेको थाहा पाएर देउवाले भने, तपाईहरु नआतिनुस् पहिला संशोधन प्रस्ताव टेबल हुन्छ अनि मात्र चुनावको मिति घोषणा हुन्छ ।’
त्यसको भोलिपल्ट विहानै उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । प्रचण्डले पनि देउवा जस्तै प्रतिवद्धता जनाएपछि मोर्चा निकै उत्साहित भएको थियो । अन्ततः संशोधन विधेयक टेबल भयो । अब यो पास हुन्छ कि हुँदैन, त्यो हेर्न बाँकी छ ।
स्रोत भन्छ– एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको आन्तरिक सहमति अनुसार यसलाई टेबल मात्र गर्ने । टेबल भएपछि निर्वाचनसँग सम्बन्धित अन्य विधेयकलाई पारित गराउँदै निर्वाचनको मिति घोषणा गरेर चुनावमा जाने हो ।’
सो बीचमा चुनावको तयारी पनि हुँदै गर्नेछ भने संशोधन विधेयकको बारेमा पनि छलफल चलिरहने स्रोतको भनाई छ ।
तीन दल यसरी अघि बढे मोर्चा कसरी अघि बढ्न त्यो भने हेर्न बाँकी नै छ । तर के प्रष्ट छ भने विगतमा जस्तै मोर्चाले संशोधन विधेयक पारित गराउनका लागि आन्दोलनको चेतावनी भने दिइनैरहनेछ ।










