अयोग्य लडाकु’ विश्व च्याम्पियन


अल्ट्रा म्याराथनमा दौडिन थालेको १८ महिनामै मीरा राई विश्व वरियताको दोस्रो स्थान ओगट्न सफल भएकी छन् । अवसर र संकल्प भए जित टाढा छैन भन्ने उदाहरण बनेकी उनले १९ सेप्टेम्बर ०१५ मा स्पेनमा सम्पन्न ‘अल्ट्रा म्याराथन विश्व च्याम्पियनसिप’मा विश्व च्याम्पियनलाई पछ्याइन् । अहिले उनी नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ को छनोटमा परेकी छन् ।
अल्ट्रा म्याराथनमा अन्तर्राष्ट्रिय उपाधि विजेता २६ वर्षीया राईलाई नेसनल जोग्राफिकले २०१७ का १० साहसिक व्यक्तिको सूचीमा पारेपछि ‘पब्लिक च्वाइस’का लागि १६ डिसेम्बरसम्म अनलाइन भोटिङ हुनेछ । भोजपुरको विकट गाउँ सानोदुम्जाको विपन्न किसान परिवारमा जन्मेकी हुन् मीरा । जब उनी स्कुल जान थालिन्, धेरथोर समाजलाई चिन्न थालिन् । तब उनको मनमा प्रश्न खेल्न थाल्यो, ‘आमाबुबाले रातदिन मिहिनेत गर्दा पनि किन खान नपुगेको होला रु किन कोही धनी र कोही गरिब भएका होलान् रु’
धेरैलाई ‘अयोग्य लडाकु’ सावित हुनु पीडाको विषय बन्यो। तर, मीरा राईले त्यसलाई जीवनको प्रस्थान विन्दु बनाइन् ।
उनको मनमा यस्ता प्रश्न खेलिरहेका बेला माओवादी सशस्त्र द्वन्द्वको प्रभाव गाउँमा पुग्यो । उनी पढ्ने स्कुलमा सांस्कृतिक कार्यक्रम लिएर माओवादी पुग्थे र भाषण गर्थे । तिनका गीत र भाषणमा आफ्ना प्रश्नको उत्तर भेटेजस्तो लाग्न थाल्यो उनलाई । उनी भन्छिन्, ‘त्यसैले एक साताको तालिममा सहभागी हुने बहानामा म पनि माओवादीमा हिँडें ।’
आमाले अण्डासँग भुटिदिएको भात खाएर घरबाट निस्केको सम्झिन्छिन् उनी । घरबाट निस्किँदा बेजोड उत्साहले उनको खुन तातिएको थियो । सबै मान्छे बराबरी हुने दिन आउँछ भन्ने सपना टुसाएको थियो । ‘त्यसभन्दा बढीचाहिँ बन्दुक बोक्ने रहर थियो,’ उनी भन्छिन्, ‘पहिलो पटक कम्ब्याटमा सजिएका जनमुक्ति सेनाको सामुन्ने पुग्दा खुब रमाइलो लाग्यो ।’
पहिलोपल्ट बन्दुक बोक्न पाउँदा उनी खुशीले अवाक् भएकी थिइन् । भन्छिन्, ‘बन्दुक यत्तिकै डरलाग्दो कुरा हो । तर, त्यसबेला मलाई कहाँ डर लाग्नु रु कहिले छुन पाइएला भइरहेको थियो । बोक्न पाउँदा यति खुशी भएँ कि सीमा नै छैन ।’ बन्दुक बोक्न थाल्दा उनी १४ वर्षकी मात्र थिइन् । त्यसैले लड्न जानुपरेन । बरु छिमेकी जिल्ला खोटाङ, उदयपुरदेखि सुदूरपश्चिमका विभिन्न गाउँबस्ती पुग्ने मौका पाइन् । आफ्नो गाउँको भन्दा कता हो कता दुःख भेटिन् उनले सुदूरपश्चिममा ।
