एमाले बैठक ः पाँचमध्ये चार उपाध्यक्षले मागे ओलीको विकल्प

नेकपा एमाले सचिवालय बैठकमा बोल्ने अधिकांश उपाध्यक्षहरूले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार आज धारणा राख्ने पाँचमध्ये चार उपाध्यक्षले पार्टीभित्र संकट गहिरिँदै गएको भन्दै उचित विकल्पसहित नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने बैठकमा ओलीको पक्षमा धारणा राखेका थिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बादलले पार्टीलाई जस्तोसुकै अप्ठ्यारो अवस्थाबाट पनि उठाएर ल्याउने नेता ओली नै भएको भन्दै उनलाई सघाएर जानुको विकल्प नभएको बताएका थिए ।
उनले अध्यक्षलाई कमजोर पार्दा सिंगो वामपन्थी आन्दोलन र पार्टी नै कमजोर हुने धारणा राखेका थिए । तर, उनको धारणासँग बाँकी चार उपाध्यक्ष सहमत देखिएनन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अध्यक्ष ओलीले अब विकल्प दिनुपर्ने धारणा राखेका थिए । आफ्नो बोल्ने क्रममा उनले अध्यक्षका अभिव्यक्तिले महिला, दलित र जनजाति समुदायलाई विमुख बनाउने काम गरेको भन्दै त्यसबाट पार्टीले राजनीतिक क्षति व्यहोर्नुपरेको दाबी गरे ।
पौडेलले ओली स्वयम्ले उठाएको पार्टी पुनर्गठनको एजेन्डासमेत स्मरण गराएका थिए । भदौ तेस्रो साता गोदावरीमा भएको विधान महाधिवेशनले यसअघि विधानमा रहेको उमेरहद उल्ट्याउनु गलत भएको उनको भनाइ थियो ।
पार्टीको लोकतान्त्रिक प्रक्रियाको नेतृत्व स्वयम् ओलीले गरेको स्मरण गराउँदै उनले , अब निकास दिने बेला भयोु भनेको बैठकमा सहभागी अर्का पदाधिकारीले जानकारी दिए ।
त्यस्तै उपाध्यक्ष रघुजी पन्तले पनि अब यसरी अघि बढ्न सकिँदैनु भन्दै अध्यक्षलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । पौडेलको धारणालाई समर्थन गर्दै उपाध्यक्षद्वय गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङले पनि समयको माग बुझेर अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
बैठक शनिवार पनि जारी हुने उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । आज ५ उपाध्यक्षले बोलेका छन् भने भोलि ११ बजे अध्यक्ष निवास गुण्डुमा बोलाइएको बैठकमा अरू पदाधकारीले प्रस्तावित एजेन्डाका बारेमा धारणा राख्नेछन् ।









