बाढीपहिरोपछि नेपाललाई सहयोग गर्न भारत, चीन र विश्व बैंक अघि सरे

काठमाडौँ, १० भदौ । विपद् प्रभावित नेपालका बाढी तथा पहिरोपीडितको उद्धार, राहत र पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको तयारी थालेका छन्। तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोगबारे चासो देखाएका छन्।
बाढी तथा पहिरोबाट भएको क्षतिको विवरण सार्वजनिक हुन थालेसँगै विश्व बैंकले नेपाललाई आपत्कालीन सहयोग उपलब्ध गराउने तयारी गरेको हो। बिहान १०ः३५ बजे नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सम्पर्क गरी विभिन्न स्रोतबाट रु. २५ अर्बसम्म आपत्कालीन सहयोग गर्न सकिने जानकारी गराएका थिए।
यसैबीच, दक्षिणी छिमेकी भारतले पनि बाढी तथा पहिरो प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग आग्रह गरेको छ। भारतले नेपाल सरकारको मागअनुसार आवश्यक सामग्री उपलब्ध गराउने तयारी गरेको हो।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।
उता, उत्तरी छिमेकी चीनले पनि विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि नेपाल सरकारसँग समन्वय गरिरहेको छ। चीनबाट आवश्यक राहत तथा उद्धार सामग्री उपलब्ध गराउने विषयमा छलफल भइरहेको जनाइएको छ।
सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि घरेलु तथा बाह्य सहयोग जुटाउने बाटो थप सहज भएको छ।
बाढी तथा पहिरोबाट ठूलो क्षति पुगेका क्षेत्रमा तत्काल उद्धार, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री तथा पुनर्स्थापनाका सामग्री आवश्यक रहेकाले सरकारले सहयोगलाई प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने तयारी गरिरहेको छ।