युद्धमा सँगै हिँडिरहेका साथीले ज्यान गुमाउँदा उनको मुटु सिरिंग हुन्थ्यो । तर, मान्छेमाथि भएको थिचोमिचो विरुद्धमै संघर्ष हुँदैछ भन्ने लागेको थियो । त्यसैले डर र आकर्षण दुवै थियो उनको मनमा । एक्कासि युद्धविराम र शान्ति प्रक्रिया सुरु भयो । जनमुक्ति सेनालाई शिविरमा पठाइयो । उनलाई लागेको थियो, युद्ध सकिएकाले समायोजनमा गए राम्रै होला ।
तर, समायोजनमा उनीलगायत धेरै साथी परेनन् । नपर्नुको कारण पनि उनीहरूले खासै थाहा पाएनन् । त्यतिबेला उनी जनमुक्ति सेनाको दोस्रो डिभिजन सिन्धुलीमा थिइन् । भन्छिन्, ‘शिविर छाड्दा साथीहरूबीच रुवाबासी भयो । देशमा शान्ति हुन्छ भने ठीक छ भन्ने लागेर निस्क्यौं । पछि हामीलाई युद्ध लडाएको पार्टीले नै पनि बेवास्ता गर्यो । त्यो देखेर भने दिक्दार लाग्यो ।’
मीरा आफू माओवादी आन्दोलनमा जोडिनुलाई जीवनको अवसरका रूपमा लिन्छिन् । युद्धका क्रममा नै आफूले व्यक्तित्व विकास गर्ने अवसर पाएको बताउँदै भन्छिन्, ‘म गरिब परिवारकी केटी, पार्टीमा नजोडिएको भए देशका विभिन्न ठाउँमा पुग्न कहाँ पाउनु रु त्यहाँका दुःख देखेर नै मैले अवसरको खोजी गर्ने सपना बुनें ।’
धेरैलाई ‘अयोग्य लडाकु’ सावित हुनु पीडाको विषय बन्यो । तर, उनले त्यसलाई जीवनको प्रस्थान विन्दु बनाइन् । क्यान्टोनमेन्टमा रहँदै उनले अधुरो पढाइ पूरा गर्ने अठोट गरिन् र प्राइभेट एसएलसी दिने तयारी गरेकी थिइन् । बाहिर निस्कनेबित्तिकै एसएलसी परीक्षामा सहभागी भएर उत्तीर्ण भइन् । तीन वर्षअघि उदयपुरको गाईघाटबाट जेटीए कोर्स पनि पूरा गरिन् ।
क्यान्टोनमेन्टमा हुँदा व्यक्तित्व विकासका लागि खेलकुदलगायत गतिविधि सञ्चालन हुन्थे । बाहिरबाट प्रशिक्षक झिकाएर तालिम दिइन्थ्यो । मीराले पनि शिविरमा कराँतेको प्रशिक्षण लिएकी थिइन् । त्यसै सन्दर्भमा बालाजु कराँते डो प्रतिष्ठानका प्रमुख प्रशिक्षक धु्रवविक्रम मल्लसँग उनको परिचय भयो । शिविरबाट बाहिरिएपछि उनी मल्लको सम्पर्कमा पुगिन् र उनकै आश्रयमा बसिन् । कराँतेको ब्ल्याक बेल्ट लिइन् ।
शिक्षक मल्लले उनको लामो समय खेलमा टिक्न सक्ने, नथाक्ने क्षमतामाथि ध्यान दिइरहेका थिए । त्यो गुण अल्ट्रा म्याराथनमा अब्बल सावित हुन सक्ने ठम्याएपछि ब्रिटिस लाहुरेको तयारी गरिरहेका युवाका साथ मीरालाई दौड अभ्यासमा पठाए उनले । मीराले ती सबै युवालाई दौडमा जित्थिन् । टोलीका प्रशिक्षक तथा नेपाली सेनाका अल्ट्रा रनर भीम तामाङले उनको खुबी पहिचान गरे ।
त्यसपछि मल्लसँगको सल्लाहमा तामाङले मीरालाई बालाजु गेटबाट मकवानपुरको फूलबारीसम्मको ५० किलोमिटर दूरीको हिमालयन अल्ट्रा रनिङ प्रतियोगितामा सहभागी गराए । ८ चैत ०७० मा भएको उक्त खेलमा उनले प्रथम स्थान हासिल गरिन् । त्यसपछि अल्ट्रा म्याराथन दौडको यात्रामा पछाडि फर्किनु परेको छैन ।
