‘हामीले संरचना जलायौँ, चिन्तन र प्रवृत्ति जलाउन सकेनौँ’ : सांसद विक

सुर्खेत । प्रतिनिधिसभा सदस्य सार्वती विकले जेन्जी आन्दोलनका क्रममा उठाइएका माग र त्यसपछि प्राप्त उपलब्धिको समीक्षा गर्दै राजनीतिक नेतृत्वको प्रवृत्ति परिवर्तन हुन नसकेको टिप्पणी गरेकी छन्।
जेन्जी आन्दोलन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद विकले युवाहरू सामान्य माग लिएर सडकमा आएको भए पनि तत्कालीन सरकारले आन्दोलनमाथि दमन गरेको बताएकी छन्। उनका अनुसार आन्दोलनका क्रममा ७२ जना स्कुले विद्यार्थीले ज्यान गुमाउनुपरेको थियो।
उनले आन्दोलनका क्रममा सिंहदरबार, अदालत, राजनीतिक दलका कार्यालय तथा नेताका घरमा आगजनी भएको प्रसंगसमेत उल्लेख गरेकी छन्। सिंहदरबारमा आगलागी हुँदा नेपाली सेना तत्काल उद्धार तथा आगो नियन्त्रणमा सक्रिय नभएको भन्दै उनले त्यस घटनाप्रति प्रश्न उठाएकी छन्।
सांसद विकले आन्दोलनको मूल उद्देश्यभन्दा घटनाक्रम फरक दिशातर्फ गएको उल्लेख गर्दै युवाहरूले उठाएको माग र त्यसपछिको राजनीतिक परिणामबीच ठूलो अन्तर देखिएको बताएकी छन्।
उनले आन्दोलनको परिणामस्वरूप केही युवा सरकारमा पुगे पनि उनीहरू स्वयं अलमलमा परेको टिप्पणी गरेकी छन्। आन्दोलनका उपलब्धि संस्थागत गर्न नसकिएको भन्दै उनले यसको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राखेकी छन्।
‘हामीले भौतिक संरचना मात्र जलायौँ, मानिसहरूको चिन्तन र प्रवृत्ति जलाउन सकेनौँ,’ विकले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनले विगतमा भएका युद्ध तथा आन्दोलनले राजनीतिक परिवर्तन ल्याए पनि ती परिवर्तनको रक्षा गर्न नसकिएको भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
‘हरेक पटक भएका युद्ध र आन्दोलनहरूले परिवर्तन ल्याएका छन्। त्यस उपलब्धिको रक्षा किन गर्न सकिँदैन ?’ उनले प्रश्न गरेकी छन्।
सांसद विकले जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धि, त्यसका क्रममा भएका क्षति र त्यसपछि विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा आवश्यक रहेको बताएकी छन्। आन्दोलनको मूल भावना र युवाहरूले उठाएका सवाललाई राजनीतिक दल तथा सरकारले आत्मसात् गर्नुपर्ने उनको भनाइ छ।









