माओ दिवसमा , प्रचण्डले दिए कार्यकर्तालाई यस्तो निर्देशन

काठमाण्डौ
११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्न तथा संविधान क्रार्यान्वयनको चुनौती सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको १२४ औं जन्मजयन्तीका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
‘प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
प्रचण्डले माओलाई संसारभरका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत तथा विश्वकै महान् पुरुषमध्ये एकको संज्ञा दिएका छन् ।
संसारका क्रान्तिकारीहरुलाई वित्तीय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, मालेमाको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आव्हान गर्नु आफ्नो कर्तव्य ठानेको उनले बताएका छन् ।










