‘यो बेला जुहारी खेल्ने होइन, जनताको घाउमा मलम लगाउने हो’ : सांसद विक

सुर्खेत / प्रतिनिधिसभा सदस्य पार्वती विकले विपत्तिको गम्भीर अवस्थामा सरकार पक्ष प्रतिपक्षसँग जुहारी खेल्नेतर्फ लागेको आरोप लगाएकी छन्। उनले अहिले राजनीतिक आरोप–प्रत्यारोप गर्नेभन्दा पीडित नागरिकलाई न्याय र राहत दिने विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएकी छन्।
विकले सामाजिक सञ्जालमार्फत सरकार पक्षप्रति असन्तुष्टि जनाउँदै लाखौँ पीडित र हजारौँ मृतकको अवस्थामाथि न्याय खोज्नुपर्ने बेला सत्तापक्षका केही व्यक्तिले प्रतिपक्षसँग निउ खोजिरहेको टिप्पणी गरेकी हुन्।
उनले लेखेकी छन्, ‘मलाई लाग्दैछ सरकार पक्ष गम्भीर छैन। सरकार पक्ष प्रतिपक्षसँग जुहारी खेल्न चाहन्छ तर हामी गम्भीर छौँ, यो बेला जुहारीको होइन।’
विकले विपत्तिबाट प्रभावित नागरिकको पीडा सम्बोधन गर्नु सबै राजनीतिक दल र जनप्रतिनिधिको जिम्मेवारी भएको बताएकी छन्। ‘लाखौँ पीडित र हजारौँ मृतकको लासमा हामी न्याय दिन खोज्दैछौँ, बिडम्बना सत्तापक्षका केही अचेत मान्नेहरू हामीसँग निउ खोज्दैछन्,’ उनले भनेकी छन्।
जनताले आफूहरूलाई दिएको राजनीतिक हैसियत जे भए पनि जनताको पीडामा साथ दिन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ। ‘जनताले हामीलाई दिएको नम्बर जे सुकै होस्, तर हामी जनताको घाउमा मलम लगाउन जिम्मेवार छौँ,’ विकले उल्लेख गरेकी छन्।
उनले विपत्तिको समयमा राजनीतिक प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा पीडितको उद्धार, राहत, न्याय र पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई आग्रह गरेकी छन्।










