‘कर्णालीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउँछौँ’

सुर्खेत / उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले कर्णालीका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने गरी प्रवर्द्धन र बजारीकरण गर्ने बताउनुभएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतद्वारा निर्मित कोसेली गृहको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले कर्णालीका मौलिक उत्पादन, सीप, कला तथा परम्परागत ज्ञानलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभयो।

उहाँले कर्णालीका उत्पादनको गुणस्तर वृद्धि, बजारीकरण र आकर्षक प्रस्तुतीकरणमा सरकारको विशेष ध्यान रहने बताउनुभयो। स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने उहाँको भनाइ थियो।
“सरकार तपाईंहरूको साथमा छ। कर्णालीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारीकरणसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने गरी सरकारले काम गर्नेछ,” मन्त्री खड्काले भन्नुभयो।
मन्त्री खड्काले विशेषगरी महिलाको आर्थिक सशक्तीकरण र उनीहरूले उत्पादन गर्दै आएका मौलिक सामग्रीको प्रवर्द्धनमा सरकार गम्भीर रहेको बताउनुभयो। कर्णालीका महिलाले परम्परागत रूपमा गर्दै आएको सीप र उत्पादनलाई बजारसँग जोड्न सके त्यसले उनीहरूको आयआर्जनसँगै प्रदेशको अर्थतन्त्रमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।
उहाँले कर्णालीका विभिन्न समुदाय र क्षेत्रका मौलिक उत्पादनलाई समान अवसरका आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय उत्पादनलाई केवल स्थानीय बजारमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

“हाम्रा मौलिक उत्पादन, सीप र परम्परागत ज्ञानलाई प्राथमिकतामा राखेर त्यसको बजारीकरण गर्नुपर्छ। कर्णालीका सबै समुदायका उत्पादनलाई समान रूपमा अगाडि बढाउने सरकारको प्रतिबद्धता छ,” उहाँले भन्नुभयो।
मन्त्री खड्काले कोसेली गृहले कर्णालीका स्थानीय तथा मौलिक उत्पादनको प्रदर्शनी, बिक्री र बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयले उद्योग तथा वाणिज्य क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारलाई आफ्नो कार्यक्षेत्रभित्र प्राथमिकतामा राख्दै आएको छ।

उहाँले कोसेली गृह सञ्चालनका लागि समय र स्रोत व्यवस्थापन गरी कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।










