भारी वर्षाको सम्भावनापछि कर्णाली सरकारको तयारी तीव्र, कर्मचारीलाई बिदा रोक

सुर्खेत, १० भदौ ः कर्णाली प्रदेश सरकारले आगामी दुई दिन भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रदेशभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै सरकारी कार्यालयका प्रमुख तथा जिम्मेवार कर्मचारीलाई अत्यावश्यक कामबाहेक बिदामा नबस्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको विपद् व्यवस्थापन समन्वयात्मक बैठकले विपद्को जोखिम कायमै रहेकाले सरकारी संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो। अत्यावश्यक कामका कारण बिदामा बस्नुपर्ने अवस्था आएमा सम्बन्धित कार्यालयले वैकल्पिक कर्मचारीको व्यवस्था अनिवार्य रूपमा मिलाउनुपर्ने बैठकले निर्णय गरेको छ।

चार जिल्लामा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भदौ ११ र १२ गते कर्णालीका पहाडी जिल्लामध्ये दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिमका केही भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ।

भारी वर्षासँगै बाढी, पहिरो तथा सडक अवरुद्ध हुन सक्ने जोखिम रहेकाले प्रदेश सरकारले स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।

तीर्थयात्री र पदयात्रीलाई विशेष सतर्कता

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका तीर्थयात्री र पदयात्रीलाई समेत सतर्क रहन सरकारले आग्रह गरेको छ।

महाबुधाम ९दैलेख०, बडिमालिका ९बाजुरा०, ऋणमोक्ष धाम ९मुगु० र ठाकुरज्यू ९जुम्ला० लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा यात्रा गरिरहेकाहरूलाई मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा अघि बढाउन आग्रह गरिएको छ।

सरकारले जोखिमयुक्त सडक तथा पैदलमार्गको अवस्था बुझेर यात्रा गर्न र मौसम प्रतिकूल देखिएमा यात्रा स्थगित गर्नसमेत आग्रह गरेको छ।

रसुवा बाढीमा परेका कर्णालीवासीको खोजी गरिने

बैठकले रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट कर्णालीका नागरिकसमेत प्रभावित भएको हुन सक्ने भन्दै उनीहरूको अवस्था पहिचान गर्ने निर्णय गरेको छ।

कर्णालीका विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकको विवरण संकलन गरी उनीहरूको अवस्थाबारे जानकारी लिन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिचालन गरिने भएको छ। उनीहरूका परिवारसँग सम्पर्क स्थापित गरी आवश्यक समन्वय र सहयोग गर्ने व्यवस्था मिलाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ।

जाजरकोटमा राहत र उद्धारलाई तीव्रता

यसैबीच, जाजरकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई थप तीव्रता दिने निर्णय बैठकले गरेको छ। विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि सुरक्षा निकायसहित सम्बन्धित सबै सरोकारवालालाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट संकलन हुने विपद्सम्बन्धी विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना बोर्डमार्फत नियमित रूपमा सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रदेश सरकारले सम्भावित विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नागरिकलाई मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त स्थानबाट टाढा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!