टहरामा मन्त्री खड्काकाे जीवन ः भूकम्पले भत्काएको घर, मनमा गाउँ बनाउने सपना

 हेमन्त केसी
सुर्खेत , २६ असोज ः रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा । टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिर। न भव्य घर छ, न पर्याप्त बस्ने ठाउँ, न त सहज जीवनयापनका लागि आवश्यक सबै सुविधा। तर यही हो उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काको जन्मघर, जहाँ पुग्दा उनी आफ्ना दिवङ्गत परिवारका सदस्यको तस्बिर देखेर भावुक बनिन्।

मन्त्री बनेपछि घर फर्किएकी खड्कालाई स्वागत गर्न कुनै भव्य भवन तयार थिएन। बरु, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले भत्काएको घरको अवशेष र त्यसपछि बनाइएको अस्थायी टहराले उनको विगत र वर्तमान सम्झाइरहेको थियो। घर पूर्ण रूपमा क्षति भएपछि उनी अहिले अस्थायी टहरामा बस्दै आएकी छन्।

मन्त्रीको घर भव्य र सुविधासम्पन्न होला भन्ने धेरैको अनुमान थियो। तर वास्तविकता फरक देखियो। राज्यको जिम्मेवार पदमा पुगेकी मन्त्री खड्काको आफ्नै घरसमेत भूकम्पपछि पुनर्निर्माण हुन सकेको छैन। टहराको सीमित ठाउँ, शौचालयको अभाव र खानेपानीको समस्याबीच उनको दैनिकी बितिरहेको छ। घर पुग्ने सडक भने कालोपत्रे छ। सडकले गाउँसम्म पुग्ने बाटो सहज बनाए पनि घरभित्रको अभाव र भूकम्पले दिएको पीडा भने अझै उस्तै छ।

भूकम्पले भत्काएको घर, पुनर्निर्माणको प्रतीक्षामा परिवार
२०८० कात्तिक १७ गतेको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा ठूलो जनधनको क्षति पु¥यायो। धेरै परिवारको घर भत्किए, कतिपयको जीवन नै बदलियो। त्यही विनाशको चोट मन्त्री खड्काको परिवारले पनि बेहोर्नुप¥यो।

घर पूर्ण रूपमा क्षति भएपछि अस्थायी टहरामा बस्दै आएकी खड्काको घर राज्यले भूकम्प प्रभावितका घर निर्माणका लागि गरेको विस्तृत क्षति मूल्याङ्कन (डिडिए) मा समेत पूर्ण पुनर्निर्माणको सूचीबाट छुटेको पाइएको छ। राज्यको जिम्मेवारीमा रहेकी मन्त्रीकै घर पुनर्निर्माणको प्रक्रियाबाट छुट्नुले भूकम्प प्रभावितको आवास पुनर्निर्माणको अवस्था र प्रक्रियामाथि प्रश्न उठाएको छ।

आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा मन्त्री खड्का घर पुग्दा बस्ने र सुत्ने ठाउँको समेत अभाव हुने गरेको छ। उनीसँगै पुग्ने सुरक्षाकर्मी तथा सचिवालयका कर्मचारीलाई राख्ने व्यवस्था गर्नसमेत कठिन हुने गरेको छ। पद र जिम्मेवारीले उनको परिचय बदलिए पनि जन्मघरको अवस्था भने बदलिएको छैन।

दिवङ्गत परिवारका तस्बिरले बनायो भावुक
घरबाहिर ढुङ्गाको थुप्रोमाथि राखिएका स्वर्गीय बुबा, आमा र दाजुका तस्बिरले त्यहाँ पुग्ने जोकोहीको ध्यान खिच्छन्। मन्त्री खड्का पनि ती तस्बिर देख्दा भावुक बनिन्। अस्थायी टहराको सीमितता र घरको भग्नावशेषबीच रहेका ती तस्बिरले उनको पारिवारिक स्मृति र गाउँसँगको सम्बन्धलाई झल्काइरहेका थिए।

अहिलेसम्म अविवाहित खड्काका लागि जन्मघर केवल बस्ने ठाउँ मात्र होइन, बाल्यकाल, परिवार र जीवनका सम्झनासँग जोडिएको स्थान पनि हो। मन्त्री बनेर घर फर्कँदासमेत सुविधासम्पन्न आवासको सट्टा टहराको जीवनमा रमाउनुपर्ने बाध्यता उनका लागि सहज छैन। तर जन्मथलोप्रतिको मोह र गाउँलाई राम्रो बनाउने चाहना भने उस्तै रहेको उनी बताउँछिन्।


आफ्नै घर अधुरो, गाउँमा मन्दिर निर्माण
आफ्नो घर पुनर्निर्माण हुन नसके पनि खड्काले गाउँको धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउन पहल गरेकी छन्। स्थानीय वृद्धवृद्धा र बासिन्दालाई धार्मिक आस्थासँग जोड्ने उद्देश्यले उनले १५ लाख रुपैयाँभन्दा बढी लागतमा मन्दिर निर्माण गराएकी छन्। मन्दिर निर्माण भएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।

