रसुवा बाढीपछि कपुरकोटका १३ जना सम्पर्कविहीन, खोजीमा सहयोग गर्न गाउँपालिकाको अपिल

हेमन्त केसी
सुर्खेत, भदौ १० ः रसुवामा आएको विनाशकारी बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। कपुरकोट गाउँपालिकाले बुधबार सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबै सरोकारवालासँग अपिल गरेको छ।

गाउँपालिकाका अनुसार भदौ १० गते तिब्बततर्फबाट आएको विनाशकारी बाढीका कारण रसुवा जिल्लाको लाङटाङ नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। सोही घटनाका क्रममा कपुरकोट गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा रसुवा पुगेका १३ जना नागरिक हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।

कपुरकोट–६ का ११ जना सम्पर्कविहीन

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये अधिकांश कपुरकोट गाउँपालिका–६ का छन्। उक्त वडाका ११ जना नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

सम्पर्कविहीन हुनेमा ४२ वर्षीय लक्ष्मण सार्की, ४२ वर्षीय मानबहादुर विक, ३२ वर्षीय लालबहादुर सार्की, ३५ वर्षीय रामबहादुर सार्की, १७ वर्षीय तिलक सार्की, २५ वर्षीय किरण विक, ५५ वर्षीय हिमलाल सार्की, २५ वर्षीय प्रकाश सार्की, ५७ वर्षीय टेकबहादुर बस्नेत, ४५ वर्षीय दरीमान दमाई र ३३ वर्षीय दिलबहादुर सिंह रहेका छन्।

दिलबहादुर सिंहको स्थायी घर सुर्खेत रहेको गाउँपालिकाको विवरणमा उल्लेख छ।

कपुरकोट–५ का दुई जना पनि सम्पर्कविहीन

त्यस्तै, कपुरकोट गाउँपालिका–५ का २९ वर्षीय पाती राम महतारा र २७ वर्षीय विशाल रोका पनि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।

उनीहरू सबैको अवस्था हालसम्म यकिन हुन नसकेको र परिवार तथा आफन्तसँग सम्पर्क स्थापित हुन नसकेको गाउँपालिकाको सूचनामा उल्लेख छ।

खोजी तथा उद्धारमा सहयोग गर्न अपिल

गाउँपालिकाले रसुवालगायत आसपासका क्षेत्रमा रहेका सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालालाई सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनद्वारा जारी सूचनामा सम्पर्कविहीन १३ जनाको खोजी तथा उद्धारमा सहयोग गरिदिन सम्पूर्ण सरोकारवालामा हार्दिक अपिल गरिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!