हुम्लामा सिमा क्षेत्रमै पुगेर सिमा पास वितरण

हेमन्त केसी
सुर्खेत, १९ वैशाख ः नागरिकहरुलाई हुम्लाको सदरमुकाम सिमकोट आएर सिमा पास बनाउन हजारौ रुपैयाँ खर्च हुने भएपछि दुई देशको सिमा क्षेत्रमा गएर सिमा पास वितरण गरिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले हिल्सामै गएर सिमा पास वितरण गरिएको जानकारी दिए ।

त्यस्तै दुई देशको सहजताका लागि निर्माण कार्य सम्पन्न भएको हुम्ला कर्णाली हिल्सा मितेरी पुलमा बसेर दुई देशको लाभका विषयमा छलफल भएको उनले जानकारी दिए । उक्त पुल चिन सरकारको लगानीमा निर्माण भएको हो । हाल हुम्लाका स्थानीयबासीहरु चिनको हिल्सा हुँदै मानसरोबरमा तिर्थ जाने समय समेत सुरु भएकाले सो कामको सहजिकरण समेत भएको उनले जानकारी दिए । सिमा पास बनाउनका लागि हुम्लाको सदरमुकाम सिमकोट आउन र जानका लागि १० देखि १२ हजार खर्च हुने भएकाले आफूहरुले फिल्डमै गएर सिमा पास वितरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिए ।

उनले भने ,‘ फिल्ड गएर ३४२ जनाको सिमा पास नविकरण र ५८ वटा नयाँ सिमा पास दिइएको छ । लगभग सिमकोट आउनु नपरेपछि ५० लाख भन्दा बढी रकम स्थानीयबासीको जोगिएको छ । ’ हिल्सा स्थित भन्सार कार्यालय समेत सूचारु भएको छ । चिसोका कारण व्यापारिक कारोबार ठप्प भएसँगै बन्द भएको भन्सार कार्यालय हाल सडक खुलेसँगै भन्सार कार्यालय सदरमुकामबाट हिल्सा स्थान्तरण गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिमा क्षेत्रमा १२ महिना सेवा दिने गरेको छ ।

हिउँ पन्छ्याएपछि सिमा क्षेत्रमा व्यापार बढ्यो
हुम्लाको सदरमुकाम सिमकोट देखि चिनको सिमाना हिल्सा जाने , आउने सडकमा रहेको हिउँ पन्छ्याएपछि व्यापारिक कारोबार बढन थालेको छ । यस क्षेत्रको सबै भन्दा बढी हिउँ भएको नारा लेकमा एक्साभेटरको मदतले हिउँ पन्छ्याउने काम सम्पन्न भएपछि हिल्सामा व्यापारिक कारोबार बढेको हो ।

हिल्सा–सिमकोट सडक योजनाले सडक सुचारु गरेपछि हिल्सामा मानिसको चहलपहल बढ्दै जाँदा सुरक्षाका लागि समेत जोड दिइएको छ । नेपाली व्यापारी तथा कामदार चीनको ताक्लाकोटतर्फ जाने क्रम बढेसँगै सुरक्षा चाँसो बढेको हो । गर्मी महिनामा हिउँ पग्लिन सुरु भएसँगै सडकमा यात्रा गर्न सहज हुने गर्दछ । सुर्खेत ,नेपालगन्जबाट हुम्लामा सामग्री लिनु भन्दा हिल्साबाट सामान ल्याउन सस्तो पर्ने भएकाले व्यापारीहरु त्यहाँ जाने गर्दछन् । सुरक्षा अधिकारीहरुले हिल्सा सम्मा पुगेर अनुगमण पनि गरिएको छ ।

अनुगमनका लागि जिल्ला सुरक्षा समितिका सदस्य, प्रहरी नायब उपरीक्षक शङ्कर खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक पुष्करबहादुर सिंह, राष्ट्रिय अनुसन्धान प्रमुख मेघराज कँडेल, हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल बरालको सहभागिता रहेको थियो । हिउँका कारण लामो समय सम्मा नाँका बन्द भएपछि व्यापार गर्न नपाएका यहाँका स्थानीय व्यापारीहरु हाल व्यापारका लागि उत्साहित भएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!