भोटेकोसी बाढीपीडितका लागि निर्माण व्यवसायी महासंघद्वारा रु १ लाख ११ हजार सहयोग

हेमन्त केसीसुर्खेत, २५ भदौ ः रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख ११ हजार १११ सहयोग गरेको छ ।
महासंघले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । महासंघका अध्यक्ष मानव वमसहित पदाधिकारीको सहभागितामा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई चेक हस्तान्तरण गरिएको थियो ।
रसुवाको भोटेकोसीमा आएको बाढी तथा त्यसबाट भएको क्षतिले ठूलो मानवीय पीडा सिर्जना गरेको भन्दै विपद्मा परेका नागरिकको राहत र उद्धारमा आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको महासंघका अध्यक्ष मानव वमले बताए।
उहाँले विपद् कुनै निश्चित जिल्ला, प्रदेश वा समुदायको मात्र समस्या नभएको बताउँदै देशको जुनसुकै भू–भागमा प्राकृतिक विपद् पर्दा सबैले मानवीय भावनाका साथ सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।
“भोटेकोसीमा बाढी आएपछि ठूलो क्षति भएको छ । विपद्मा परेका नागरिकको पीडा हामीले पनि महसुस गरेका छौँ,” अध्यक्ष वमले भने, “त्यही मानवीय भावनाका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका हौँ ।”
उनका अनुसार बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्का कारण हरेक वर्ष देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुने गरेको छ । विपद्का बेला राज्यले मात्र सबै काम गर्न कठिन हुने भएकाले निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संघसंस्थाले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
निर्माण व्यवसायी महासंघ विकास निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको संस्था भएकाले प्राकृतिक विपद्बाट हुने क्षति र त्यसपछिको पुनःनिर्माणको अवस्थाबारे आफूहरू जानकार रहेको अध्यक्ष वमले बताए। बाढीपहिरोका कारण सडक, पुल, भवन, खानेपानी, विद्युत् तथा अन्य पूर्वाधारमा क्षति पुग्दा नागरिकको दैनिक जीवनसमेत प्रभावित हुने भएकाले विपद् व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको उन बताए।
महासंघका कोषाध्यक्ष मनोजकुमार सिंहले विपद्का समयमा पीडित नागरिकको पक्षमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । सहयोग रकम सानो वा ठूलोभन्दा पनि विपद्का बेला देखाइने मानवीय भावना र ऐक्यबद्धता महत्वपूर्ण हुने उनको भनाइ छ ।
“राज्यलाई चोट लाग्दा हामीले पनि दुख्नुपर्छ र सहयोग गर्नुपर्छ भन्ने भावना हाम्रो रहेको छ,” कोषाध्यक्ष सिंहले भने, “भोटेकोसीमा विपद् आएपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा हाम्रोतर्फबाट पनि केही सहयोग पुगोस् भनेर यो रकम जम्मा गरेका हौँ ।”
उनले देशका विभिन्न ठाउँमा हुने प्राकृतिक विपद्मा नागरिकको जीवन रक्षा र राहतका लागि सबै क्षेत्र एकजुट हुनुपर्ने बताए । विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको दीर्घकालीन पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा समेत ध्यान दिनुपर्ने उनको भनाइ छ ।
चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले विपद्का समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत तथा उद्धार अभियानमा महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले निर्माण व्यवसायी महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसहित विभिन्न संघसंस्था, निजी क्षेत्र तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम जारी छ । विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण चुनौतीपूर्ण बनेको छ ।
प्राकृतिक विपद् व्यवस्थापनका लागि तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापना आवश्यक हुने भएकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने सहयोगलाई महत्वपूर्ण रूपमा हेरिएको छ । सोही उद्देश्यले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले पनि आफ्नो तर्फबाट सहयोग गरेको हो ।
महासंघले कर्णाली प्रदेशमा मात्र नभई देशका अन्य भू–भागमा हुने विपद्का घटनामा समेत आवश्यक सहयोग र सहकार्य गर्दै जाने जनाएको छ । बरिष्ठ उपाध्यक्ष वमले विपद्को समयमा प्रदेश र जिल्लाको सीमाभन्दा माथि उठेर पीडित नागरिकको साथमा उभिनुपर्ने बताए।
“हामी कर्णालीमा छौँ भन्दै कर्णालीको समस्यामा मात्र सीमित हुनुहुँदैन” उनले भने , “देशको जुनसुकै ठाउँमा विपद् पर्दा त्यसलाई आफ्नै समस्या ठानेर सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ । भोटेकोसीका पीडितप्रति हाम्रो ऐक्यबद्धता पनि यही भावनाको परिणाम हो ।”
निर्माण व्यवसायी महासंघले आगामी दिनमा पनि प्राकृतिक विपद्का घटनामा सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी राहत, उद्धार र पुनःस्थापनाका कार्यमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने कोषाध्यक्ष मनोज कुमार सिंहले बताए ।








