जसले मागेर जीवन वचाउँछन्

जाजरकोट    पुस १२, बस्ने बास छैन । खाने गाँस पनि छैन । सहारा दिने कोही छैनन् । शरीर अशक्त छ । गर्खाकोट ५, मैपका ५७ वर्षीय कृष्णबहादुर शाही र ३७ वर्षीया दुर्गादेवीको जोडीलाई अर्काको घरदैलो नचहारी हातमुख जोडिँदैन ।

रिठाको रूखबाट लडेर १२ वर्षकै उमेरमा कृष्णबहादुरको देब्रे हात भाँचियो । घरेलु उपचार भरमा उनको हात पूर्व अवस्थामा फर्कन सकेन । अपांग जीवन जिउँदै आएका कृष्णबहादुरको २ वर्षअघि सिंडीबाट लडदा देब्रे खुट्टा पनि भाँचियो । घरेलु उपचारको विकल्प नभएका उनको खुट्टा पनि पूर्वअवस्थामा आएन । पत्नी दुर्गादेवी पनि २ वर्षकै उमेरमा चुलोमा परेर पैतला जल्दा देब्रे खुट्टाकै अपांग छिन् । उनीहरू दुवै लठ्ठीको सहाराले हिंडडुल गर्छन् । २२ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडी सन्तानविहीन छ । एक खुट्टा तथा लठ्ठीको सहाराले गाउँगाउँ माग्न पुग्ने गरेको कृष्णबहादुरले बताए । घरदैलोमा पुगेर नमागे पेट कसरी पाल्ने रु उनले बताए । गाउँमा दाजुभाइ छन् तर वास्ता गर्दैनन् । जन्माउने आमाबाबु र जीवनसाथी बाहेककाले दुस्खमा साथ नदिने उनको तर्क छ ।
‘जता गए पनि दुर्गादेवीलाई साथै लिएरै जान्छु । मेरो जीवनको सहारा नै उनी हुन् । सम्पत्ति पनि उनी नै हुन् । न बस्ने घर छ, न त खाना लाउनका लागि अन्य कुनै व्यवस्था छ,’ उनले भने, ‘जग्गा जमिन पनि छैन । दुवैले एकैसाथ माग्छौं । दानी मन भएकाले दिएको रकम र अन्नले मागेरै गुजारा चलेको छ ।’ अरूलाई १ घण्टा लाग्ने बाटो आफूलाई दिनभर लाग्ने उनले बताए । कहिले १ खुट्टाले टेकेर, कहिले घिस्रेर गन्तव्य पुग्ने गरेको उनी बताउँछन् । माग्नका लागि छिमेकमा मात्र हैन । थलहबजार, सल्लीबजार, सदरमुकाम खलंगालगायत पुगेर २र३ सातासम्म घुमिरहने उनले बताए ।
अपांगलाई सरकारले रेखदेख गर्न नसकेको उनको भनाइ छ । गरिब र अपांगता भएर पनि कुनै पनि सरसकारी सुविधा नपाएको कृष्णले बताए । सामाजिक सुरक्षा भत्ताका लागि गाविस कर्मचारीले परिचयपत्रका लागि सिफारिस नदिएको उनी बताउँछन् ।

तस्वीर भीमवहादुर सिंह कान्तिपुर





error: Content is protected !!