पश्चिम जाजरकोटमा करोडौँका मोटरेवल पुल निर्माण कार्य तिब्र

हेमन्त केसी
सुर्खेत ,१० जेठ ः पश्चिम जाजरकोटमा करोडौँका पुलहरू निर्माणको काम सुरु भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको हो ।

जाजरकोट –जुम्ला सडक खण्ड भित्र पर्ने छेडा गाड नगरपालिका –१० / ११ को बीचमा रहेको लम्तीखोलामा मोटर बेल पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयबासीहरु खुसी भएका छन् । रु ३ करोड ४२ लाख १० हजार ६१२.२२ रुपैयाँमा बजरंगा ग्लोरियस एमबीएस जेबी काठमाडौँले उक्त ठेक्का लिएको छ । २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पुरा गर्ने गरेर कामको सुरुवात गरिएको छ ।

यो पुल निर्माण भइरहेको ठाउँमा हाल सम्मा सात जना मानिसको खोलामा बगेर मृत्यु भएको छेडा गाड नगरपालिका– १० वडाध्यक्ष जयनाथ योगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“ अब पश्चिम जाजरकोटका पालिकासँगको सिधा सम्पर्क जोडिने भएको छ । छेडा गाड , कुशे हुँदै जुम्ला जोडने सडक निर्माण गर्ने सामग्री लिन देखि अन्य पालिकाका कामहरू गर्न समेत सहज भएको छ । अब मानिसहरू पुलको अभावमा मृत्यु हुनुपर्ने छैन । बरु पुल निर्माणको काम समयमै सम्पन्न होस यही हाम्रो माग रहेको छ । ”

 

त्यस्तै छेडा गाड नगरपालिका–६ सुवानाउली र जुनिचाँदे ५ लामा तारामा बेल ब्रिज पुल निर्माण कार्य पुरा भएको छ । ४२.७ मिटर लामो बेल ब्रिज पुल छेडाखोलामा निर्माण भएसँगै यहाँका दुई पालिकालाई यात्रा गर्न सहज भएको छ । २०८१ चैत २२ गते सम्झौता भई २०८३ वैशाख ३० गते निर्माण कार्य पुरा गर्नुपर्ने सहमति अनुसार गौरव हेन्ड्रिक इन्जिनियरिङ जेबी भरतपुर –१६ चितवनले निर्माण गरेको हो । रु ३ करोड ८२ लाख २८ हजार ३७६.६० रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता समय भन्दा अगाडी पुल निर्माण भएको भन्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले निर्माण व्यवसायीको धन्यवाद दिनुभयो । पुल उद्घाटन गर्नुहुँदै मन्त्री शाहले भन्नुभयो , “ यहाँ ठेक्का लिने तर बिचमै अलपत्र धेरै भएका छन् । तर यो पुल सम्झौता मिति भन्दा अगाडी निर्माण भएको छ ।

त्यस्तै शिवालय गाउँपालिका–२÷८ जोडने दुई पिपल सडक पुलको काम समेत सुरु भएको छ । २५ मिटर लम्बाइ रहेको पुल रु ३ करोड १५ लाख ७९ हजार ७८२ रुपैयाँमा निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख इन्जिनियर भूपेन्द्र जैसीले जानकारी दिनुभयो । २०८३ वैशाख २ गते सम्झौता भई २०८५ वैशाख २ गते निर्माण कार्य पुरा गर्ने सहमति अनुसार कामको सुरुवात भएको उहाँले जानकारी दिनुभयो । बजरंगा ग्लोरियस एमबीएस जेबी काठमाडौँले नै निर्माणको जिम्मेवारी लिएको छ । एकै पटक तीन वटा पुलको मन्त्री शाहले उद्घाटन तथा शिलान्यास गर्नुभएको छ ।

पाँच वर्ष देखि पुल अलपत्र
छेडाचाँदे–जुम्ला सडक खण्डभित्र पर्ने जाजरकोटको साल्मा खोलामा (खारा) पक्की पुल निर्माण नहुँदा समस्या भएको छ।
छेडा गाड नगरपालिका–१ र ४ जोड्ने साल्मा खोला (खारा)मा पुल नेपाल मेघा सिस्ने जेबी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । रु चार करोड ८८ लाख एक हजार रुपैयाँमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुई वटा पिलरको काम गरेर बिचमै छोडेर अलपत्र परेको छ ।

हाल ठेक्का कार्यालयले तोडेपछि निर्माण व्यवसायी अदालत गएर मुद्दा दिएको कार्यालय प्रमुख जैसीले जानकारी दिनुभयो । पाँच वर्ष देखि अलपत्र परेको पुलको मन्त्री शाहले अनुगमन गर्नुभएको छ । अनुगमन गर्दै शाहले भन्नुभयो , “ कामको जिम्मेवारी लिने तर बिचमै काम छाडेर भाग्दा परिणाम आउन नसकेको अवस्था छ । बर्सेनि यस्ता खालका आयोजनामा आफूले बजेट विनियोजन गर्दै आएको भए पनि खर्च हुन नसक्दा फ्रिज हुने गरेको छ । त्यसपछि प्रदेश सरकारको प्रगतिमा समेत बाधा पुगेको छ । चार वटा आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि काम नहुँदा रकम मूल खातामा आइरहेको छ ।”

प्रदेश सरकारले लगाएका केही ठेक्काहरूमा निर्माण व्यवसायीले काम नगर्दा बर्सेनि विनियोजन गरेको बजेट राज्यकोषमा जम्मा हुँदै आएको छ । निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले बीचैमा काम छोडेपछि करिब चार पाँचदेखि अलपत्र परेको हो । पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बिचमै अलपत्र पर्दा दैनिक यो सडक खण्डभित्र चल्ने यातायातका साधनले सास्ती भोग्नुपरेको छ।

उत्ता निर्माण व्यवसायी लालमाया चलाउने शाहीले भन्नुभयो , “ पूर्वाधार विकास कार्यालयले बैङ्क ज्ञारेन्टी निकाल्यो , सामान पनि त्यही छ । म्याद थप पनि गरेनन् त्यसैले अदालत गएको हो । काम गर्दै गर्ने तर अदालतको केश पनि अगाडी बढिरहेको छ । ”
जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडा गाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतजावत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाआउँदै स्थानीयले सास्ती भोग्ने गरेको छेडा गाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिनुभयो ।

छेडा गाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउन जान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । पूर्वाधार विकास कार्यालयका प्रमुख जैसीका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३ औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्थाअनुसार नेपाल मेघा सिस्ने जेबी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दासमेत पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । म्याद थप्ने काम काम बाहेक अन्य कुनै पनि काम नभएको पाइएको छ।

यही ठाउँमा छेडा गाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडा गाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब रु ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम पाँच वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खबरदारी नगरेको स्थानीयले आरोप लगाएका छन्। यही पुलबाट मध्य पहाडी लोक मार्ग र भेरी कोरिडोर जोडिने गर्दछ ।




सम्बन्धित समाचार


error: Content is protected !!