नेपाली भाषा बचाऔँ

मंसिर १८ , २०७३ भाषा मानव जातिको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो। यसैका माध्यमबाट मानव जातिले आर्जन गरेको ज्ञान, विज्ञान, साहित्य, संस्कृति, सभ्यता, दर्शन आदिको सुरक्षा, संरक्षण र संवर्द्धन गर्न सकिन्छ।

नेपाली भाषा वर्तमानमा नेपालको सरकारी कामकाजको भाषा र सबै जातजातिको आपसी सम्पर्कको भाषा मात्र नभएर विश्वका विभिन्न देशका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूको अस्तित्व संरक्षणको भाषा पनि भएको छ। यस्तो अवस्थामा नेपाली भाषालाई कसरी सजिलो, रसिलो, मीठो र बलियो बनाउने भन्नेबारेमा भाषाप्रेमीहरूमा चिन्ता र चासो जाग्नु स्वाभाविक हो।

एघारौं शताब्दीदेखि विकासको प्रक्रियामा रहेको नेपाली भाषालाई मानक स्वरूपमा ल्याउन अनेकौँ भाषिक आन्दोलन भएका छन्, अनेकौँ अभियान सञ्चालन भएका छन् र असङ्ख्य विद्वानहरूले यसको शृङ्गार गर्नका निम्ति आफ्नो सिङ्गै जीवन अर्पण पनि गरेका छन्। यसैको परिणाम स्वरूप हामीले आज नेपाली भाषालाई यत्तिको समुन्नत अवस्थामा देख्न पाएका छौँ, यो हाम्रा लागि गौरवको कुरा हो।

स्थापित मान्यतालाई विस्थापित गरेर अप्राकृतिक तरिकाले अस्वाभाविक नियमहरू थोपरेर भाषालाई सर्वग्राह्य, बालमैत्री र प्रविधिमैत्री बनाउने नाममा हेहेबजी (हेमाङ्गराज अधिकारी, हेमनाथ पौडेल, बद्रीविशाल भट्टराई र जीवेन्द्रदेव गिरी) लगायतका केही सीमित व्यक्तिको पहलमा जसरी नेपाली भाषालाई जटिल, कुरूप र अव्यावहारिक बनाउने दुष्प्रयास भएको छ, त्यो सर्वथा त्याज्य र अस्वीकार्य छ।

भाषाको स्वभाव परिवर्तनशील हुन्छ र यो समय परिस्थितिअनुसार परिवर्तित पनि हुँदै जान्छ। हामीले भानुभक्त भन्दा अघिको नेपाली भाषा, भानुभक्तकालीन नेपाली भाषा, मोतीराम भट्टकालीन नेपाली भाषा, लेखनाथ पौड्याल, सम, देवकोटाकालीन नेपाली भाषा र अहिलेकै नेपाली भाषा हेर्यौँ भने पनि यो कुरा आफैँ स्पष्ट हुन आउँछ।

सहज रूपमा हुने भाषाको परिवर्तनलाई कसैले रोकेर पनि रोक्न सकिँदैन भने दुई-चार जना व्यक्तिले कुनै लहडमा बलात् परिवर्तन थोपर्न खोजेर त्यस्तो परिवर्तन सम्भव पनि हुँदैन। नेपाली भाषामा सहज र स्वाभाविक रूपमा परिवर्तनको शृङ्खला अद्यापि कायमै छ र यस्तो परिवर्तनको पहिचान गरेर यसको मानकीकरणतर्फ विद्वानहरूले ध्यान दिनु आजको आवश्यकता हो।

स्थापित मान्यतालाई विस्थापित गरेर अप्राकृतिक तरिकाले अस्वाभाविक नियमहरू थोपरेर भाषालाई सर्वग्राह्य, बालमैत्री र प्रविधिमैत्री बनाउने नाममा हेहेबजी (हेमाङ्गराज अधिकारी, हेमनाथ पौडेल, बद्रीविशाल भट्टराई र जीवेन्द्रदेव गिरी) लगायतका केही सीमित व्यक्तिको पहलमा जसरी नेपाली भाषालाई जटिल, कुरूप र अव्यावहारिक बनाउने दुष्प्रयास भएको छ, त्यो सर्वथा त्याज्य र अस्वीकार्य छ। उल्लिखित व्यक्तिहरूमध्ये पनि नेपाली भाषाको मानक स्वरूप भत्काएर यसलाई कुरूप पार्नेमा हेमाङ्गराज अधिकारीको भूमिका अग्रणि देखिएको छ।

