कान्तिपुरकर्मी ज्योति कटुवाललाई उत्कृष्टता पुरस्कार

सुर्खेत ः कर्णालीमा पत्रकारिता तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुरकर्मी ज्योति कटुवाललाई ‘आन्तरिक उत्कृष्टता पुरस्कार’ प्रदान गरिएको छ।
नेपाल सरकारको सहकार्यमा एस। राज प्रोडक्सन्स प्रालि, कमला मोडल इन्टरटेन्मेन्ट प्रालि तथा जनजागरण सामाजिक फाउन्डेसन ट्रस्टद्वारा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री उपेन्द्र यादवले कटुवाललाई पुरस्कार हस्तान्तरण गरेका हुन्। झन्डै एक दशकदेखि कान्तिपुर राष्ट्रिय दैनिकमा सक्रिय कटुवालले कर्णालीका दुर्गम क्षेत्रका महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा सीमान्तकृत समुदायका मुद्दालाई निरन्तर उठाउँदै आएकी छन्।
विशेषगरी स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सुत्केरी महिला तथा नवजात शिशुको उद्धार र उपचारसँग सम्बन्धित उनका रिपोर्टले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। पत्रकारितासँगै सामाजिक अभियानमा समेत सक्रिय कटुवालले श्रीज्योति फाउन्डेसनमार्फत कर्णालीका १० जिल्लाका शिक्षाबाट वञ्चित तथा विपन्न छोरीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन्। कर्णाली छोरी सम्मेलनमार्फत छोरीको शिक्षा, अधिकार र नेतृत्व विकासका विषयमा पनि उनले अभियान सञ्चालन गर्दै आएकी छन्।
विपद्का बेला खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीका गतिविधिलाई समेत प्राथमिकताका साथ सार्वजनिक गर्दै आएकी कटुवाल नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा निशानबाट सम्मानित भइसकेकी छन्।










