किन नियन्त्रणमा लियो प्रहरीले १८० कार्टुन जुम्ली स्याउ

जुम्ला ः सुर्खेत र नेपालगञ्जका सहरमा निकासी भइरहेको काँचो जुम्ली स्याउ रारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । काँचो स्याउ जिल्ला बाहिर निर्यात गर्न नदिने निर्णयबमोजिम नपाकेको अवस्थामा लैजान लागेको १८० कार्टुन स्याउ प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको स्याउको गुणस्तर र गुलियोपनाको अवस्था परीक्षण गरिएको छ ।

कृषि विकास कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका कृषि शाखा, तिला गाउँपालिका कृषि शाखा, प्रहरी प्रशासन र स्थानीय कृषक व्यापारी लगायत सरोकारवालाको रोहवरमा स्याउको नमुना परीक्षण गरिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले जानकारी दिए ।

सूचना अधिकारी धामीले भने, ‘स्याउ नपाक्दै निर्यात हुन थालेपछि प्रहरीले रोकेको हो ।’ उनका अनुसार रिफ्र्याक्टोमिटरमार्फत् स्याउको गुलियोपना परीक्षण भएको थियो । १५० कार्टुन स्याउमा गुलियोपना १२ प्रतिशतभन्दा माथि रहेको थियो । ९ कार्टुन स्याउ तथा केही स्थानीय जातका रेड डेलिसियस र रोयल डेलिसियस जातका स्याउको गुलियोपना ७ देखि ८ प्रतिशत मात्रै देखिएको थियो ।

पटकपटक स्याउको गुणस्तर खस्किने भन्दै पाकेको स्याउ मात्र जिल्ला बाहिर निर्यात गर्न भनिएको थियो । तर स्याउ किसान र व्यापारीले नपाकेको स्याउ नै लैजान थालेपछि कडा निगरानी थालिएको छ । बजार निकासीका लागि कम्तीमा पनि ११ प्रतिशत वा त्यसभन्दा माथि गुलियोपना भएको स्याउ उपयुक्त मानिने गर्छ । प्रहरीले नियन्त्रणमा लिएकोमध्ये १५० कार्टुन स्याउमा मापदण्डअनुसार गुलियोपना देखिएकाले स्याउको निकासी र बजार व्यवस्थापनका लागि समन्वय गरेर पठाउने निर्णय भएको सूचना अधिकारी धामीले बताए ।

नपाकेको र मापदण्डअनुसार गुलियोपना नभएको स्याउ प्रहरी प्रशासन, कृषि प्राविधिक, व्यापारी र स्थानीय किसानको रोहवरमा सवारीसाधनबाट उतारेर भण्डारमा राखिने भएको छ । उनले भने, ‘आवश्यक परिपक्वता र गुणस्तर प्राप्त गरी बजारमा पठाउन योग्य नभएसम्म निकासी नगर्ने निर्णय भएको छ ।’

रारा प्रहरी चौकीले कार्टुन हेर्दा काँचो स्याउ देखियो । जिल्लाको निर्णयअनुसार स्याउ रोकियो । जिल्ला प्रशासन कार्यालय जुम्लाले स्याउको अवस्था बुझ्न कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीको नेतृत्वमा कृषि प्राविधिक टोली खटाएको थियो । सो अवसरमा काँचो स्याउ चन्दननाथ नगरपालिका–८ र ९ बाट गएको देखिएको कृषि प्राविधिकहरूले बताए । टोलीले प्रत्येक कार्टुनको स्याउ हेरेर गुलियोपनाको परीक्षण गरेको थियो ।

अब कृषि प्राविधिकको सिफारिस बिना स्याउ निर्यात गर्न नपाइने गरी निर्णय हुन थालेको छ । स्थानीय तहले मनोमानी सिफारिस दिने भएकाले हरेक वर्ष काँचो स्याउ बजारमा जाने गरेको छ । ुस्याउको निर्यात सिफारिसमा स्याउको मात्रा लुकाउने गरेको देखियो । जसले यहाँको उत्पादनको मात्रा निकाल्न पनि समस्या भयो,’ सूचना अधिकारी धामीले दुखेसो पोखे ।

काँचो निर्यात हुन लागेको स्याउमा पनि दुईवटा सिफारिस दिइएको भेटिएको थियो । एउटा सिफारिसमा ६० कार्टुन थियो । अर्कोमा ४० कार्टुन, तर स्याउ १८० कार्टुन जाँदै थियो । स्थानीय सरकार र जनप्रतिनिधिलाई समेत जिम्मेवार भएर सिफारिस दिन आग्रह गरिएको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!