उनी त्रि.वि., माध्यमिक र उच्चमाध्यमिक शिक्षा परिषद्, नेपाल प्रज्ञा-प्रतिष्ठान जस्ता महत्त्वपूर्ण ठाउँमा जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ केही व्यक्तिहको साथ लिएर नेपाली भाषालाई विकृत पार्नमा भरमग्दुर प्रयास गरेका छन्। आश्चर्यको विषय त यो छ कि विगत केही समयदेखि ‘मानक नेपाली भाषा अभियान’, ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’, विभिन्न भाषिक र साहित्यिक सङ्घसंस्थाहरूको चरणबद्ध रूपमा हुँदै आइरहेका विरोध कार्यक्रमहरूलाई दृष्टिगत गर्दै उनीहरूको धारणाप्रति सहमत भएर त्रि.वि. र नेपाल प्रज्ञा-प्रतिष्ठानले बलात् गरिएको अप्राकृतिक परिवर्तन खारेज गरेका छन् भने शिक्षा मन्त्रालय तथा माध्यमिक परीक्षा बोर्डले पनि नेपाली भाषासम्बन्धी भाँडभैले नियम खारेज गरेर मानक नेपाली भाषाको स्वरूपलाई अँगाल्ने प्रक्रियाको थालनी गरिसकेको छ।

यस्तो अवस्थामा पनि अप्राकृतिक परिवर्तनको पक्षमा रहेका हेमाङ्ग समूहका केही व्यक्तिले ‘मानक नेपाली भाषा अभियानमा’ सक्रिय रहेका साथीहरूलाई त्रि.वि. आयोगको परीक्षामा असफल गराउने र सरकारी निकायमा छिर्न र टिक्न नदिने धम्की दिँदै हिँडेको विषय आपत्तिजनक देखिएको छ।

भाषाका बारेमा बहस गर्नु र यसको संरक्षण, संवर्द्धन, सरलीकरण र सबलीकरणका लागि प्रयासरत संस्था र व्यक्तिहरूलाई हतोत्साहित गर्ने होइन कि उत्साहित गर्नु बुद्धिमानी हुने देखिन्छ। नेपाली भाषामा केही अप्राकृतिक नियमह थोपरेर विवाद निम्त्याउने काम चन्द्रगढी घोषणापत्र (२०६६), अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६), सबैको नेपाली (२०६७), नेपाली भाषा संगोष्ठी (२०६७), ललितपुर घोषणापत्र (२०६८), नेपाली कसरी शुद्ध लेख्ने? (२०६९), पाठ्यक्रम विकास केन्द्र सानो ठिमीद्वारा तयार पारिएको प्रकाशन शैली (२०७०), अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी (२०७२) र ने.प्र.प्र.द्वारा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ (२०७२) ले गरेको देखिन्छ।

यी घोषणापत्र, गोष्ठीपत्र, पुस्तक र कोशमा गरिएका केही भाषिक परिवर्तन स्वीकार्य देखिए पनि केही त्याज्य छन् भन्ने कुरा यसबारेमा त्रि.वि., ने.प्र.प्र., शिक्षा मन्त्रालय, पाठयक्रम विकास केन्द्र सानो ठिमीले अप्राकृतिक परिवर्तनलाई खारेज गर्ने कार्यको थालनी गरेको सन्दर्भबाट स्वतः सिद्ध हुन आउँछ।

आश्चर्यको कुरा त के छ भने एउटा अप्राकृतिक परिवर्तनको पक्षमा रहेका हेमाङ्ग समूहका केही व्यक्तिले ‘मानक नेपाली भाषा अभियानमा’ सक्रिय रहेका साथीहरूलाई त्रि.वि. आयोगको परीक्षामा असफल गराउने र सरकारी निकायमा छिर्न र टिक्न नदिने धम्की दिँदै हिँडेको विषय आपत्तिजनक देखिएको छ।

