डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ

सुर्खेत ,२० वैशाख ः शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पामा यार्सागुम्वा चोरीका लागि गएका आठ जनालाई पक्राउ गरिएको छ । आइतबार बिहान जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोनासबाट जुम्ला पाताराशी गाउँपालिका–१ का ६ जनालाई संग्राम सादूल गुल्मबाट खटिएको नेपाली सेनाले पक्राउ गरिएको हो ।
त्यस्तै गत वैशाख ११ गते शुक्रबार जगदुल्ला गाउँपालिका–१ फूलबारी यार्सा पाटनबाट तोइजुम स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले जगदुल्ला गाउँपालिका –५ का दुई जनालाई पक्राउ गरिएको नेपाली सेनाले जानकारी दिएको छ । हाल अवैद्य तरिकाले चोरी निकासीको कामलाई रोक्न नेपाली सेनाले गस्तीलाई बढाएको छ । पक्राउ परेकालाई सुलिगाड स्थित निकुन्ज ल्याइदै गरेको निकुन्ज कार्यालयका निमित्त कार्यालय प्रमुख विज्ञानसेन ओली जानकारी दिनुभयो ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा डोल्पाका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक यही वैशाख २२ गते मंगलबार बोलाइएको छ ।










