गृह मन्त्रालयलाई कर्णाली सरकारको गुहार– नदीमा खसेको गाडी खोज्न सहयोग पाऊँ

सुर्खेत ः कर्णाली प्रदेश सरकारले कर्णाली नदीमा खसेको फोर्स गाडीको खोजी कार्यका लागि गृह मन्त्रालयसँग थप सहयोग र समन्वय गरिदिन अनुरोध गरको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पत्र लेख्दै बुधबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खसेको थियो ।
दुर्घटनापश्चात नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालन भई खोज तथा उद्धार कार्य सुरु गरिएको जनाइएको छ । हालसम्म एक जना यात्रुको शव फेला परेको उल्लेख गर्दै प्रदेश सरकारले दुर्घटनाग्रस्त सवारीसाधन र त्यसमा सवार अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको जनाएको छ ।
घटनास्थलमा खटिएको जनशक्ति पर्याप्त नभएपछि खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन थप सहयोग तथा आवश्यक समन्वय गरिदिन प्रदेश सरकारले गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।