समूह नेपाली भाषमा प्रयोग हुँदै आइरहेको देवनागरी लिपिको व्यवस्था, वर्णविन्यास (समास, पदयोग, पदवियोग, ब, व, श, ष, स, क्ष, त्र, ज्ञ, ह्रस्व-दीर्घ) आदिका बारेमा नियम बनाएर विभिन्न निकायमा थोपर्दै गयो तर यसलाई अधिकतम संस्था र व्यक्तिहरूले अस्वीकार गर्दै गए। शिक्षक, प्राध्यापक, विद्यार्थी, पत्रकार, साहित्यकार कुनैले पनि यसलाई सहज रूपमा स्वीकार गर्न सकेनन्। आमनेपाली भाषा प्रयोक्ताले पनि यस्ता कृत्रिम परिवर्तनलाई महत्त्व दिएनन्।

प्रमाणका रूपमा २०६६ सालदेखि हालसम्म प्रकाशित पत्रपत्रिकाहरू र सरकारी निकायबाट प्रकाशित विद्यालय तहका पाठ्यपुस्तकहरू बाहेकका प्रकाशित पुस्तकहरू हेर्ने हो भने पनि यो कुरो स्पष्ट हुन आउँछ। लेखक आफैँ एउटा शिक्षक, प्राध्यापक, लेखक तथा साहित्यकार भएको नाताले पनि यो अप्राकृतिक भाँडभैले नियमले निम्त्याएको अनावश्यक पीडा भोग्न बाध्य भएको कुरा स्मरण गरिरहेको छु।

यस्तो पीडा म जस्ता हजारौँ शिक्षक, प्राध्यापक, साहित्यकार, पत्रकारलगायतका असङ्ख्य भाषाप्रयोक्ताहरूले पनि भोग्नुपरेको छ। यी केही भाँडभैलेहरूले विद्यालयस्तरमा एकथरी, उच्चमाध्यमिक तहमा अर्कोथरी र विश्वविद्यालय तहमा अर्कोथरी नियम लागू गराइदिएकाले शिक्षक/ प्राध्यापकहरूले माध्यमिक तहमा एकथरी, उच्चमाध्यमिक तहमा अर्कोथरी र विश्वविद्यालय तहमा अझ अर्कोथरी नियम पढाउनुपर्ने अवस्थाले पनि पिरोल्नुसम्म पिरोलिरहेको छ।

विभिन्न सङ्घसंस्थाहरू र यीमध्ये पनि ‘मानक नेपाली भाषा अभियान’, ‘मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल’को सशक्त प्रयासबाट नेपाली भाषामा देखिएको अराजकता हट्ने र मानकीकरण गर्ने कार्यको थालनी भएको छ, जसबाट केही वर्षदेखि नेपाली भाषामा लादिएको अन्योलको पनि छिट्टै अन्त्य हुने लक्षण देखापरेको छ। यस्तो अन्योल हट्नै पर्छ।

प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म एकै किसिमको सहज, सरल र स्वाभाविक भाषिक नियम कायम गरेर नेपाली भाषालाई नारामा होइन कि यथार्थमै सबै प्रयोक्ताका लागि सरल, सरस, बालमैत्री र प्रविधिमैत्री बनाउनेतिर सरकार, विश्वविद्यालयहरू, माध्यमिक परीक्षा बोर्ड, नेपाल प्रज्ञाप्रतिष्ठान र भाषाप्रेमी विद्वानहरू सक्रिय हुनुपर्छ।

नेपाल, भारतका विभिन्न प्रदेशहरू, भुटान, वर्मा आदिमा मात्र होइन कि विश्वका अन्य धेरै देशमा नेपालीभाषीहरू करोडौँको सङ्ख्यामा रहेका छन्। उनीहरूले नेपाली भाषाको समुन्नतिका लागि सक्दो प्रयास गर्दै आइरहेका छन्। यस्तो अवस्थामा नेपालबाट नै नेपाली भाषाको अस्तित्वलाई समाप्त पार्ने खालका गतिविधि जानेर वा नजानेर पनि सञ्चालन हुनुलाई सामान्य अर्थमा लिन सकिँदैन। नेपाली भाषाको समुन्नतिका लागि नेपालले विशेष पहल गर्नुपर ।

thahakhabar.





error: Content is protected !!