जेनजी आन्दोलनका उपलब्धि रक्षा गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद विक

काठमाडौं । प्रतिनिधि सभा सदस्य पार्वती विकले जेनजी आन्दोलनका उपलब्धिको रक्षा गर्दै आन्दोलनका क्रममा भएका हिंसा, विध्वंस र मानवीय क्षतिको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा मन्तव्य राख्दै सांसद विकले हरेक आन्दोलनले परिवर्तनको आधार बोकेको बताउँदै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पनि परिवर्तनको महत्वपूर्ण सन्देश दिएको बताउनुभयो। तर आन्दोलनकै आधारमा बनेको सरकारले त्यसका उपलब्धिको रक्षा गर्न सकेको छ कि छैन भन्ने विषय अहिले चुनौतीका रूपमा रहेको उहाँको भनाइ थियो।

उहाँले भदौ २३ गतेको आन्दोलन जेनजी युवाहरूको वास्तविक आन्दोलन भए पनि भदौ २४ गते आन्दोलन हाइज्याक भएको दाबी गर्नुभयो। त्यस क्रममा सयौँ वर्ष लगाएर निर्माण गरिएका ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुगेको र कैयौँ मानिसले ज्यान गुमाउनुपरेको भन्दै उहाँले घटनालाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराउनुभयो।

शहीद दिवसका अवसरमा लक्ष्मीदेवी बस्नेतले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सांसद विकले मानिसहरू आत्मदाह वा आत्महत्यासम्म पुग्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउनुभयो। घाइतेहरूको उपचार तथा शहीदका परिवारका सवाल सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो।

सांसद विकले भदौ २४ गते सिंहदरबारमा भएको आगजनी तथा विध्वंसको वास्तविक दोषी पहिचान गर्नुपर्ने बताउनुभयो। आन्दोलनरत पक्षले समेत उक्त दिनको घटनाको जिम्मेवारी लिन नसक्ने बताइरहेको अवस्थामा घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन थन्काएर राख्ने वा लुकाउने नभई सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो।

“भदौ २४ गते नेपाली जनताले सयौँ वर्ष लगाएर निर्माण गरेको इतिहासको प्रतीक सिंहदरबार जलाउने को थियो? जेनजी आन्दोलनलाई ध्वस्त बनाएर कब्जा गर्ने को थियो?” भन्दै उहाँले घटनामा संलग्न वास्तविक दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो।

आन्दोलनका क्रममा भएको हिंसा र विध्वंसको छानबिनसँगै जेनजी युवाहरूले उठाएका वास्तविक मुद्दा र मागलाई सम्बोधन गर्नुपर्नेमा सांसद विकले जोड दिनुभयो। शहीद भएका युवाका सपना, घाइतेहरूको पीडा र आन्दोलनले उठाएका सवाललाई सम्बोधन गरेर राज्यले जनतामा विश्वासको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो।




सम्बन्धित समाचार


error: Content is protected !!