रसुवा बाढीमा कर्णालीका नागरिक सम्पर्कविहीन, खोजी तथा उद्धारमा पहल गर्न प्रदेश सरकारको अपिल

हेमन्त केसी
सुर्खेत, १० भदौ।

रसुवाको रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भएको भन्दै कर्णाली प्रदेश सरकारले उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

बुधबार मुख्यमन्त्री मंगलबहादुर शाहीले जारी गरेको ‘हार्दिक अपिल’मा बाढीबाट कर्णाली प्रदेशका केही नागरिकसमेत प्रभावित भई सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको उल्लेख छ। प्रदेश सरकारले सम्पर्कविहीन कर्णालीवासी नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जनाएको छ।

प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढीबाट मानव बस्ती, सडक, पुल, विद्युत् तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको प्रदेश सरकारको अपिलमा उल्लेख छ।

बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन्। बाढीपछि सुरक्षाकर्मी तथा सर्वसाधारणसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धारका लागि राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको छ।

कर्णाली सरकारले संघ, प्रदेश तथा स्थानीय सरकार, विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय तथा संघसंस्थालाई खोज, उद्धार, राहत र पुनर्स्थापनाको कामलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ।

त्यस्तै, बाढीबाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित आवास, स्वच्छ खानेपानीलगायत अत्यावश्यक सेवा तत्काल उपलब्ध गराउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ। विपद्को समयमा नागरिकको जीवनरक्षा र सुरक्षित पुनर्स्थापनालाई प्राथमिकतामा राख्न प्रदेश सरकारले अपिल गरेको हो।

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा प्रभावकारी पूर्वतयारी र प्रतिकार्यका लागि संघ, प्रदेश र स्थानीय तहबीच थप समन्वय तथा सहकार्य आवश्यक रहेको जनाएको छ।

मुख्यमन्त्री शाहीले विपद्को यस कठिन घडीमा कर्णाली प्रदेश सरकार संघ, प्रदेश तथा स्थानीय सरकार, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र नागरिक समाजसँग समन्वय तथा सहकार्य गरी प्रभावित नागरिकलाई राहत तथा मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्।

यसअघि पनि कर्णाली प्रदेश सरकारले रसुवा घटनामा कर्णालीका नागरिक प्रभावित भएको हुन सक्ने भन्दै सबै जिल्लाका प्रशासन कार्यालयमार्फत विवरण संकलन र परिवारसँग सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो।

कर्णाली प्रदेश सरकारको अपिलमा सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सबै पक्षलाई सहयोग र समन्वय गर्न आग्रह गरिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!