त्यसपछि उनले नेपालमा निकै प्रतियोगिता जितिन् । त्यसैक्रममा ६ वर्षदेखि विश्वभरका ट्रेल रनरलाई नेपाल ल्याएर व्यावसायिक रूपमा दौडाउँदै आएका ‘ट्रेल रनर नेपाल’ का संस्थापक रिचार्ड बुलको नजरमा परिसकेकी थिइन् । रिचार्डकै पहलमा विश्वस्तरीय खेलमा सहभागी हुने मौका पाइन् उनले । उनको पहिलो अन्तर्राष्ट्रिय खेल यात्रा सेप्टेम्बर २०१४ मा इटालीको सिलोरोडा ट्रेल रनिङबाट सुरु भयो ।
५७ किमिको उक्त दौडमा प्रथम हुँदै उनले त्यसअघिको रेकर्ड तोडिन् । त्यसपछि इटाली, हङकङलगायत ठाउँमा भएका खेलमा आफूलाई पहिलो स्थानमा कायमै राखिन् । विश्व वरियताको दोस्रो स्थान ओगट्नुअघि ११ असार ०७२ मा फ्रान्समा भएको ८० किमि माउन्ट ब्लांक अल्ट्रा म्याराथन विश्व च्याम्पियन बनिन् ।
आँखाभरी विश्व विजेता बन्ने सपना बोकेर संसारका पहाडहरूमा दौडिँदा केही महिनाअघि उनको खुट्टाको लिगामेन्ट फाट्यो । समस्याकै बीच उनले अल्ट्रा म्याराथनको विश्व च्याम्पियनको दोस्रो वरियता हासिल गरिन् । केही महिनाअघि इटालीमा उपचार गरेर फर्केपछि उनी अहिले विश्राममा छिन् । भन्छिन्, ‘मौका पाएँ । १८ महिनामै यति गरेँ । यो सुरुवात हो, अझै धेरै गर्नु छ मलाई ।
मेरो सपना आफूसँगै सम्भावना भएका अरू भाइबहिनीलाई अवसर र नेतृत्व दिनु पनि हो ।’ अहिलेसम्म उनको प्रतिभालाई चिन्ने बुल र अन्य केहीको व्यक्तिगत सहयोगले उनी यहाँसम्म आइन् । तर, देशको गरिमालाई अझ उचाइमा पु¥याउन राष्ट्रका तर्फबाट विशेष पहल हुनु आवश्यक रहेको उनको ठम्याइ छ ।
खुट्टा ठीक भएपछि आफू अझै धेरै कुद्ने र आफूले प्रशिक्षण दिएका बहिनीहरूलाई संसारका अनौठा पहाडहरूमा कुदाउने उनको सपना छ । आफ्ना उत्पादन बेचेर खेलाडीलाई सहयोग गर्ने फ्रान्सको स्पोर्टस् कम्पनी सालमनले पनि उनको यात्रामा केही सघाएको छ । उनी ट्रेल रनिङ नेपालकी प्रशिक्षक पनि हुन् । उनीबाट दीक्षित सुनमाया बुढा र पूर्णलक्ष्मी न्यौपाने एसियन च्याम्पियन बनिसकेका छन् ।
विभिन्न देशका अग्ला पहाडको टुप्पोमा पुग्दा उनलाई खुबै रमाइलो लाग्छ । भन्छिन्, ‘विभिन्न दौड जितेर देशको झण्डा फहराउँदा गर्वले ढक्क छाती फुल्थ्यो ।’ उनले जहाँ पुग्दा पनि ‘गोर्खाली छोरी’ भनेर सम्मान र माया पाइरहेकी छन् । उनी यो अपूर्व अवसरको श्रेय आफ्ना गुरु ध्रुवविक्रम मल्ल र सर रिचार्ड बुललाई दिन्छिन् । उनीमाथि लोयड बेल्चरले वृत्तचित्र ‘मीरा राई’ बनाएका छन् ।
annpurna post