गाउँमा सडक पुगेको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा पनि चासो दिइएको छ। नयाँ सहरका रूपमा विकास भइरहेको चौरजहारीबाट एक घण्टाभन्दा बढी यातायातमा यात्रा गरेपछि उनको जन्मघर पुग्न सकिन्छ। सडक र अन्य भौतिक संरचनाको विकाससँगै गाउँको स्वरूप परिवर्तन हुँदै गएको छ।

आफू सुविधासम्पन्न ठाउँमा बसेर जीवन बिताउनुभन्दा जन्मस्थानलाई नै राम्रो बनाउने आफ्नो चाहना रहेको खड्का बताउँछिन्। पुराना संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्न सके मात्र समाजको सम्मान र पहिचान कायम रहने उनको भनाइ छ।
उनको यो सोचले गाउँप्रतिको जिम्मेवारी र जन्मथलोप्रतिको भावनात्मक सम्बन्धलाई देखाउँछ। तर आफ्नै घरमा आधारभूत सुविधाको अभाव रहनु र गाउँको विकासका लागि गरिएका प्रयासबीचको विरोधाभासले त्यहाँ पुग्नेहरूलाई भावुक बनाउँछ।

मन्त्रीको घरको अवस्था, पुनर्निर्माणको सुस्ततामाथि प्रश्न
मन्त्री खड्काको घरको अवस्थाले भूकम्प प्रभावितको आवास पुनर्निर्माणमा भइरहेको ढिलाइलाई फेरि चर्चामा ल्याएको छ। भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित परिवारले सुरक्षित र स्थायी आवास पाउन नसक्नु गम्भीर विषय बनेको छ।

संघीय सरकारले जिम्मेवारी लिएको निजी आवास पुनर्निर्माणको काम सुरु हुन नसकेको अवस्थामा भूकम्प प्रभावित नागरिकले कहिले सुरक्षित घरमा बस्न पाउने भन्ने प्रश्न चर्किएको छ। मन्त्री खड्काकै घर पूर्ण क्षतिको सूचीबाट छुटेको पाइएको विषयले क्षति मूल्याङ्कन, लाभग्राही पहिचान र पुनर्निर्माण प्रक्रियाको प्रभावकारिताबारे समेत प्रश्न उठाएको छ।


यता कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति पुगेका स्वास्थ्य संस्था र विद्यालयको पुनर्निर्माणलाई तीव्रता दिएको छ। सार्वजनिक संरचना निर्माणले गति लिए पनि निजी आवासको समस्या समाधान हुन नसक्दा प्रभावित नागरिकको पीडा भने अझै कम हुन सकेको छैन।

जन्मथलो बनाउने सपना, तर कहिले फेरिएला टहराको जीवन?
मन्त्री खड्काका लागि आफ्नो गाउँ केवल राजनीतिक जिम्मेवारीसँग जोडिएको ठाउँ होइन, जीवनका स्मृति र भावनासँग गाँसिएको जन्मथलो हो। गाउँमा सडक पु¥याउने, धार्मिक परम्परा जोगाउने र स्थानीय बासिन्दालाई सुविधासँग जोड्ने प्रयास भइरहेका छन्। तर आफ्नै घरको पुनर्निर्माण हुन नसक्नुले विकासका प्राथमिकता र भूकम्पपछिको पुनर्निर्माणको वास्तविक अवस्थालाई उजागर गर्छ।

मन्त्रीसँग अहिले जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावित नागरिकको एउटै प्रश्न छ—हाम्रा घर कहिले बन्छ ? अस्थायी टहरामा जीवन बिताइरहेका परिवारका लागि पुनर्निर्माण केवल सरकारी योजना होइन, सुरक्षित जीवनमा फर्किने आशा हो।

मन्त्री खड्काको जन्मघरमा देखिएका दुईवटा प्लास्टिकका कुर्सी, टहराको साँघुरो छानो र ढुङ्गामाथि राखिएका दिवङ्गत परिवारका तस्बिरले एउटा गहिरो सन्देश दिन्छ । पद र प्रतिष्ठाभन्दा बाहिर पनि मानिसका आफ्नै दुःख, सम्झना र सपना हुन्छन्। गाउँलाई राम्रो बनाउने सपना बोकेकी मन्त्रीको आफ्नै घर कहिले पुनर्निर्माण हुन्छ भन्ने प्रश्नसँगै हजारौँ भूकम्प प्रभावितको प्रतीक्षा पनि जोडिएको छ।

अस्थायी टहराबाट स्थायी घरसम्म पुग्ने यो प्रतीक्षा कहिले टुङ्गिन्छ? यसको जवाफ मन्त्री खड्काको परिवारले मात्र होइन, जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्प प्रभावित नागरिकले पनि खोजिरहेका छन्।




सम्बन्धित समाचार


error: Content is protected !!