कीटनाशक औषधि प्रयोग गर्दा…

किरा मार्न प्रयोग गरिने औषधिलाई सामान्य भाषामा कीटनाशक औषधि भनिन्छ । प्राकृतिक जैविक या कृत्रिम स्रोतबाट प्राप्त रसायनलाई घरायसी प्रयोजनमा मुसा, साङ्ला, उपियाँ, उडुस, लामखुट्टे मार्न प्रयोग गरिन्छ । त्यस्तै, पशु तथा बोटबिरुवामा लाग्ने किरा मार्न पनि यस्ता विषादी प्रयोग हुन्छ । बजारमा विभिन्न प्रकारका कीटनाशक औषधि उपलब्ध छन् । तर, यस्ता कीटनाशक औषघि प्रयोग गर्दा भने विशेष ख्याल गर्नुपर्छ । अन्यथा यसले मानव स्वास्थ्यलाई नै गम्भीर असर पुर्याउन सक्छ ।

डा. केदार कार्की पशु स्वास्थ्य व्यवस्थापन विज्ञ
किराफट्यांग्राको पहिचान
कीटनाशक औषधि प्रयोग गर्नुअघि कस्तो खाले किराफट्यांग्राले हामीलाई नोक्सानी गराइराखेको छ, थाहा पाउनुपर्छ । किनभने, किराफट्यांग्राको किसिमअनुसार कीटनाशक औषधिको प्रयोग गर्नुपर्ने हुन्छ । अनुचित कीटनाशक औषधिको प्रयोगले किराफट्यांग्राको समस्या समाधान हुँदैन । आफूलाई किराफट्यांग्राका बारेमा जानकारी नभएमा सम्बन्धित विज्ञबाट सहयोग लिन सकिन्छ ।
कीटनाशक औषधिको चयन
बाली, बोटबिरुवा तथा पशुमा लाग्ने बाह्य परजीवीलाई मार्न भिन्नभिन्न कीटनाशक पाइन्छन् । यस्ता विषादीको चयन सावधानीपूर्वक गरिनुपर्छ । त्यस्ता कीटनाशक राखिएको बोतल, डिब्वा वा प्याकेटमा लेखिएको निर्देशन प्रयोग गर्नु उत्तम हुन्छ ।
कीटनाशक प्रयोग गर्दा
कीटनाशक विषादी छाला तथा श्वासनलीबाट सजिलै शरीरमा प्रवेश गर्छन् । त्यसैले शरीरमा कीटनाशकको प्रवेश रोक्न सुरक्षा उपकरणको पर्याप्त प्रयोग गर्नु आवश्यक हुन्छ । कीटनाशक प्रयोग गर्दा हातमा सुरक्षित पन्जा लगाउनु आवश्यक हुन्छ । यसले कीटनाशक औषधिको अंश छाला हँुदै शरीरमा प्रवेश हुन दिँदैन । शरीर पूरा छोप्ने गरी रासायनिक प्रतिरोधी लुगा लगाउनु उचित हुन्छ । श्वासद्वारा या मुखबाट कीटनाशक शरीरमा प्रवेश नगरोस् भन्न अनुहार नाक मुख छोप्ने गरी गमबुट लगाउनुपर्छ । टाउकाको सुरक्षाका लागि सुरक्षित टोपी लगाउनुपर्छ । आँखाको सुरक्षाका लागि चस्मा लगाउनु आवश्यक हुन्छ ।
कीटनाशक औषधि खरिद गर्नुअघि…
कीटनाशक औषधिको प्याकेट या बट्टामा ब्रान्ड, नाम, कती मात्रामा कीटनाशक रसायन प्रयोग गर्ने, कस्ता किराफट्यांग्राविरुद्ध प्रयोग गर्न सकिनेजस्ता विषय उल्लेख गरिएको हुन्छ । त्यस्तै, विषादी प्रयोग गरिने परिमाण, प्रयोग गर्ने तरिका र समयबारे पनि जानकारी राख्नुपर्छ ।
- कीटनाशक औषधि प्रयोग गर्दा आवश्यक सुरक्षा उपकरण तथा लगाउने लुगाबारे जानकारी लिनुपर्छ । कीटनाशकको असावधानीपूर्वक प्रयोगले पशु, मानिस तथा वातावरणमा पर्न सक्ने कुप्रभावबारे पनि सचेत हुनुपर्छ ।
- कीटनाशकबाट असर भएमा आपतकालीन एवं प्राथमिक उपचारको तरिकाबारे पूर्वतयारी गर्नुपर्छ ।
- कीटनाशक केटाकेटीको पहुँचबाट टाढा राख्नुपर्छ । जोखिम सावधानी तथा चेतावनीयुक्त सन्देशहरू कीटनाशक राखिएको स्थान या बट्टामा राख्नुपर्छ ।
- प्रयोगपछि कीटनाशक राखिएको टिनका डिब्बा, कागजका प्याकेट, खाली बोतल नष्ट गर्नेबारे जानकारी आवश्यक छ ।



